भानुः विद्यालयबाट सरुवा भएर जाँदा शुल्क तिरेको विषय सार्वजनिक भए पछि भानु १३ को अरनिको मावि दबाबमा परेको छ । विद्यालयबाट सरुवा भएर बाजुरा गएका शिक्षक महेशबहादुर पुजराबाट ३० हजार रुपैयाँ लिइएको विषय चर्चामा छ ।
विद्यालयले आजीवन सदस्यताका लागि १५ हजार पाँच सय १५ र सरुवा हुने बेला १५ हजार शुल्क लिएको विषय सार्वजनिक भएको थियो । आजीवन सदस्यतावापतको रसिद दिइए पनि बाँकी रकम भने सरुवा हुने बेला विद्यालयले नै राखेको भन्दै शिक्षकले गुनासो गरेका थिए । यो खबर सार्वजनिक भए पछि विद्यालयले बाहिर घटना सार्वजनिक नगर्ने शर्तमा १५ हजार फिर्ता गर्न प्रतिबद्धता जनाए पनि घटना बाहिर सार्वजनिक नगर्न भनेको छ ।
यससम्बन्धमा बुझ्न सम्पर्क गर्दा विद्यालय व्यवस्थापन समिति अध्यक्ष कल्याण खड्का सम्पर्कमा आएनन् । रास्वपा वडा सभापति समेत रहेका उनी तथा विद्यालयका प्रधानाध्यापकलाई भानु नगरपालिकाले घटनाबारे बुझ्न भन्दै बोलाएको छ ।
भानु नगरपालिकाका शिक्षा प्रमुख ध्रुव पौडेलले घटनाबारे बुझ्ने बताए ।












