काठमाडौँ : नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूह र नेता डा.शेखर कोइराला समूहले छुट्टै कार्यालय खोल्ने तयारी गरेका छन् । काठमाडौँको महाराजगन्जमा रहेको अमेरिकन एम्बेसी पछाडि चुनदेवीमा कार्यालयको तयारी गरिएको कांग्रेसका निवर्तमान प्रचार विभाग प्रमुख तथा देउवा समूहका नेता मीन विश्वकर्माले जानकारी दिए ।
‘१५औँ महाधिवेशन तयारी सम्पर्क कार्यालय महाराजगन्जको चुनदेवीमा खोल्दैछौँ । एक–दुई दिनमा खुल्छ,’ विश्वकर्माले रातोपाटीसँग भने, ‘त्यहाँ नियमित महाधिवेशनको पक्षमा देखिएका सबै नेता कार्यकर्ताहरूको भेटघाट र जमघट हुन्छ ।’
गत पुस २७ देखि ३० गतेसम्म तत्कालीन केन्द्रीय समिति र सभापति शेरबहादुर देउवाको असहमतिबिच महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा विशेष महाधिवेशन भएको थियो । महाधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति पनि चयन गरेपछि सुरु भएको विवाद अहिले चरमोत्कर्षमा छ ।
त्यो विशेष महाधिवेशन १४औँ महाधिवेशनका बेलामा देखिएको देउवा समूह, डा.शेखर कोइराला समूह र नेता कृष्णप्रसाद सिटौला समूहले बहिस्कार गरेको थियो । विशेष महाधिवेशन बहिस्कार गरेका समूहहरू मिलेर अहिले उनीहरू सबै मिलेर अहिले सम्पर्क कार्यालय खोलेका हुन् ।
निवर्तमान केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले पनि नियमित महाधिवेशन पक्षधर सबै नेताहरूले १५ औँ महाधिवेशनसम्बन्धी छलफल र बैठक गर्नका लागि सम्पर्क कार्यालय खोल्न लागेको बताए । ‘कार्यालय टुङ्गो लागिसकेको छ । एक–दुई दिनमा सुरु हुन्छ,’ काफ्लेले रातोपाटीसँग भने ।
संस्थापनले १५ औँ महाधिवेशनका लागि भन्दै नवीकरण गराएका क्रियाशील सदस्यहरूको सदस्यता पुनः अद्यावधिक गर्ने निर्णय गरेको छ । यी समूहका नेता कार्यकर्ताले संस्थापनको त्यो निर्णय नमान्ने बताउँदै अद्यावधिक गरेका छैनन् । यो विषयमा विवाद उत्कर्षमा पुगेका बेलामा उनीहरू छुट्टै सम्पर्क कार्यालय खोलेका हुन् । साभारः रातोपाटी





