गुणादीको खानेपानीबारे पौडेलको अभिव्यक्तिले सिर्जित विवादको नालीबेली

  • ख-
  • ख+

दमौलीः दमौलीको बस्ती आधुनिक बनेसँगै गुणादीको पानीले यहाँको प्यास मेट्दै आएको छ । तर, त्यही पानी दिंदै आएका गुणादीवासीको भावनामा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले दिएको एक अभिव्यक्तिले ठेस पुर्याएको छ । विवाद यति चर्कियो कि उनीहरुले शनिबार पानी नै बन्द गर्ने घोषणा गरे ।


खासमा पौडेलले दमौलीमा आयोजित कांग्रेसको कार्यक्रममा मादीबाट पानी आएपछि दमौलीमा रोगको त्रास नरहेको भन्दै त्योभन्दा अघि गुणादीको चुन्याहा पानी खानुपर्ने अवस्था अन्त्य भएको बताएका थिए । रोगी भैसकेको दमौलीवासीका लागि आफ्नै सक्रियतामा अन्य जिल्लाको उदाहरण हेरेर मादीको पानी ल्याएपछि बजार रोगमुक्त भएको उनको तर्क थियो ।
यो विषयको भिडियो सार्वजनिक भए पछि सामाजिक सञ्जालमा खासगरी गुणादीवासीले दुःखसँगै आलोचना व्यक्त गरिरहेका छन् ।


उनले अहिले मादीको पानी लिफ्ट गरेर दमौलीवासीलाई वितरण गर्न थालेसँगै स्वस्थ खानेपानीको व्यवस्था मिलेको दाबी गर्दै दमौलीवासीलाइ निरोगी राख्न सफल भएको जिकिर गरेका थिए ।

मुहान बन्द
यसैको विरोधमा गुणादीका युवाहरूले दमौली लैजाने गरेको पानी मुहानबाटै बन्द गरिदिएका हुन् । युवाहरुले पौडेलले माफी नमागेसम्म पानी नखोल्ने अडान लिएका छन् । दमौलीवासीले विगत ३ दशक देखि गुणादीबाटै लगेको पानी खाँदै गरेको अवगत गराउँदै पौडेलको अभिव्यक्तिले गुणादीवासीको भावनामा चोट पुगेको बताएका छन् ।


आफ्नो खेत सुख्खा राखि काकाकुल रहेको दमौली बजारलाई पानी खुवाउँदा धन्यवाद पाइएला भन्दा उल्टै लान्छना लाउने काम भएको स्थानीय अगुवा युवा अनिल अधिकारीले बताए । गुणादी र यश वरपर नै खानेपानीको असुविधा छ तर हुँदाहुँदै पनि पानी दमौली लाने कार्यलाई निरन्तरता दिएका थियौं तर देशकै नेता भनाउदाले गुणादी बासिकै अपमान हुने गरि अभिव्यक्ति दिएकाले बाध्य भएर खानेपानी मुहान बन्द गरेका छौँ अधिकारीले भने । उनले खानेपानी बन्द गरिँदा दमौलीवासीलाइ पर्न जाने असुविधाप्रति क्षमा माग्दै पौडेलले यथासिघ्र गुणादी आएर माफी माग्नुपर्ने बताएका छन् ।


अभिव्यक्तिको गलत अर्थ लगाइयोः कांग्रेस
घटनामा पौडेलले माफी माग्नुपर्ने भन्दै सामाजिक सञ्जालमा विरोध भए पछि कांग्रेसले विज्ञप्ति निकालेर अभिव्यक्तिलाई गलत रुपमा अथ्र्याइएको भनेको छ । पार्टी जिल्ला सचिव लक्ष्मीभक्त खनालद्वारा जारी विज्ञप्तिमा गुणादीको पानी चुन्याहा र अपर्याप्त भएकाले त्यसको बदलामा मादी नदीको स्वच्छ पानीको योजना बनाउने कार्यमा पार्टीको सहयोग रहेको बताएको उल्लेख छ ।

चुनावको मुखैमा अभिव्यक्तिका कारण वरिष्ठ नेता पौडेललाई नमुछिनुपर्ने विवादमा धकेलेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी