दमौली : जिल्ला प्रशासन कार्यालय तनहुँले नेपालीहरूको महान् पर्व विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वका अवसरमा जिल्लावासीलाई शुभकामना दिँदै चाडपर्वलाई शान्तिपूर्ण, सुरक्षित र मर्यादित रूपमा मनाउन आग्रह गरेको छ। कार्यालयले असोज २९ गते जारी गरेको अनुरोधपत्रमार्फत जिल्लावासी आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै चाडपर्व मनाउँदा सामाजिक तथा सांस्कृतिक पहिचान र परम्पराको संरक्षण गर्न अनुरोध गरेको हो।
प्रशासनले चाडपर्वका अवसरमा चोरी, लुटपाट तथा अन्य अवाञ्छित गतिविधि हुन सक्ने भएकाले आफ्नो धनसम्पत्तिको सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेको छ। राजमार्ग, मुख्य सडक तथा भीडभाड हुने स्थानमा सुरक्षा सतर्कता बढाइएको पनि जनाएको छ। सार्वजनिक सवारीसाधनले बढी भाडा असुल्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने तथा मादक पदार्थ सेवन गरी सवारी चलाउने कार्य नगर्न आग्रह गरिएको छ। यात्रु समस्यामा परेमा वा गुनासो भएमा यात्रु सहायता कक्षमा सम्पर्क गर्न सकिने प्रशासनले जनाएको छ।
व्यवसायीहरूलाई आफ्नो व्यावसायिक मर्यादाअनुसार वस्तु तथा सेवाको वितरण गर्न, कृत्रिम अभाव सिर्जना नगर्न, कालोबजारी नगर्न तथा म्याद गुज्रिएका र गुणस्तरहीन खाद्यवस्तु बिक्रीवितरण नगर्न अनुरोध गरिएको छ। चाडपर्वको समयमा व्यवसायिक मर्यादाविपरीतका गतिविधि गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही हुने प्रशासनले स्पष्ट पारेको छ। चाडपर्वका बेला सरकारी कार्यालय, संघसंस्था तथा सार्वजनिक निकायले पर्याप्त सुरक्षा प्रबन्ध मिलाउनुपर्ने, अत्यावश्यक सेवा निरन्तर सञ्चालन गर्नुपर्ने र आवश्यक जनशक्ति, एम्बुलेन्स, स्वास्थ्यकर्मी, स्काभेटर तथा इन्धनलगायत स्रोतसाधन तयारी अवस्थामा राख्नुपर्नेमा पनि प्रशासनले जोड दिएको छ।
त्यस्तै, जुवातास नखेल्न, सार्वजनिक स्थानमा मदिरा सेवन गरी होहल्ला नगर्न, मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी कानुनविपरीतका गतिविधि नगर्न र पटका तथा आतसबाजीजस्ता जोखिमयुक्त विस्फोटक वस्तुको प्रयोग नगर्न आग्रह गरिएको छ। अनलाइन ठगी, गैरकानुनी चिठ्ठा तथा सामाजिक सञ्जालमार्फत आउने अपरिचित अफरप्रति समेत सतर्क रहन प्रशासनले अनुरोध गरेको छ।
प्रशासनको अनुरोधविपरीतका गतिविधि गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने जनाउँदै त्यस्ता गतिविधिबारे नजिकको सुरक्षा निकाय वा प्रहरी नियन्त्रण कक्ष १०० तथा जिल्ला आपत्कालीन सञ्चालन केन्द्र १२३४ मा जानकारी गराउन आग्रह गरिएको छ। जिल्ला प्रशासन कार्यालय तनहुँका प्रशासकीय अधिकृत राजेन्द्र शर्माद्वारा जारी अनुरोधपत्रमा चाडपर्वलाई आपसी सद्भाव, भाइचारा र सामाजिक एकताका साथ शान्तिपूर्ण रूपमा मनाउन जिल्लावासीलाई अपिल गरिएको छ।











