दमौलीः नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले तनहुँ सदरमुकाम दमौलीमा भएको आगजनीमा राष्ट्रिय स्वतन्त्र पार्टी र माओवादीलगायतको संलग्नता भएको बताएका छन् । दमौलीमा नेपाली कांग्रेसद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले बडो कष्टसँग बन्दीपुरबाट दमौलीमा सारिएको सदरमुकामको अहिलेको अवस्थामा आउनुमा कांग्रेस र यसका नेतृत्वकर्ताहरुको योगदान रहेको स्मरण गरे । ‘बडो दुःखसँग एक एक जनाले गरेर दमौली बनेको हो,’ उनले भने ।
तर हालै जेनजी आन्दोलनका क्रममा दमौली बजारमा आगजनी र तोडफोड भएको भन्दै उनले दुःख प्रकट गरे । ‘कसको नेतृत्वमा आगलागी भयो थाहा पाउनुभयो होला नि,’ उनले भने,‘ तर अरु पार्टीभन्दा हामी राम्रो हो भन्ने घण्टी र माओवादीहरुले दमौली जलाए ।’
नेता भट्टराईले सिंहदरबारदेखि प्रशासनसम्म जलाउनेहरुको समीक्षा हुनुपर्ने पनि बताए ।
उनले फागुन २१ मा चुनाव हुनुपर्ने बताउँदै त्यसो नभए संवैधानिक संकट आउने भएकाले आफूहरु निर्वाचनको पक्षमा रहेको बताए ।
नेता भट्टराईले विचार, योजना र कामबारे विचार गरेर मात्र पार्टीहरुको मूल्यांकन गर्नुपर्ने भन्दै नेपाली कांग्रेस नीति, व्यवहार र संघर्षको दल भएको बताए । नेता भट्टराईले अहिलेको अवस्थामा कांग्रेसभित्र आफ्नो आलोचना भन्दा अरुहरुको गलत कुराको मूल्यांकन हुनुपर्ने भन्दै सबै एकताबद्ध भएर निर्वाचनलक्षित अभियानमा अघि बढ्न अनुरोध गरे ।










