विद्युत प्राधिकरणको लापरवाहीः पाँच दिनदेखि म्याग्दे अँध्यारो

  • ख-
  • ख+

दमौलीः म्याग्दे गाउँपालिका क्षेत्रमा पाँच दिनदेखि विद्युत आपूर्ति अवरुद्ध भएको छ ।
नेपाल विद्युत प्राधिकरण तनहँु शाखाको लापरबाहीका कारण अवरुद्ध विद्युत अझैसम्म नियमित हुन नसकेको तनहुँ उद्योग वाणिज्य संघ थर्पू बजार एकाईका सभापति भीमलाल श्रेष्ठले जानकारी दिए ।

लामो समयसम्म विद्युत नियमित हुन नसकेका कारण छाङ–मनपाङ–जामुने क्षेत्रका नागरिक समस्यामा परेको भन्दै उनले विरोधमा उत्रन लागिएको बताए ।

म्याग्दे बडहरेका स्थानीय युवा सुजन श्रेष्ठले आफूहरुको काम पूर्ण प्रभावित भए पनि मर्मत नहुँदा गर्मीमा कठिनाई भएको गुनासो गरे । घरदेखि नै काम गर्दै आएका श्रेष्ठले विद्युत नआउँदा कार्यालयको काम गर्न समस्या भएर पटक पटक गुनासो गरे पनि समाधान नभएको बताए ।

नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले भने विभिन्न स्थानमा मर्मतका लागि प्राविधिक खटाइएको भन्दै आईतबार ईञ्जिनियर खटाउने बताएको छ । म्याग्देका स्थानीय नागरिक समाजको नेतृत्वमा डेलिगेशन जाने तयारी गरेका छन् ।

समस्या आएको ठाउँ नै पत्ता लाग्न नसक्दा कठिनाइ आएको प्राविधिकहरुले बताएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी