ऋषिङ गाउँपालिकाको २१औँ गाउँ सभाको बजेट,सेवा प्रवाह पूर्ण रूपमा डिजिटल बनाइने

दमौली न्युज
  • ख-
  • ख+

दमौली: तनहुँको ऋषिङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि सुशासन, पारदर्शिता र प्रविधिमैत्री सेवा प्रवाहलाई केन्द्रमा राख्दै महत्वाकांक्षी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। गाउँपालिकाको २१औँ गाउँसभामा अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

प्रस्तुत नीति तथा कार्यक्रममा भ्रष्टाचार नियन्त्रण, सार्वजनिक खर्चको प्रभावकारी व्यवस्थापन, डिजिटल प्रशासन र सार्वजनिक सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको छ । गाउँपालिकाले प्रत्येक महिनाको आय–व्यय विवरण सार्वजनिक गर्ने, नियमित सार्वजनिक सुनुवाइ तथा सामाजिक परीक्षण सञ्चालन गर्ने र भ्रष्टाचार तथा अनियमितताविरुद्ध कडा निगरानी गर्ने नीति अघि सारेको छ। विकास योजना, ऐन, नियम, निर्देशिका तथा कार्यविधिलाई वेबसाइट, मोबाइल एप्स र सञ्चार माध्यममार्फत सार्वजनिक गरी सेवा प्रवाहलाई थप पारदर्शी बनाइने जनाइएको छ।

 

नागरिकका गुनासोको छिटो सुनुवाइका लागि गुनासो व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाइने तथा नागरिक सहायता कक्ष (हेल्प डेस्क) सेवालाई थप सुदृढ गरिने कार्यक्रम पनि समावेश गरिने भएको छ।सम्पन्न योजनाको सार्वजनिक परीक्षण, नियमित अनुगमन र समयमै हस्तान्तरण सुनिश्चित गरिनुका साथै सार्वजनिक सम्पत्ति तथा जग्गाको अभिलेखीकरण र संरक्षणमा विशेष ध्यान दिइने भएको छ।

 

गाउँपालिकाले आफ्नो दोस्रो पञ्चवर्षीय आवधिक योजनासँग समन्वय हुने गरी मध्यकालीन खर्च संरचना तयार पार्दै विकास आयोजना व्यवस्थापन र सार्वजनिक खर्चलाई वैज्ञानिक, परिणाममुखी तथा उत्तरदायी बनाउने नीति लिएको र ऋषिङ गाउँपालिकालाई आधुनिक र उत्तरदायी स्थानीय सरकारका रूपमा स्थापित गर्ने लक्ष्य लिएको प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्