समानुपातिक सिफारिसमा पौडेलको चुनावी हिसाबकिताब हावी, क्षेत्र १ कै व्यक्ति प्राथमिकतामा

  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेसले समानुपातिकको बन्द सूची सच्याउँदा केही उम्मेदवार अप्रत्यासित रुपमा थपिएका छन् भने सूचीमा रहेका केही हटेका छन् ।


यस आधारमा तनहुँ क्षेत्र नम्बर १ का सभापति श्याम मौरति दलिततर्फको प्रदेशको समानुपातिक सूचीमा पहिलो स्थानमा पुगेका छन् । यस अघि नाम नपरे पनि उनको नाम अन्तिम समयमा थपिएको थियो ।
खस आर्यको सूचीमा प्रदेशतर्फ दोश्रो नम्बरमा रहेका केन्द्रीय सदस्य ध्रुव वाग्ले कायमै रहँदा जनजातितर्फ अशोककुमार श्रेष्ठको क्रम भने केही तल छ ।


यसैगरी, प्रदेशको सूचीमा यसअघि नै कायम खस आर्यतर्फकी महिला उम्मेदवार चिनु पोख्रेल यस अघिकै क्रममा कायम रहिन् भने जनजातितर्फ यस अघि नाम परेका कर्णबहादुर गुरुंग सूचीबाट हटे ।
यस आधारमा तनहुँ क्षेत्र १ बाट समानुपातिक हिसाबबाट प्रदेश सभासद बन्नेमा क्षेत्रीय सभापति मौरतीको करिब निश्चित बनेको छ । उनीसँगै खस आर्य महिला पोख्रेलको पनि सम्भावना अधिक रहेको जानकार बताउँछन् । जनजातिबाट सिफारिस श्रेष्ठको सम्भावना रहे पनि समानुपातिकमा कांग्रेसले धेरै मत पाउन नसकेमा उनका लागि केही जोखिम रहन्छ ।


रातभर बैठक बसेर बिहान अबेर नाम टुंगो लगाउँदा कांग्रेस वरिष्ठ नेता पौडेलकै निर्णय हावी भयो । उनले प्राथमिकतामा पारेका व्यक्तिहरु सभासद बन्ने सम्भावना बढी रहँदा पौडेलले आफ्नो चुनावलाई हेरेर उनले निर्णय गरेको जानकार बताउँछन् । ‘पौडेल दाईले आफूलाई चुनाव जित्न र अभियान सञ्चालन गर्न सहज हुने गरी नाममा निर्णय लिनुभएको छ,’ निकट एक नेताले भने, ‘अरु कुरालाई प्राथमिकता राखेको देखिन्न ।’


क्षेत्र १ बाट मात्र धेरै नाम पर्नुलाई उनले आधारका रुपमा प्रस्तुत गरे । यस अघि सूचीमा नपरेका मौरतिको नाम पहिलो नम्बरमा दलिततर्फ पार्नुमा पनि पौडेलको त्यही स्वार्थले काम गरेको देखिएको छ । मौरतिको सहयोगमा चुनावी अभियान सञ्चालन र आफ्नो कमजोर रहेको भानु क्षेत्रबाट बढी मत तान्ने रणनीति उनीमा रहेको देखिन्छ । महिला पर्ने अधिक सम्भावनामा पोख्रेललाई प्राथमिकता दिएर अघि राख्नुमा पनि आफ्ना प्रतिष्पर्धी गोविन्दराज जोशी समुहबाट मत तान्ने गरी समूहकी पूर्व नेतृबाट अपेक्षाका रुपमा हेरिएको छ ।


तर, जनजातिमा नाम रहे पनि आफूनिकट रहँदै आएका नेता अशोककुमार श्रेष्ठको वरियता माथि पार्न भने पौडेलले सकेनन् । यसले उनले आफूलाई खतरा रहने व्यक्तिलाई बढी प्राथमिकता दिएकाले यसलाई चुनावी जित निकाल्ने हिसाबका रुपमा अथ्र्याइउको छ ।


आलेले पाएनन्
लामो समय आफैंनिकट रहे पनि वरिष्ठ नेता पौडेलले समानुपातिकमा जिल्लाबाट सिफारिस भएका जिल्ला सभापति जीतप्रकाश आलेलाई समानुपातिकमा सिफारिस गराउन सकेनन् । तनहुँको सबै टिकटबारे निर्णायक भूमिकामा रहेका पौडेलले आलेको नाम सूचीमा अटाउन नसक्नुलाई उनले क्षेत्र २ लाई बेवास्ता गरेको रुपमा पनि लिइएको छ ।

आधिकारिक रुपमा आफूइतर समूहबाट उम्मेदवार बनेर सभापति बनेका कारण पनि आले पौडेलको प्राथमिकतामा नपरेको हुन सक्ने जानकार बताउँछन् । ‘तर यसले आफू लामो समय जित्दै आएको क्षेत्रलाई पौडेलदाईले बेवास्ता गरेको देखियो,’ आलेनिकट एक नेताले भने ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी