दमौली : तनहुँको व्यास नगरपालिकाले दमौली बजार क्षेत्रमा सडक अधिकार क्षेत्र तथा सडक पेटी अतिक्रमण गरी निर्माण गरिएका पक्की संरचना, वरन्डा तथा टिनका संरचनाहरू ३५ दिनभित्र हटाउन सम्बन्धित घरधनी तथा सरोकारवालालाई पुनः सुचना जारी गरीएको छ। नगरपालिकाले आज एक सूचना प्रकाशित गर्दै सार्वजनिक तथा सरकारी जग्गाको संरक्षण सबै नगरवासीको साझा दायित्व भएको उल्लेख गर्दै सडक अवरुद्ध हुने गरी निर्माण गरिएका संरचना हटाउन निर्देशन दिएको हो।
नगर कार्यपालिकाको २०८३ जेठ २२ गते बसेको २३८औँ बैठकको निर्णयअनुसार जारी गरिएको सूचनामा दमौली बजार क्षेत्रका सडक अधिकार क्षेत्रभित्र रहेका अवैध संरचनाहरू सम्बन्धित व्यक्तिले आफ्नै पहलमा तोकिएको समयभित्र हटाउन आग्रह गरेको थियो। नगरपालिकाले सार्वजनिक सम्पत्तिको संरक्षण र सडकको सहज उपयोग सुनिश्चित गर्न यस्तो कदम चालिएको जनाएको छ।
सूचनाअनुसार ३५ दिनको अवधिभित्र संरचना नहटाइएमा व्यास नगरपालिकाले प्रचलित कानुनबमोजिम आवश्यक प्रक्रिया पूरा गरी ती संरचनाहरू आफैँ हटाउने स्पष्ट स्पष्ट पारेको छ। नगरपालिकाले सडक, पेटी अतिक्रमण गरी बनाईएका संरचना हटाउन कुनै सम्झौता नगर्ने संकेत गर्दै सम्बन्धित सबैलाई समयमै सूचना पालना गर्न आग्रह गरेको छ।
नगरपालिकाका इन्जिनियर अमृत केसीद्वारा हस्ताक्षरित सूचनामा सार्वजनिक हित, सडक सुरक्षाका साथै नगरको सुन्दरता र व्यवस्थित विकासका लागि सडक तथा सार्वजनिक जग्गा अतिक्रमण गर्ने कार्य रोक्नुपर्ने उल्लेख गरिएको छ। नगरपालिकाको यो कदमसँगै दमौली बजार क्षेत्रमा वर्षौंदेखि सडक मिचेर बनाइएका संरचना माथि कारबाही प्रक्रिया अगाडि बढ्ने भएको छ।
केही दिन अघि व्यास नगरपालिकाले व्यास नगरपालिकाको सफा सडकमा पार्किङ निषेध क्षेत्र घोषणा गरेता पनि व्यापारीहरूको मनोमानीका कारण उक्त पार्किङ निषेधित क्षेत्र तोडिएको छ। अहिले खुलेआम पार्किङ गरिएको छ ।यस प्रकारले पनि सडक तथा सार्वजनिक जग्गा अतिक्रमण कार्य रोक्न व्यास नगरपालिकालाई त्यति सहज देखिदैन।
