बालक बेपत्ता प्रकरणः १७ घण्टामै पक्रिइन् महिला

  • ख-
  • ख+

अपडेट
दमौली ः
प्रहरीले व्यास ४ वागभन्ज्याङका बालक बेपत्ता प्रकरणमा १७ घण्टाभित्रै बालकलाई लिएर जाने महिलालाई पक्रेको छ ।

मंगलबार दिउँसो ३ बजे घरमा खेल्दै गरेका ६ वर्षका दिप्सन श्रेष्ठ बेपत्ता भए पछि परिवारले खोजीका लागि प्रहरीमा मौखिक उजुरी दिएको थियो । घटना थाहा पाएलगत्तै थालिएको खोजीका क्रममा बुधबार विहानै प्रहरीले बालकलाई लिएर गएकी महिलालाई पक्राउ गर्दै बालक आफन्तको जिम्मा लगाएको हो ।


कास्कीको पोखरा उपमहानगरपालिका बहुमारास्थित माइतीमा पुगेकी २० वर्षिया सबिता परियारलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय अगाडि चेकजाँचक क्रममा पक्रेको हो । ‘घटनालगत्तै हामीले खोजी अभियान तीव्र पारेका थियौं,’ प्रहरी उपरीक्षक अरुण पौडेलले भने,‘अहिले पक्राउ गरेर अनुसन्धान थालेका छौं ।’


प्रहरी नायब उपरीक्षक युवराज तिमल्सेनाका अनुसार लैजाने व्यक्ति र ठाउँको पहिचान भैसकेपछि प्रहरी टोली पक्राउ गर्न गएका बेला उनी त्यहाँबाट हिंडिसकेको सूचना पाए पछि प्रहरीले राजमार्गमा चेकजाँच बढाएको थियो । ‘बहुमाराबाट हिंडिसकेको पाए पछि राजमार्गका ठाउँ ठाउँमा चेकजाँच गर्दा दमौलीबाट पक्रेका हौं,’ उनले भने ।


परिवारले छोटो समयमै प्रहरीले तदारुकता देखाएको भन्दै प्रशंसा गरेको छ । ‘मौखिक जाहेरीका भरमा छोटो समयमा प्रहरीले सफलता पाएको छ,’ बालकका हजुरबुबा त्रिभुवन श्रेष्ठले भने,‘हामी निकै खुशी छौं ।’


परिचित थिइन् महिला
पक्राउ परेकी महिलाले आफ्नो छोरासँग भेटाउन बालकलाई लगेको भने पनि उनका व्यवहारले घटना अपहरणजस्तै देखिएको भन्दै परिवारले अपहरण उद्योगमा जाहेरी दिने तयारी गरेको छ । अधिवक्तासमेत रहेका श्रेष्ठले भने,‘प्रहरीले पनि अनुसन्धान गरिरहेको छ । प्रकृति हेर्दा अपहरण नै देखिएकाले जाहेरी दर्ता गर्दैछौं ।’


घरमा खेलिरहेका दिप्सनलाई चिज बल्स दिएर परियारले आफैंसँग लगेकी थिइन् । यस अघि पनि आइरहने भए पनि परिवारलाई थाहै नदिइकन लगेकाले बालकका आफन्तले अपहरण भएको आशंका गर्दै खोजिमा सघाईदिन प्रहरीमा मौखिक निवेदन दिएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्