काठमाडौं : जनआस्था साप्ताहिकका अध्यक्ष एवं पत्रकार किशोर श्रेष्ठ छलफलपछि प्रहरी कार्यालयबाट फर्काइएको छ। नेपाल प्रहरीको साइबर ब्युरोको टोली आज बिहान श्रेष्ठको नख्खुस्थित निवासमा पुगेको थियो। त्यसपछि उनलाई सोधपुछका लागि साइबर ब्युरोको कार्यालय लगिएको थियो।
राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य एवं कलाकार हिमेश पन्तको उजुरीका आधारमा उनलाई सोधपुछको लागि प्रहरी कार्यालय लगिएको थियो। त्यहाँ पन्त र श्रेष्ठसँग छलफल गरिएको थियो। छलफलपछि दुवै पक्ष सौहार्दपूर्ण रूपमा छुट्टिएको साइबर ब्युरोका प्रवक्ता एवं एसपी दिपकराज अवस्थीले जानकारी दिए।
उनीहरूबीच प्रेस काउन्सिल नेपालमा गएर छलफल गर्ने सहमति भएको छ। पन्तले अर्काको सम्पत्ति हडपेको विषयमा श्रेष्ठसम्बद्ध जनआस्था पत्रिकामा समाचार प्रकाशित भएपछि त्यसप्रति आपत्ति जनाउँदै साइबर ब्युरोमा निवेदन दिएका थिए। साभारः सेतोपाटी











