‘सभापतिमा देउवा अगाडि, इतर पक्ष नमिले पहिलो चरणमै नतिजा’

  • ख-
  • ख+

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा १४ औं महाधिवेशनको सभापति पदको होडमा अगाडि देखिएका छन् । कांग्रेस महाधिवेशनका सन्दर्भमा गरिएको एक सर्वेक्षणले देउवालाई अगाडि देखाएको हो । 

कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आगामी केन्द्रीय कार्यसमिति चयनका लागि चुनिएका महाधिवेशन प्रतिनिधिहरूबीच गरिएको सर्वेक्षणमा देउवाको पक्षमा बढी मत देखिएको छ ।  

कांग्रेस महाधिवेशनको मुखैमा गरिएको सर्वेक्षणले देउवाको पक्षमा अन्य दावेदार उम्मेदवारहरुको पक्षमा भन्दा बढी मत देखिएको हो । सभापतिका सबै आकांक्षीहरुबीच देउवा अगाडि देखिए पनि संस्थापन इतरका सबै एक ठाउँमा आएको अवस्थामा देउवा पछाडि परेको सर्वेक्षणले देखाएको छ ।  

महाधिवेशन प्रतिनिधि बन्ने क्रममा जिल्लाहरुमा गृुटगत प्रतिनिधित्व गर्दैै आएका महाधिवेशन प्रतिनिधिले समेत केन्द्रीय महाधिवेशनसम्म आइपुग्दा आफ्नो धारणा बदल्न सक्ने संकेतसमेत सर्वेक्षणले देखाएको छ । 

सभापतिका कुन उम्मेदवारलाई मत दिने भनी भन्न नचाहनेको संख्या मत दिन्छु भन्ने भन्दा बढी भएकाले उक्त मत निर्णायक हुने देखिएको छ ।  

त्यतिमात्र हैन थाहा छैन र अन्यको नाममासमेत गणनायोग्य प्रतिशत मत गएसँगै चुनावी भिडन्त थप रोचक बन्ने देखिन्छ । तर यो सर्वेक्षणको परिणामअनुसार संस्थापन इतर पक्ष एकजुट हुने हो भने परिणाम यसै भन्न सक्ने अवस्था नहुन सक्छ । 

यदि इतर पक्ष पनि टुक्रिने हो र इतरबाटै एक भन्दा बढी उम्मेदवार खडा हुने हो भने मतदान दोस्रो चरणमा पनि नपुगी पहिलो चरणबाटै निर्णायक बन्नेसमेत सर्वेक्षणले देखाएको छ । 

पुन देउवा नै रोजाइ
र्‍याण्डम विधिबाट छानिएका ९१४ प्रतिनिधिहरूलाई यो सर्वेक्षणमा प्रश्न सोधिएकामा २०.६ प्रतिशतले देउवालाई नै पुनः सभापति बन्ने बताएका हुन् । दोस्रो स्थानमा डा. शेखर कोइराला रहेका छन् । उनले १३.६ प्रतिशत मत पाएका छन् । 

तेस्रो स्थानमा रामचन्द्र पौडेल रहेका छन् । उनले ३.६ प्रतिशत मत प्राप्त गरेका छन् । चौथो स्थानमा प्रकाशमान सिंह रहेका छन् । उनले ३.४ प्रतिशत मत प्राप्त गरेका छन् । 

पाँचौं स्थानमा डा. शशांक कोइराला रहेका छन् । उनले २.३ प्रतिशत मत पाएका छन् । विमलेन्द्र निधीले ०.९ प्रतिशत मत पाएका छन् । 

महाधिवेशन प्रतिनिधिले सुजाता कोइराला र कल्याण गुरुङलाई समान ०.१ प्रतिशत मत दिएका छन् । 

यो सर्वेक्षणमा सबैभन्दा रोचक त के छ भने ३८.८ प्रतिशत प्रतिनिधिले व्यक्ति तोक्न चाहेनन् । मतलब भन्न चाहेनन् । अर्थात् यो संख्या नै सभापतिको उम्मेदवारलाई जिताउने निर्णायक संख्या हुने देखिन्छ ।  

कता जान्छन् ३२ प्रतिशत मत ? 
सर्वेक्षणको अर्को नतिजाअनुसार प्यानल बाहेक अन्त मत नहाल्नेको संख्या १६.८ प्रतिशत रहेको छ । त्यस्तै प्यानलमा मात्र मत नहाली फरक फरक प्यानलमा मत हाल्छु भन्नेको संख्या ५०.७ प्रतिशत रहेको छ । 

निर्वाचनको वातावरण हेरेर मत हाल्नेहरुको संख्या ३२ प्रतिशत रहेको छ । थाहा छैन भन्नेहरु ०.२ प्रतिशत र भन्न चाहन्न भन्नेहरुको संख्या ०.१ प्रतिशत रहेको छ । 

तुलना गर्ने हो भने सभापतिलाई मत हाल्ने प्रश्नमा भन्न नचाहने संख्या ३८.८ प्रतिशत रहेको छ भने निर्वाचनको वातावरण हेरेर मत हाल्ने संख्या ३२ प्रतिशत रहेको छ । 

केही प्रतिशतले तलमाथि परे पनि यो संख्या भने निकै बलियो छ । यो संख्या निर्वाचनको वातावरण हेर्न खोजिरहेको छ । कुनै पनि विषयबाट प्रभावित हुन सक्ने देखिन्छ । धार स्पष्ट नभएकाहरुको मत बाँडिने निश्चित छ । यो नै निर्णायक पनि हुन सक्छ । 

कसरी प्रभावित हुन सक्छन् प्रतिनिधिहरु ? 
सर्वेक्षणअनुसार विभिन्न आधारमा त्यो प्रतिशत बाँडिन सक्छ । महाधिवेशनमा कुन कुराले धेरै प्रभावित हुन सक्छ ? भनेर पनि प्रतिनिधिहरुलाई प्रश्न गरिएको थियो । जसमा व्यक्तित्व हेरेर मत दिनेको संख्या १८.६ प्रतिशत रहेको छ । उम्मेदवारको लोकप्रियतामा १८.५ प्रतिशत रहेको छ । 

त्यस्तै पैसाको चलखेलमा मत दिनेको संख्या १५ प्रतिशत रहेको छ । उम्मेदवारको राजनीतिक एजेण्डालाई आधार बनाएर ८.४ प्रतिशतले मत दिने बताएका छन् । त्यस्तै नातागोतामा ८.४ प्रतिशत मन पर्न सक्ने सर्वेक्षणले देखाएको छ । 

(यो सर्वेक्षण हाम्रा कुरा डटकम सञ्चालन गर्दै आएको कम्पनी ईआईसीटी नेपालले शेयरकाष्ट इनिशियटिभ नेपालसँगको सहकार्यमा गरेको हो । सर्वेक्षणका लागि सम्भाव्यता छनोट विधिबाट प्रतिनिधिको छनोट गरिएकाले गर्दा सात वटै प्रदेशका सबै जिल्लाबाट निर्वाचित महाधिवेशन प्रतिनिधिहरू अन्तर्वार्ताका लागि छनोटमा पर्ने उत्तिकै सम्भावना रहेको थियो ।

यद्यपि कुनै जिल्लाका केही निर्वाचन क्षेत्रहरूमा यो सर्वेक्षण शुरु हुँदासम्म महाधिवेशन प्रतिनिधि चयन नभइसकेकाले सातवटै प्रदेश र काठमाडौं उपत्यका गरी ७७ मध्ये ७० जिल्लाहरूमा मात्र सर्वेक्षण गरिएको हो । 

छनोटमा परेका महाधिवेशन प्रतिनिधिहरूलाई नै व्यक्तिगत तवरमा अन्तर्वार्ताका लागि टेलिफोन गरिएको थियो । यसमा वर्तमान केन्द्रीय कार्यसमितिमा रहेर स्वतः महाधिवेशन प्रतिनिधि हुन पाउने व्यक्ति, जिल्ला पार्टी सभापति, भ्रातृ, शुभेच्छुक तथा जनसम्पर्क समितिबाट प्रतिनिधि बनेर आउने प्रतिनिधिहरूलाई भने सहभागी गराइएको थिएन ।)

-हाम्रा कुरा

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्