
वंशजको अधिकारसहितको नागरिकता निरन्तरताको एजेण्डामा समर्थन
काठमाडौंः गैरआवासीय नेपाली संघको ११ औं महाधिवेशनमा उपाध्यक्ष उम्मेदवार डा. केशव पौडेललाई युरोपबाट समर्थन मिलेको छ । फ्रान्स, जर्मनी लगायतका युरोपेली मूलुकमा गैरआवासीय नेपालीसँगको भेटका लागि पुगेका पौडेललाई सघाउने प्रतिवद्धता मिलेको छ ।
गैरआवासीय नेपाली नागरिकताका लागि ऐन ल्याउने क्रममा महासचिवका रुपमा महत्वपूर्ण भूमिका खेलेको भन्दै उनलाई उपाध्यक्ष पदमा समर्थन गर्ने प्रतिवद्धता प्राप्त भएको छ ।
एनआरएनए फ्रान्सकी निवर्तमान अध्यक्ष गीता खनालले वंशजको अधिकारसहितको नागरिकताको निरन्तरताका लागि पौडेलले अघि सारेको एजेण्डामा युरोपबाट समर्थन मिलेको बताइन् ।
युरोप भ्रमणका क्रममा डा. पौडेलले विगतमा सहमतिका नाममा ठूलो समिति बन्दा सोचेजस्तो काम गर्न नपाए पनि यसपाली सहमति नभए निर्वाचनबाटै भए पनि नेतृत्व चयन हुने बताए ।
‘हाम्रा समस्या सम्बोधन गर्न गैरआवासीय मन्त्रालय आवश्यक छ,’ उनले भने, ‘वंशजको अधिकारसहितको नागरिकताको निरन्तरताका लागि म लागि पर्नेछु ।’

पौडेलले विगतमा आफूहरुको सक्रियताकै कारण कार्य समिति बहाल रहँदै गर्दा गैरआवासीय नागरिकता ऐन आउन सफल भएको भन्दै सघाउने सबैलाई धन्यवाद दिए ।
उनले भने , ‘हाम्रो अबको लक्ष्य गैरआवासीय नेपालीलाई अधिकारसहित जन्मभूमिसँग जोड्ने हो ।’