बन्दिपुर: तनहुँको बन्दीपुर गाउँपालिकाले सुशासन, दिगो पूर्वाधार निर्माण तथा स्वास्थ्य, शिक्षा र पर्यटन क्षेत्रको आधुनिकीकरणलाई प्रमुख प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि करिब ६९ करोड रुपियाँको बजेट सार्वजनिक गरेको छ ।
गाउँपालिकाको १९औँ गाउँसभामा उपाध्यक्ष पञ्चमाया गुरुङले ६८ करोड ७८ लाख ८० हजार ८४९ रुपैयाँ ३० पैसा बराबरको अनुमानित बजेट, विनियोजन विधेयक र आर्थिक ऐन प्रस्तुत गरिएको थियो। गाउँसभामा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै अध्यक्ष सुरेन्द्रबहादुर थापाले जनताको आवश्यकता र अपेक्षालाई केन्द्रमा राखेर २२२ बुँदे नीति तथा कार्यक्रम ल्याइएको बताए ।
नीति तथा कार्यक्रममा स्वास्थ्य सेवा विस्तार, शैक्षिक गुणस्तर अभिवृद्धि र पर्यटन पूर्वाधारको आधुनिकीकरणलाई आगामी वर्षको विकास रणनीतिको केन्द्रमा राख्नुका साथै जवाफदेहिता, पारदर्शिता र सुशासनलाई संस्थागत गर्दै समग्र विकासलाई दिगो बनाउने लक्ष्य लिइएको छ ।
बजेटका लागि संघीय सरकार, प्रदेश सरकार र आन्तरिक स्रोतबाट ६४ करोड ३८ लाख ८० हजार ८४९ रुपैयाँ ३० पैसा जुटाइने भएको छ भने अनिवार्य दायित्वतर्फ चार करोड रुपैयाँ र लागत सहभागितातर्फ ४० लाख रुपैयाँ समावेश गरिएको छ ।
विनियोजनअनुसार कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ १३ करोड ४० लाख ९७ हजार ५६९ रुपियाँ छुट्याइएको छ । पूर्वाधार विकासका कार्यक्रमका लागि १३ करोड १२ लाख ८३ हजार २८० रुपियाँ ३० पैसा, सामाजिक विकासतर्फ नौ करोड ३८ लाख रुपियाँ, छवटै वडाका पूर्वाधार तथा विषयगत कार्यक्रमका लागि चार करोड ५० लाख रुपियाँ तथा आर्थिक विकासतर्फ दुई करोड ९५ लाख रुपियाँ विनियोजन गरिएको छ । वन, वातावरण तथा विपद् व्यवस्थापनका कार्यक्रमका लागि ७० लाख रुपियाँ छुट्याइएको छ ।





