
दमौलीः कांग्रेसको महाधिवेशनको घोषित मिति नजिकिंदै गर्दा नेतृत्वबीच रस्साकस्सी बढेको छ । मूलतः सभापतिको उम्मेदवार आकांक्षीले दौडधुप चलिरहँदा अन्य महत्वपूर्ण पदका आकांक्षी केन्द्रीयस्तरका नेताहरुले पनि दौडधुप बढाइरहेका छन् ।
हालै एक अनलाईनले कांग्रेस गण्डकी प्रदेश सभापतिमा केन्द्रीय सदस्य एवं जनसम्पर्क विभाग प्रमुख गोविन्द भट्टराईलाई संस्थापन पक्षको उम्मेदवारका रुपमा चित्रित गरेको थियो । तर के साँच्चै उनी सो पदमा लड्न तयार भएका हुन् त ? तर उनीनिकट श्रोतका अनुसार भट्टराई प्रदेश सभापति पदमा जाने कुनै तयारी छैन ।
र, उनको चाहना पनि छैन । ‘आमन्त्रित सदस्य भन्दा तल मर्यादाक्रम रहने पदमा उहाँ जाने प्रश्नै उठ्दैन,’ उनीनिकट एक नेता सुरेश भट्टराई भन्छन् ।
सह–महामन्त्री चाहना, महामन्त्रीको दबाब
यस अघि नै तनहुँ टेलिभिजनलाई दिएको अन्र्तवार्तामा भट्टराईले युवा नेतृत्व आउनका लागि आँट गर्ने युवा समेत नभएको भन्दै आफूले महत्वपूर्ण पदाधिकारीमा चुनाव लड्ने घोषणा गरेका थिए । उनले त्यतिबेला सह महामन्त्रीमा चुनाव लड्ने घोषणा गरेका थिए ।
तर अहिले नेविसंघको नेतृत्व सम्हालिसकेका र हाल पार्टीमा बलियो प्रभाव राख्ने नेताहरुबाट उनलाई त्योभन्दा माथिको पदमा लड्न दबाब छ । भट्टराई भन्छन्,‘महत्वपूर्ण पदाधिकारीमा चुनाव लड्ने मेरो चाहना हो । साथीभाईहरुले पनि सल्लाह दिइरहनुभएको छ । म चाँडै नै ठोस निर्णय गर्छु ।’
संस्थापन र गैर संस्थापन दुवै समूहको साथ
संस्थापन समूहमा रहे पनि भट्टराई संस्थापन मात्र नभएर दुवैतर्फका नेताहरुको समर्थनमा अघि बढ्न चाहिरहेका छन् । हालै बसेको नेविसंघका पूर्व पदाधिकारीहरुको बैठकमा दुवै खेममा रहेकाहरुले भट्टराईलाई साथ दिने घोषणा गरेका थिए । उनीहरुले भट्टराई सह महामन्त्री नभै महामन्त्रीमै चुनाव लड्नुपर्ने दबाब दिइरहेका थिए ।
हाल चुनावी अंकगणित र भेटघाट अनि तयारीमा सक्रिय भट्टराईले चाँडै नै आफ्नो उम्मेदवारीसँगै थप योजनाका साथ घोषणा गर्ने तयारी गरिरहेका छन् । नेविसंघको नेतृत्व सम्हालेर हाल केन्द्रीय सदस्य तथा जनसम्पर्क विभागसमेत सम्हालेका भट्टराईको यो नेतृत्व दौडलाई धेरैले चासोपूर्वक नियालिरहेका छन् ।