लमजुङ: लमजुङकोमर्स्याङ्दी गाउँपालिका–८ बान्द्रेमा घरायसी विवादले भयावह रूप लिँदा शरीरमा मट्टितेल छर्केर आगो लगाएकी २५ वर्षीया अन्जना घलेको उपचारका क्रममा मृत्यु भएको छ । भदौ ७ गते राती श्रीमान्–श्रीमतीबीच विवाद भएपछि अन्जनाले आफ्नै शरीरमा मट्टितेल छर्केर आगो लगाएको र आगो निभाउने क्रममा उनका ४२ वर्षीय श्रीमान् गोपीमान घले समेत घाइते भएका थिए ।
प्रहरीका अनुसार अन्जनाको शरीरको करिब ८० प्रतिशत भाग जलेको थियो । गम्भीर घाइते उनलाई प्रदेश अस्पताल बेँसीशहरमा प्रारम्भिक उपचारपछि भदौ ८ गते राति थप उपचारका लागि काठमाडौँ स्थित कीर्तिपुर बोन अस्पतालमा रिफर गरिएको थियो । उपचारकै क्रममा आज चिकित्सकले अन्जनालाई मृत घोषणा गरेको उनका आफन्तले प्रहरीलाई जानकारी दिएका छन् । आगो निभाउने क्रममा घाइते भएका गोपीमानको दुवै हात, खुट्टा र गालामा गरी करिब १० प्रतिशत भाग जलेको प्रहरीले जनाएको छ । उनको प्रदेश अस्पताल बेँसीशहरमा उपचार भइरहेको छ भने स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाइएको छ ।
घटनापछि प्रहरीले घटनाको प्रकृति, विवादको कारण तथा घटनाक्रमबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।सामान्य घरायसी विवादले हिंसात्मक र आत्मघाती अवस्थासम्म पुर्याउँदा एक महिलाको ज्यान गएको यो घटनाले परिवार भित्रको विवादलाई समयमै संवाद र सहजीकरणबाट समाधान गर्नुपर्ने गम्भीर सन्देश दिएको छ । विवाद चर्किँदै जाँदा आवेगमा गरिने निर्णयले क्षणभरमै परिवारमा अपूरणीय क्षति पुर्याउन सक्ने भएकाले संवेदनशील अवस्थामा परिवार, आफन्त तथा समुदायले समयमै हस्तक्षेप र सहयोग गर्नुपर्ने देखिएको छ ।





