चौथो ऋषिङ्ग अल्ट्रा म्यारथनको उपाधी नेपाली सैनिकका हुमलाल श्रेष्ठले चुमे

दमौली न्युज
  • ख-
  • ख+


दमौली : तनहुँको ऋषिङ्ग गाउँपालिकाले आयोजना गरेको ‘चौथो ऋषिङ्ग अल्ट्रा म्यारथन २०८१’ मा नेपाली सैनिकका हुमलाल श्रेष्ठले उपाधी जितेका छन्। ४२.२ किलोमिटरको दूरी पार गर्दै श्रेष्ठले यस म्यारथनको पहिलो स्थान हासिल गरे । प्रतियोगितामा नेपाली सैनिकका राजन येयोङबाले दोस्रो र जुनेश खड्काले तेस्रो स्थान प्राप्त गरे ।

प्रतियोगिता ऋषिङ्ग गाउँपालिकाको वडा नं. ८ को धारुङबाट सुरु भई वडा नं. ३ को दुबुङ भ्युटावरमा समापन भएको हो । विजेताहरुलाई पुरस्कार वितरण गदै गण्डकी प्रदेशका सांसद जितप्रकाश आलेले स्थानीय खेलकुद प्रतियोगिताहरूका साथै म्यारथनजस्ता आयोजनोंलाई समाजको समृद्धि र एकताको माध्यमका रूपमा देख्नुपर्ने बताए । उनले भने, “म्यारथन स्थानीय समुदायको सामाजिक, शारीरिक र मानसिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने छ । ”


जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले आयोजनोंले स्थानीय स्तरमा समृद्धि र भाइचारा बढाउन मद्दत पुर्याउने बताए । उनले भने,“ खेलकुदले युवाहरूलाई केवल शारीरिक रूपमा मात्र फिजिकल फिट बनाउन होइन, उनीहरूको मानसिक सुदृढता र समाजिक दायित्वबोधलाई पनि प्रगति दिलाउँछ।” ऋषिङ्ग गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै भने, “हामी खेलकुदको माध्यमबाट हाम्रो गाउँपालिकालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउन चाहन्छौं।

यस प्रतिस्पर्धाले हाम्रो गाउँपालिकाको विकास र समृद्धिमा ठूलो योगदान पुर्याएको छ। हामी यो अवसरलाई भविष्यमा अझ सुधार र उत्कृष्टताका साथ आयोजना गर्न चाहन्छौं।”व्यास नगरपालिकाका संस्थापक नगरप्रमुख ताराप्रसाद श्रेष्ठले खेलकुदले युवाहरूलाई प्रभावित गर्ने सँगै समुदायलाई पनि समृद्ध बनाउन मद्दत पुर्याउने बताए ।


दुबुङमा रत्नहरिको बृहत स्वास्थ्य शिविर
चौथो ऋषिङ्ग अल्ट्रा म्यारथनको समापन समारोहसँगै ऋषिङ्ग गाउँपालिकाले रत्नहरि मेमोरियल अस्पतालको प्राविधिक सहयोगमा दुबुङमा स्वास्थ्य शिविरको आयोजना गरेको थियो। शिविरमा तीन सय भन्दा बढी बिरामीहरूले स्वास्थ्य सेवा लिएका छन्। शिविरमा बाल रोग विशेषज्ञ डा. सुनिल तामाङ, मेडिकल अफिसर डा. प्रदिप थापा, र डा. राजेश गुप्ता लगायतका चिकित्सकहरूले बिरामीहरूको उपचार गरे।

स्वास्थ्य शिविरमा उपस्थित अधिकांश बिरामीहरूले रक्तचाप, सुगर, हातखुटा दुख्ने, पेट दुख्ने जस्ता सामान्य समस्याहरू लिएर सेवा लिएका थिए। रत्नहरि मेमोरियल अस्पतालका व्यवस्थापक लिला बहादुर थापाले भने, “स्वास्थ्य शिविरको आयोजनाले स्थानीय समुदायलाई उपचार र स्वास्थ्य सेवासँग जोड्ने हाम्रो प्रमुख उद्देश्य हो। यसले हाम्रो समुदायलाई स्वास्थ्य सेवामा सजिलो पहुँच दिन्छ।“

रत्नहरि मेमोरियल अस्पतालका चिकित्सकहरूले बिरामीहरूलाई विभिन्न स्वास्थ्य समस्याहरूको उपचार गरेका थिए। गएको १ महिनामा मात्र उक्त अस्पतालले विभिन्न ठाउँमा गरि तीन वटा बृहत शिवरि सम्पन्न गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी