सत्यवतीबाट बिदा भए ‘बुलन्द’का झलक सर

  • ख-
  • ख+

पवन पौडेल
सत्यवती माविका झण्डै तीन हजार विद्यार्थी । तीमध्ये धेरै विद्यार्थीमा सबैले सबैलाई चिन्ने सम्भावनै हुन्न । तर कमैले नचिन्ने मध्येका एक थिए, झलक सर । सात दर्जन शिक्षकमध्ये आफूलाई नपढाउनेलाई चिन्न ठूलो विद्यालयमा सबै विद्यार्थीलाई सम्भव पनि हुन्न । तर विद्यार्थी मात्र नभएर अरुले पनि नबिर्सने पहिचान बनाएका थिए, उनले ।


ठूलो विद्यालयको एसेम्ब्ली चलाउने जिम्मा पाएका झलक सरलाई एसेम्बलीमा भएकाले नचिन्ने कुरै भएन । एसेम्ब्लीमा नबस्नेले पनि उनको ‘बुलन्द’को आवाजका कारण नचिन्ने कुरै भएन । तर विद्यालयको स्थायित्वको पहिचान बनेका झलकप्रसाद पौडेल ३४ वर्ष लामो शिक्षण सेवाबाट बिदा भएका छन् । कोभिडका कारण एसेम्बली बन्द भए पनि अब खुल्ने समयमा सत्यवतीले लामो अनुभव भएका ‘कमाण्डिङ’ शिक्षकको भने अभाव महसुस गर्नेछ । अर्का पुराना अनि पूर्व सैनिक कमाण्डर पिबि खड्काले सम्हालेको कमाण्ड उनको अस्वस्थतापछि पौडेलको जिम्मामा पुगेको थियो ।


‘एसेम्ब्ली चलाउनुपर्ने भएकाले बिदा लिइन’
एसेम्ब्ली म्यान भएका कारण व्यास ११ रानीगाउँका उनी सधैं साईकलमा दौडँदै विद्यालय आईपुग्थे । ‘१० बजे शुरु गरिसक्नुपर्ने र अरु तयारी पनि गर्नुपर्ने भएकाले समयमै पुग्थें, उनले पुराना दिन स्मरण गरे । विद्यालयको एसेम्ब्ली चलाउने दायित्व बोकेका उनी नहुँदा कहिलेकाहीं अरु शिक्षकले चलाउँथे । तर त्यसमा उनीहरुले पनि ‘इन्टरटेन’ गर्दैनथे ।

झलक सरको नेतृत्वको सत्यवती एसेम्ब्ली

झलकलाई सिठी फुक्दै कडा स्वरमा ‘गोडाफाट र सतर्क’ भनेको नसुनेपछि विद्यार्थीमाझ पनि ‘आज सर कता जानुभएछ ’ चर्चा चलिहाल्थ्यो । त्यसैले पनि हत्तपत्त शिक्षक जीवनमा उनले बिदा लिएनन् । ‘एक दिन नआउँदा पनि सरलाई के भएछ कता जानुभएछ भनेर धेरैले जिज्ञासा राख्ने भएकाले मैले हतपत बिदा लिइनँ,’ उनी सम्झन्छन् ।

विद्यालयको स्थायित्वको पहिचान बनेका झलकप्रसाद पौडेल ३४ वर्ष लामो शिक्षण सेवाबाट बिदा भएका छन् । कोभिडका कारण एसेम्बली बन्द भए पनि अब खुल्ने समयमा सत्यवतीले लामो अनुभव भएका ‘कमाण्डिङ’ शिक्षकको भने अभाव महसुस गर्नेछ ।

१० बजे समयमै थाल्नुपर्ने भएकाले अरु कामै भए पनि एसेम्ब्ली चलाउन भने उनी त्यो अघि नै विद्यालय आउँथे वा भनौं उनका लागि त्यो बाध्यता पनि थियो । त्यसैले पनि उनलाई समयले जागिरे जीवनभर बाँधिरह्यो ।


बाटो छेकेका विद्यार्थी पश्चाताप गर्न आए
विद्यालयको अनुशासनको जिम्मा पाएका कारण कडा थिए, झलक सर । लाईनमा युनिफर्ममा नआउनेदेखि अरु बेला हुलहुज्जत गर्न खोज्नेका टाउकामा उनको लौरो बज्रिहाल्थ्यो । स्वर पनि कडै भएका उनले विद्यार्थीमाझ ‘कडा’कै पहिचान पाएका थिए । विद्यालयमा अनुशासन नटर्नेलाई कान समेत बटारिहाल्ने उनले कतिपय विद्यार्थीबाट बाटो छेकाई समेत भोग्नुप¥यो । तर आफूले कारबाही गरेका ती विद्यार्थी पछि पश्चाताप गर्न आएको क्षणले उनको छाती फुल्थ्यो ।

‘पहिले बुझेनछम् । बुलन्दसँग कारबाही गर्नुभएको थियो । अहिले महसुस गरेको छु भनेर पश्चाताप गर्छन्,’ उनले भने,‘त्यो उनीहरुकै लागि थियो भन्ने बुझेकाले मलाई गर्व लाग्छ ।’ उनको ‘कारबाही’मा परेका ती विद्यार्थी स्वदेश तथा विदेशबाट अहिले पनि उनलाई फोन गर्छन् ।

