व्यवस्था, व्यवस्थापन वा व्यवस्थापक ! के गलत हो , को गलत हो हाम्रोमा ?

  • ख-
  • ख+

हुतमणि अधिकारी

हाम्रो राजनीति सधैंभर किन अस्थिर , किन अस्तव्यस्त भइराख्छ ? समाज किन यति विघ्न बेफिक्री र बिश्रृङ्खल देखिन्छ ? राजनीतिक आन्दोलनमा बारम्बार जनताको साथ र जितमा महारथ पछि पनि हामी किन असफल ठहरिँदै गएका छौँ ? छयालीस पछि नै सही , समय त लामै बित्यो , सदुपयोग हुन सकेन, दोष अन्यत्र लगाए पनि ! बहुदल , प्रजातन्त्र, गणतन्त्र खेलाएको जुग बिति सक्यो , आशै आशमा सास गई सक्यो धेरैको र पनि हाम्रो लोकतन्त्रले परिणाम दिन सकिरहेको छैन । बडा चिन्ताको बिषय छ ।

जता पनि आफ्नो राख्नुपर्ने , जे मा पनि आफ्नै छान्नु पर्ने । आफ्नाले गरे जे पनि राम्रो , गल्ती नै पनि ढाकछोप गर्ने , अयोग्यता असक्षमतामा आँखा चिम्म पार्ने , अनि परिणाम उपलब्धि जस्तो आए पनि चित्त बुझाइ बस्नुपर्ने , हाम्रो निधार उस्तै , भाबीले लेखेको यस्तै !
भगवानको कृपा ठान्दै भाग्य माथि बिस्वास गर्दै खुम्चिएर हाँस्नुपर्ने । छैन त गज्जब !

सही मान्छेलाई सही जिम्मेवारीको नीति देखाउने होइन टोक्ने दाँत कहिले बन्छ होला ? योग्यता , क्षमताको सही मुल्यांकन र कदरको थिति कहिले बस्छ होला ? शक्ति र शक्तिशालीको भजन र भक्ति कहिले छुट्छ होला ?

लोकतान्त्रिक शासन व्यवस्था , लोकतान्त्रिक समाज व्यवस्थाका आधार, मुल्य , मान्यता नाङ्गो देख्दा देख्नेलाइ लागेको लाज , लाज पचाएका निर्लज्ज लफङ्गाहरुलाइ नलाग्ने रहेछ।

नागरिक वा जनताको सेवाका लागि व्यवस्था गरिएका सरकारी पद र ओहोदामा बस्ने , सार्वजनिक पदधारण गर्ने र अहिलेको समयमा पार्टीको नाममा राजनीति गर्नेहरुको दिनचर्या कस्तो छ , तिनको र तिनका परिवार आफन्तको हिजो र आजको जीवनशैली कस्तो छ, बसाउठी सम्पर्क को संग छ , तिनको काम गराइ (कार्य सम्पादन ) र सेवा प्रवाहमा
समानता , निष्पक्षता, पारदर्शिता ,
स्वच्छता , इमानदारिता , जवाफदेहिता

नैतिकता , सच्चरित्रता , बिनम्रता झल्किन्छ कि झल्किन्न, देखिन्छ कि देखिन्न यो महत्त्वपूर्ण कुरा हो र हुनुपर्छ । यसलाइ सार्वजनिक चासो , सरोकार र छलफलको बिषय बनाइ सेवाग्राही प्रति कानुनी रुपले नै उत्तरदायी र जवाफदेही बनाउन सके बेथिति , भ्रष्टाचार नियन्त्रण गर्न , सुशासन कायम गर्न सघाउ पुग्थ्यो होला ।

तर आफैलाइ बाँध्ने नीति बनाउन , थिति बसाउन कोही अघि सर्दैनन् । अहिलेसम्म देखिएको , भोगिएको यही छ । हाम्रोमा छोटै समयमा पनि राजनीतिक सत्ता , राजनीतिक व्यवस्था पटकपटक बदलियो । शाशन र शाशकीय परिस्थिति पटकपटक फेरियो , पटकपटक पात्र फेरिए तर प्रवृत्ति बदलिएको नेपाली जनताले खासै अनुभव गर्न पाएका छैनन्, तात्विक अन्तरको भेउ फेला पार्न सकेका छैनन् ।

कहाँ नेर गल्ती भइरहेको छ , कहाँ नेर चुक भइरहेको छ , खोजी र अनुसन्धानको विषय छ । चिन्नै पर्ने , जान्नै पर्ने भएको छ । सारा नेपाली एकजुट भएर फ्याँक्नै पर्ने, ङ्याक्नै पर्ने भएको छ र जवाफ खोज्नैपर्ने भएको छ– व्यवस्था , व्यवस्थापन , व्यवस्थापक मध्ये के गलत हो ? को गलत हो ? हाम्रो देशमा !

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी