कोजाग्रत पूर्णिमामा कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने

दमौली न्युज
  • ख-
  • ख
  • ख+

काठमाडौं : नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान कार्यक्रम नगर्ने भएको छ। देश शोकमा रहेका बेला चियापान कार्यक्रम आयोजना नगर्ने निर्णय गरिएको कांग्रेसले जनाएको छ।

कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति जारी गर्दै यस वर्ष कोजाग्रत पूर्णिमाको चियापान कार्यक्रम आयोजना नगरिने जानकारी दिएका हुन्। विज्ञप्तिमा भोटेकोसीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएको र बुढीगण्डकीमा आएको बाढीले समेत थप क्षति पुर्‍याएको उल्लेख छ। यस्तो दुःखद घडीमा चियापान कार्यक्रम आयोजना नगरिने कांग्रेसले जनाएको छ।

कांग्रेसले शोकको यस घडीमा चाडपर्व मनाउँदा भड्किलो ढङ्ग अपनाउनुको सट्टा शान्त र संयमित भएर परिवारमा सीमित रही मनाउन पनि आग्रह गरेको छ। सभापति गगनकुमार थापाले यस्तो आग्रह गरेको विज्ञप्तिमा उल्लेख छ।

कांग्रेसका संस्थापक नेता बीपी कोइराला २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि २०३४ सालको कोजाग्रत पूर्णिमाका दिन शुभकामना आदानप्रदान तथा आपसी सौहार्दता अभिवृद्धि गर्ने उद्देश्यले चियापान समारोह आयोजना गरेका थिए।

त्यसयता निश्चित कारणवश केही वर्ष कार्यक्रम आयोजना नभएको बाहेक कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन चियापान समारोह आयोजना गर्दै आएको छ। साभारः सेतोपाटी

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्