विद्यालयमा अनुशासन नटर्नेलाई कान समेत बटारिहाल्ने उनले कतिपय विद्यार्थीबाट बाटो छेकाई समेत भोग्नुप¥यो । तर आफूले कारबाही गरेका ती विद्यार्थी पछि पश्चाताप गर्न आएको क्षणले उनको छाती फुल्थ्यो ।


‘बुलन्द’ कथा
झलक सरलाई धेरैले ‘बुलन्दको सर’ भन्नुका पछाडि आफ्नै कथा छ । उनको थेगो नै थियो बुलन्द । राम्रो अक्षर हुनेलाई उनले ‘बुलन्द’को भन्थे । एसेम्ब्लीमा राम्रो स्पिच दिनेलाई पनि उनले भन्थे,‘बुलन्दको छ ।’ लामो समय पूर्व व्यवसायिक शिक्षा पढाएका उनले आफ्नै खेतबारी तथा अरु किसानकहाँ समेत लगेर कृषि कर्म देखाउँथे ।


र, भन्थे ‘यसरी बुलन्दको काउली फलाउन सकिन्छ ।’ विद्यालयमा अनिवार्य ऐच्छिक विषय पूर्व व्यवसायिक पढेका विद्यार्थीले उनको त्यो शब्द नसुन्ने कमै सम्भावना थियो । त्यसैले पनि उनले ‘बुलन्दको’ उपमा पाईहाले । र, त्यो विषय बदलिएको रुपमा नै आए पनि उनको पहिचान भने बदलिएन ।

‘यसरी बुलन्दको काउली फलाउन सकिन्छ ।’ विद्यालयमा अनिवार्य ऐच्छिक विषय पूर्व व्यवसायिक पढेका विद्यार्थीले उनको त्यो शब्द नसुन्ने कमै सम्भावना थियो । त्यसैले पनि उनले ‘बुलन्दको’ उपमा पाईहाले ।


आफैंले पढाएका शिष्यसँग साझेदारी
विद्यालयका हालका प्रधानाध्यापक ईन्द्रप्रसाद पौडेलका पनि गुरु हुन्, उनी । ‘मैले पनि उहाँसग पढेको हुँ,’ पौडेलसँगका सम्झना साट्दै उनी भन्छन्,‘आफ्नै गुरुसँग काम गर्दा अभिभावकत्व महसुस हुन्थ्यो ।’ उनीसँगको सहकार्यमा विद्यालयको अनुशासन कायम गर्नदेखि अतिरिक्त क्रियाकलाप र एसेम्ब्ली सञ्चालन सबैमा इन्द्रले ठूलै भरथेग पाएका थिए ।

बिदाईपश्चात प्रधानाध्यापक इन्द्रप्रसाद पौडेलसँग

६० वर्ष पुगेपछि अनिवार्य अवकासका लागि विद्यालयले गरेको कार्यक्रममा व्यवस्थापन समिति अध्यक्ष सूर्य अधिकारीले पनि उनको अनुपस्थिती अभाव खट्कने भए पनि निरन्तर साथ पाइरहने अपेक्षा गरे ।


निरन्तर सत्यवतीसँगै
‘उमेरले ६० नपुगेका भए पढाइरहेको हुन्थें,’ उनी भन्छन् । शुरुदेखि बिदा लिंदासम्म एउटै विद्यालयमा पढाउन पाउने उनी भाग्यमानी पनि हुन् । विद्यालयका आरोह अवरोहमा साथै रहेका उनी पुराना दिन पनि सम्झन्छन्,‘पहिले अहिलेजस्तो सजिलो थिएन । जंगलमा गएर आफैं काठ बोक्थ्यौं अनि तलब पनि विद्यालयलाई नै दान गथ्र्यौं ।’

तर आजको सत्यवती बदलिएको छ । भौतिक पूर्वाधारले सम्पन्न विद्यालयमा ठाउँको अभाव छ । तर गुणस्तरसँगै सुख सुविधाले जिल्लामै अगाडि छ ।

उमेर हदका कारण सेवा गर्न नपाए पनि तीन दशक बढीको साइनो गाँसिएको विद्यालयसँग साइनो नटुट्ने झलक बताउँछन् । ‘भौतिक रुपमा नभए पनि सदा सर्वदा विद्यालय प्रति मेरो सदासयता रहनेछ ,’ उनले भने,‘समयले साथ दिएसम्म बेला बेला जान्छु । परेका समस्या समाधानमा प्रयास गर्छु ।’ यही साइनो कायमै राख्न उनले बिदाईका बेला पिता र माताको नाममा एक लाख पाँच हजारको जयरत्न विपन्न तथा जेहेन्दार छात्रवृत्ति कोष पनि स्थापना गरेका छन् ।

तर लामो भावनात्मक सम्बन्ध गाँसिएको विद्यालयसँग जीवनका उर्वर समय बिताएर अहिले घर जानुपर्दा मुटुकै टुक्रा गुमाएझैं भने पक्कै भएको होला, उनलाई ।

पुरानै बाटो
शिक्षक भए पनि आफ्नै खेतबारीमा नियमित समय दिन्छन्, उनी । शिक्षक हुँदा पनि विहान बेलुकाको समय खेतबारीमै सिञ्चिएका उनलाई अब विद्यालयसँग छुटे पनि उही काममा भुल्न गाह्रो छैन । तर लामो भावनात्मक सम्बन्ध गाँसिएको विद्यालयसँग जीवनका उर्वर समय बिताएर अहिले घर जानुपर्दा मुटुकै टुक्रा गुमाएझैं भने पक्कै भएको होला, उनलाई ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी