खाद्यवस्तुमा कालोबजारी, महँगो मूल्य तिर्दै उपभोक्ता

  • ख-
  • ख+

पछिल्लो समय उपत्यकामा कोरोना संक्रमण बढ्दै गएपछि सरकारले लगाएको निषेधाज्ञाको प्रभाव खाद्यवस्तुमा पनि परेको छ । निषेधाज्ञा भएसँगै व्यापारीहरूले मनोमानी रूपमा खाद्यान्नको मूल्य बढाउन थालेका छन् ।

उच्च जोखिम र निषेधाज्ञाका कारण अनुगमन नहुँदा कालोबजारी गर्नुका साथै महँगो मूल्य असुल्ने व्यापारी जगमगाएका हुन् ।

बजारमा अभावको हल्ला फिजाउँदै कृत्रिम अभाव खडा गर्दा उपभोक्ताले एउटै वस्तुमा प्रतिकेजी २० देखि ५० रुपैयाँसम्म बढी रकम तिर्दै आएका छन् ।

पछिल्लो १ हप्तामा तरकारीको मूल्य १ सय २० प्रतिशतले बढेको छ भने खाद्यान्नहरूमा चिनी, मुसुरो दाल, तेल आदिमा पनि मूल्य बढेको छ ।

निषेधाज्ञा हुनुपूर्व ८० रुपैयाँमा पाइने चिनी अहिले १ सय रुपैयाँमा किनबेच भइरहेको छ । त्यस्तै, तेलको मूल्यमा पनि १० देखि १५ रुपैयाँले बढेको छ । त्यस्तै, उपत्यकाका अधिकांश स्थानमा दालको अभाव भएकाे भन्दै मूल्य मनोमानी रूपमा असुल्दै आएका छन् व्यापारीले ।

निषेधाज्ञापूर्व मुुसुरोको दाल प्रतिकेजी १ सय २० रुपैयाँ रहेकोमा अहिले पसलेले १ सय ५० रुपैयाँँदेखि १ सय ८० रुपैयाँसम्ममा बेच्दै आएका छन् ।

यस्तै, डेरी उद्योगहरू पनि निषेधाज्ञाले प्रभावित हुँदा बजारमा घिउको अभाव भएको छ । अभाव भन्दै अहिले ९ सय प्रतिलिटर पाइने घिउलाई १२ सय रुपैयाँ लिएर पसलेले बिक्री वितरण गर्दै आएका छन्।

उपत्यकाका शहरी इलाका भन्दा भित्री गाउँहरूमा व्यापारीहरूले चर्को मूल्यमा सामान बेच्दै आएका छन् । फाट्टफुट्ट मात्रामा हुने अनुगमन पनि बजारी एरियामा मात्र हुनाले उपत्यकाकै भित्री भागहरूमा समेत पसलेहरूले खुल्लमखुल्ला रूपमा उपभोक्ताबाट महँगो मूल्य असुलिरहेका छन् ।

अनुगमनको त्रास र कानुनको दायरामा नआउनु परेपछि अहिले उपत्यकाका गल्ली र भित्री सडकहरूमा रहेका खुद्रा पसलेहरूले मनोमानी रूपमा मूल्य निर्धारण गर्दै आएका छन् ।

यसअगाडि नेपालमा लकडाउन भएसँगै व्यापारीको चलखेल नहोस् भन्नका लागि अनुगमन पनि तीव्र पारिएको थियो ।

त्यस्तै, साल्ट ट्रेडिङ कर्पोरेसन आफैँले साना भ्यानमा खाद्यान्न घरघरै पुर्‍याउने व्यवस्था मिलाएको थियो । 

कर्पोरेसनले १८ चैतयता भित्री शहरमा पुगेर माइकिङ गर्दै चिनी, नुन, तेल, चामल आफैँ बिक्री गर्दै आएको थियो तर बीचमा लकडाउन खुलेपछि यो क्रम रोकियो । जसले गर्दा अहिले महँगो मूल्य तिरेरै भए पनि पसलसम्म जानुपर्ने बाध्यता बढ्दै गएको छ ।

पसले भन्छन् : सकियो, सरकार भन्छ : पुग्ने छ

बजारमा अभावको हल्ला फैलिइरहँदा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय भने बजारमा फैलिएजस्तो अभावको अवस्था सिर्जना नभएको बताउँछ । मन्त्रालयका सूचना अधिकारी सुरेशराज जोशीले बजारमा हल्ला फैलिएको जस्तो अभाव अझै ३ देखि ४ महिनासम्म नहुने बताए ।

उनले भने, ‘अझै ३ देखि ४ महिनासम्म अभाव नहुने गरी मौज्दात राखिएको छ । अहिले बजारमा कृत्रिम अभाव सिर्जना गर्ने चलखेल भइरहेको भन्ने कुरा आइरहेको छ । त्यस्ता व्यापारीको पहिचान गरेर कारबाहीको दायरामा ल्याउँछौँ ।’

त्यसो त खाद्यान्न खरिदबिक्रीको जिम्मा पाएको साल्ट ट्रेडिङले पनि बजारमा भनेजस्तो अभाव नभएको बताएको छ । साल्ट ट्रेडिङका सूचना अधिकारी कुमार राजभण्डारीका अनुसार बजारमा चिनीको आपूर्तिमा केही अभाव देखिए पनि मूल्य नै बढाउनुपर्ने अवस्था भने नआएको बताए ।

उनले भने, ‘अहिले चिनी अभाव हुन सक्ने भन्दै एक व्यक्तिलाई ५ किलोभन्दा बढी नबेच्न पसलेलाई आग्रह गरेका छौँ । अभाव नहोस् भनेर २० हजार मेट्रिक टन चिनी किन्ने प्रक्रियामा छौँ, त्यसैले अभाव हुँदैन ।’ अधिकारीले अन्य प्रकारका खाद्यान्न पनि पुग्ने रहेको बताए ।  

त्यसो त नजिकिँदै गरेको चाडपर्व र बढ्दै गरेको संक्रमणको जोखिमले भयभीत उपभोक्तामा फेरि स्टक राख्ने लहर चलेको खुद्रा पसले बताउँछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी