
दमौलीः नेपाल टेलिकमले सस्तोमा धेरै सुविधा दिने गरी फाईबर इन्टरनेट ल्यायो । मासिक आठ सयमा आठ एमबिपिएसको गति दिने इन्टरनेट धेरैले जोडे पनि । शुरुमा राम्रो चले पनि अहिले स्पिड निकै कम भए पछि ग्राहक आजित बनेका छन् ।
पछिल्लो समय अनलाईन मिटिङ र अरु क्रियाकलाप इन्टरनेटका माध्यमबाट हुन थाले पछि धेरैले घरमा इन्टरनेट जोड्न थालेका छन् । सस्तो भएकाले धेरैको आकर्षण टेलिकममै छ ।
तर गति पनि कम र सेवा सुस्त भएको भन्दै उपभोक्ताले लाईन परिवर्तन गर्न थालेका छन् ।
दमौलीको पराशर कलेजले असार महिनादेखि नै जुम एप्लिकेशनमार्फत अनलाईन कक्षा चलाईरहेको छ । उसले पनि फाईबर नेटमा शिक्षक कलेजमै उपस्थित भएर कक्षा दिलाउने व्यवस्था गरेको छ ।
तर पछिल्लो समय गति स्लो हुन थाले पछि उसले घरबाटै कक्षा चलाउन शिक्षकसँग आग्रह गरेको छ । ‘धेरै पटक गुनासो गरिसक्यौं,’ कलेज प्रमुख अमृत भण्डारीले भने,‘तर पनि सुधार नभए पछि अब इन्टरनेट बन्द गर्नुपर्ने अवस्थामा पुगेका छौं ।’
अरु धेरै उपभोक्ताको गुनासो पनि भनिए जति गतिमा इन्टरनेट नचल्ने र गुनासो गर्दा पनि समाधान नहुने भन्ने नै छ । टेलिकमको कमजोर सेवाका कारण निजी सेवा प्रदायकतर्फत फर्किने ग्राहक बढिरहेका छन् । एक इन्टरनेट कम्पनीका प्रतिनिधि भन्छन्,‘हाम्रोमा ग्राहक बढिरहेका छन् ।’
प्रयोगकर्ता बढेर समसया
पटक पटक गुनासो गर्दा पनि इन्टरनेट र सेवा दुवै ढिलो हुने अवस्था कसरी आयो त ? टेलिकम दमौलीका प्रमुख सुधिरकुमार शर्मा भन्छन्,‘प्रयोगकर्ता बढेर समस्या भएको हो ।’
उनका अनुसार शुरुवातमा भनेजति नै स्पिडमा इन्टरनेट चले पनि पछि सेवाग्राही बढेकाले व्यवस्त समयमा केही ढिलो हुने उनले बताए । ‘व्यस्त समयमा ढिलो हुने गरेको छ,’ उनले भने,‘कहिलेकाहिं समस्या हुन सक्छ ।’
मर्मतमा किन ढिलाई भन्ने प्रश्नमा उनले जनशक्ति कम भएकाले पहिले अत्यावश्यकलाई प्राथमिकता दिंदा केही ढिलो भएको बताए । ‘हामीसँग प्राविधिक, प्रशासन गरेर नौ जना मात्र छन्,’ उनले भने,‘फोन, इन्टरनेट सबै हेर्नुपर्दा भनेकै समयमा सेवा दिन सकिएन होला तर हामीले काम जारी राखेका छौं ।’