विकटलाई निकट बनाउने ‘राजेन्द्र सपना’

  • ख-
  • ख+

पवन पौडेल दमौली । तनहुँको कछार भनेर चिनिने ऋषिङले अहिले विकासमा फड्को मार्ने सपना पालेको छ । तनहुँको विकट अनि कर्णालीसमेत भनेर चिनिने ऋषिङ क्षेत्र अब आफ्नो परिचय फेर्ने दौडमा लागेको छ । र, त्यसका नाइके बनेका छन्, राजेन्द्रकृष्ण श्रेष्ठ ।   पारिवारिक हिसाबले नै राजनीतिक रगत बोकेका श्रेष्ठ अहिले कांग्रेसका तर्फबाट निर्वाचित गाउँपालिका अध्यक्ष हुन् ।  ५० को वसन्तमा प्रवेश गर्न लागेका श्रेष्ठ आफ्नो युवा जोश, राजनीतिक अनुभव र सुझबुझ सबैलाई प्रयोग गरेर ऋषिङको परिचय फेर्ने अभियानमा लागेका छन् । 

  विकासका पूर्वाधार कम भएको, मानव विकास सूचकांक कमजोर, शिक्षाको कमजोर अवस्था र सडकको कमजोर अवस्थाजस्ता चुनौतीलाई सामना गर्न अघि सरेका यी राजनीतिकर्मीको नेतृत्व अहिले ऋषिङको परिचय बदल्ने सपना बोकेर हिंडेको छ ।   यसमा एक वर्षे यात्रा थालिसकेका श्रेष्ठ भन्छन्,‘अझ धेरै गर्न बाँकी छ ।’पहिलो बजेटमा पूर्वाधारका आधार खडा गर्ने प्रयास गरेका श्रेष्ठले विकासका समस्याको पहिचान गरी बजेट विनियोजन गर्ने प्रयास गरे । जिल्लाको दक्षिणी भाग अझै पनि विद्युतको सहज पहुँचमा पुगिसकेको छैन ।  

यसैलाई लक्षित गरेर एक करोड बजेट गाउँपालिकाले विनिवयोजन ग¥यो । बाटाघाटाको मजबुद सञ्जालको अभाव ऋषिङका सामु अर्को चुनौती हो । श्रृंगपथको कथा त सबैलाई थाहा छँदैछ ।  तत्कालीन जिविसले ठेक्का लगाएको श्रृंगपथबाहेकका भागमा गाउँपालिकाले कालोपत्रेसमेत थालेको छ ।   कुनै बेला बाटो पुग्ने परिकल्पनासमेत गर्न कठिन ऋषिङमा कालोपत्रेसम्मको अभियान थालिएपछि यसले गाउँवासीलाई केही आशा जगाइदिएको छ । र, त्यसैका सूत्रधार हुन्, राजेन्द्रकृष्ण । उनकै नेतृत्वमा गाउँपालिकाका ढाक्रेखोलामा मोटरेबल पुलको काम शुरु भएको छ ।  

पाँच करोड लागतको पुल बने पछि गाउँपालिकाको यातायातमा अर्को फड्को हुने जानकारहरु बताउँछन् । आर्थिक वर्ष ०७४÷०७५ को बजेटले यसका अतिरिक्त वडा कार्यालयहरुको आफ्नै भवन निर्माणमा पनि जोड दिएको छ । यसका लागि बजेटसमेतको व्यवस्था गरिएको छ ।   प्राविधिकको समस्याका कारण योजनाको प्रमाणीकरण, अनुगमनलगायतका काम हुन नसक्दा परेको जटिलतालाई अन्त्य गर्न गाउँपालिकाले आफ्नै श्रोतमा तीन प्राविधिक नियुक्त गरेर विकासे योजनाको मूल्यांकन र कार्यान्वयनको प्रक्रिया अघि बढाएको छ ।  

सामाजिक विकासका लागि क्षमता विकासका तालिम र संस्कृतिकै कारण चिनिएको ऋषिङको पहिचान जोगाउन विशेष जोड गाउँपालिकाले दिएको छ । गाउँपालिकाले आधारभूत विकासका पूर्वाधार विकास गरेर गाउँवासीलाई आफ्नै ठाउँमा बसौं बसौं बनाउने नीति लिएको छ ।   निकै आशावादी बनेका श्रेष्ठ भन्छन्,‘हाम्रो सपना सबैको मनलाई गाउँमै टिकाउने हो । र यसको थालनी भैसकेको छ ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी