
काठमाडौं ।
तनहुँ क्षेत्र नं १ बाट नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला चुनाव नलड्ने बताएका छन् ।
नेपाली कांग्रेस जिल्ला सभापति एवं गण्डकी प्रदेश सांसद जीत शेरचनका अनुसार मिडियाहरुमा सिटौला उम्मेदवार भन्दै आएका खबरहरुमा कुनै सत्यता नभएको र उहाँ चुनाव नलड्ने बताए । शेरचनले भने,‘बाहिर मिडियामा सिटौला तनहुँबाट निर्वाचन लड्ने भनेर आएजस्तो उहाँको कुनै चाहाना छैन् ।’ शेरचन सिटौला निकट नेता मानिन्छन् ।

यसअघि कांग्रेसका नेता सिटौला तनहुँ क्षेत्र नं १ बाट चुनावमा उम्मेदवार बन्ने खबरहरु केहि सञ्चारमाध्यमबाट बाहिरएका थिए ।
तनहुँ क्षेत्र नं १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति भएसँगै आगामी उपनिर्वाचन गर्ने तयारी छ । यस क्षेत्रमा कांग्रेस केन्द्रीय सदस्यद्वय गोबिन्द भट्टराई र धुब्र वाग्ले, कांग्रेसका नेता रामचन्द्र पोखरेल र दिपक भट्टराई लगायतको नाम चर्चामा छ । स्रोतका अनुसार केन्द्रीय सदस्य भट्टराई उम्मेदवार बन्ने सम्भावना छ ।