दमौलीमा मङ्सिर २५ देखि २६ सम्म खेलकुद महोत्सव हुने

देव गजमेर,दमौली न्युज
  • ख-
  • ख+

दमौली: दमौलीमा खेलकुद महोत्सव हुने भएको छ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एन प्याब्सन) तनहुँको आयोजनामा मङ्सिर २५देखि २६ गते सम्म हुने महोत्सव प्रतियोगिताको वारेमा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएकाे हाे ।

एन प्याब्सन तनहुँका अध्यक्ष विश्वेश्वर खनालका अनुसार प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगितामा लगभग तीन लाख ५० हजारदेखि चार लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।  प्रतियोगिताको मुख्य उद्देश्यका बारेमा केन्द्रीय उपाध्यक्ष तिलकबहादुर चौहानले भने , “निजी विद्यालयले केवल किताबी ज्ञान मात्र होइन, खेलकुद र अनुशासनमार्फत विद्यार्थीको चौतर्फी विकास गर्नुपर्छ, यही सोचका साथ प्रतियोगिता आयोजना गरिएको हो ।”

उक्त प्रतियोगितामा २६ स्वर्ण पदकको व्यवस्था गरिएको छ भने लगातार तीन पटक विजेता बनेका विद्यालयलाई  शिल्ड प्रदान गरिनेछ । प्रतियोगितामा २८ विद्यालयका विद्यार्थीहरू सहभागी हुनेछन् ।

एन प्याब्सनका उपाध्यक्ष प्रकाश खड्का, विश्वास केसी र सचिव ऋषिकेश केसीले प्रतियोगितालाई निरन्तरता दिँदै भावी वर्षहरूमा पनि यही कार्यक्रम जारी राखिने बताए । आयोजकले जानकारी गराए अनुसार प्रतियोगितामा उत्कृष्ट सहभागी सङ्ख्या, झाँकी र अनुशासन देखाएका विद्यालयलाई दुई-दुई हजार रुपियाँ नगद र प्रमाणपत्र प्रदान गरिने पनि बताइएको छ । प्रमुख अतिथि भने एन प्याब्सनका पूर्व केन्द्रीय अध्यक्ष ऋतुराज सापकोटा हुने जानकारी दिइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्