चुनाव नलड्न केन्द्रीय नेताको सुझावकाबीच तनहुँबाट जितेरै छाड्ने पौडेलको इच्छाले ल्याएको तरंग

  • ख-
  • ख+

दमौली : तनहुँ क्षेत्र नम्बर १ बाट हारेको चुनाव जितेरै छाड्ने इच्छा रहेको बताएसँगै जिल्ला दौडाहामा रहेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको भनाइले फेरि एउटा तरंग ल्याएको छ । यस अघि हारेका र कतिपयले अझै पनि जोखिम देखेको पुरानो क्षेत्रबाट प्रत्यक्ष चुनाव लड्न उनी दृढ देखिएको उनका अभिव्यक्ति आउनुअघि नै बाक्लिएको दौडधुपले बताउँछ ।

सत्तारुढ गठबन्धनको उच्चस्तरीय समितिका सदस्य भएकाले टिकट बाँडफाँटमा आफ्नो निर्णायक भूमिका हुने ठानेका पौडेललाई जित्न भने सहज नभएको भन्दै तनहुँबाटै प्रतिनिधित्व गर्ने धेरै केन्द्रीय सदस्यले चुनाव नलड्न सुझाव दिएका थिए ।


तर, प्रधानमन्त्री बन्ने आफ्नो चाहनाका लागि प्रत्यक्ष चुनाव जित्नैपर्ने ठानेका पौडेलले आफ्नो पुरानै क्षेत्रलाई रोज्ने सार्वजनिक घोषणा गरेबाट यसले पौडेलले पुनः अवस्था खास नबदलिएको बरु प्रतिकुल देखिएको समयमा आगोमा हाम फाल्न खोजेको टिप्पणी पनि भएको छ । भलै पौडेलले आकांक्षीहरुको व्यवस्थापन गरेरै चुनावमा जाने बताए पनि सुत्र भने खोलेका छैनन् ।


उनकै क्षेत्रबाट केन्द्रीय सदस्य गोविन्द भट्टराई, शंकर भण्डारी पनि आकांक्षी छन् । यस अघि एमालेबाट चुनाव जितेका कृष्णकुमार श्रेष्ठको अहिलेको पार्टी नेकपा एस्ले पनि सार्वजनिक रुपमा विगतमा जितेका आधारमा टिकट मागे पनि शीर्ष नेताका हैसियतमा त्यसलाई व्यवस्थापन गर्न सके पनि पौडेलले आफ्नै पार्टीका आकांक्षी अनि चिर प्रतिद्वन्द्वी कांग्रेसका पूर्व सह महामन्त्री गोविन्दराज जोशीको बढ्दो शक्तिबीच कसरी व्यवस्थापन गर्छन् भन्ने चुनौती पनि छ ।


हुन त उनीसामु सत्तारुढ गठबन्धनको भोटका आधारमा जोशी समूह र एमालेको तालमेलसँग लड्न सकिने हिसाबकिताब त होला तर पार्टीभित्रकै असन्तुष्टि चुलिरहेका बेला विश्वासमा नलिइकन अघि बढ्ने कदम भने प्रत्युत्पादक पनि हुन सक्ने जानकार बताउँछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी