२ पुरुष र १ महिलाको शव भेटिएको शंकास्पद घटनाको अनुसन्धानमा कुकुरसहितको विशेष टोली परिचालन

दमौली न्युज
  • ख-
  • ख+

दुलेगौंडाः शुक्लागण्डकी नगरपालिका–५ कसेरीघाटस्थित फोहोरमैला प्रशोधन केन्द्र नजिकै शनिबार बिहान तीन जनाको शव भेटिएको छ ।

शनिबार बिहान प्रशोधन केन्द्रका एक कर्मचारीले दुई पुरुष मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी टोली घटनास्थल पुगेपछि कम्पाउण्ड बाहिर धारिलो हतियार प्रयोग गरी मारिएका दुई पुरुषको शव भेटिएको थियो। मृतकमध्ये एक जनाको पहिचान शुक्लागण्डकी–११ पाल्पालीछाप निवासी करिब ४० वर्षीय नारायण विकको रूपमा खुलेको छ। विक सोही केन्द्र सञ्चालन गर्ने ग्रिन रोड प्रालिमा तीन महिनादेखि कार्यरत थिए। अर्का पुरुषको पहिचान भने खुल्न बाँकी छ, जो त्यही स्थानमा टहरा बनाएर बस्दै आएका थिए।

दुई शव भेटिएपछि उनीहरूसँगै बस्ने एक महिला सम्पर्कविहीन भएपछि खोजी गर्दा दिउँसो करिब १२ बजे प्रशोधन केन्द्रबाट करिब ७ सय मिटर टाढा जंगलमा उनको शव पनि फेला परेको छ। पहिचान खुल्न बाँकी ती महिला र पुरुष विगत एक वर्षदेखि त्यही टहरामा बसेर कबाडी संकलन गरेर जीवनयापन गर्दै आएका थिए।

वडाध्यक्ष दीर्घबहादुर थापाले घटना योजनाबद्ध तथा शंकास्पदजस्तो देखिएको बताए ।

जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी श्रवणकुमार विकले घटना गम्भीर देखिएकाले तालिमप्राप्त कुकुर तथा प्राविधिकको सहयोगमा अनुसन्धान भैरहेको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी