गाउँपालिकाका अध्यक्ष, जो आफैं बिरामी जाँच्छन्, अस्पताल पु¥याउँछन्

  • ख-
  • ख+

पवन पौडेल
दमौलीः
विहानको पाँच नबज्दै बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाको फोन बज्यो । नचिनेको नम्बर भए पनि उनले बिहानै आएको त्यो फोन उठाइहाले । कोरोनाको लक्षण देखिएकाले परीक्षणका लागि अस्पताल ल्याउनुपर्ने बिरामीलाई अस्पताल लैजान एम्बुलेन्स नै तयार नभए पछि उनलाई फोन गरिएको रहेछ । यो पोहोर सालको घटना थियो, जतिखेर कोरोना संक्रमण भर्खर फैलँदो अवस्थामा थियो ।


‘बिरामीलाई घरमा राख्नु पनि भएन । फेरि त्योबेला होम आईसोलेसनको व्यवस्था पनि थिएन,’ थापा त्यो दिन सम्झन्छन्,‘अब बिरामीलाई त्यत्तिकै छाड्ने कुरा पनि भएन । अनि आफैं गाडि लिएर बिरामी ल्याएँ ।’ थापाले गाउँपालिकाको सवारी चलाउँदा अरु डराउने ठान्दै आफ्नै निजी सवारीमा बिरामीलाई अस्पताल लगे ।

‘गाउँपालिकाको एम्बुलेन्स स्वाब बोकेर पोखरा गएको थियो,’ उनले भने,‘एक संक्रमितलाई गाह्रो भएकाले अस्पताल लैजानुपर्ने खबर आयो । धेरैतिर फोन गर्दा पनि एम्बुलेन्स नपाएपछि आफैं गाडि लिएर पुगें ।’


यो त एउटा घटना मात्र थियो । गाउँपालिका अध्यक्ष थापासँग कोरोना संक्रमण शुरु हुन थालेदेखि यसरी बिरामी बोकेका कैयौं उदाहरण सम्झनामा छन् । केही दिन अघि पनि त्यस्तै भयो । ‘गाउँपालिकाको एम्बुलेन्स स्वाब बोकेर पोखरा गएको थियो,’ उनले भने,‘एक संक्रमितलाई गाह्रो भएकाले अस्पताल लैजानुपर्ने खबर आयो । धेरैतिर फोन गर्दा पनि एम्बुलेन्स नपाएपछि आफैं गाडि लिएर पुगें ।’ उनले आफ्नै निजी साधनमा बन्दीपुर ४ भैसेंखारबाट एक किलोमिटरको दूरीमा रहेको ठाउँबाट लगेका बिरामीलाई बन्दीपुर अस्पतालको कोभिड वार्डमा भर्ना गरेर उपचार भैरहेको छ ।


‘सिधै मैलाई फोन आउँछ’
‘गाउँपालिकामा अरु जनप्रतिनिधि पनि हुनुहुन्छ ,’ उनी भन्छन्,‘तर फोन मैलाई आउँछ ।’ नागरिकसँग बढी नजिकको सम्बन्ध भएकाले पनि यसो हुन सक्ने उनले बताए । ‘सायद ममाथि विश्वास बढी भएर पो हो कि ?’ आफूलाई जतिखेरै फोन आए पनि सम्भव हुँदासम्म उठाउने र रेस्पोन्स दिने गरेकाले अरुले पनि फोन गर्ने गरेको उनको अनुभव छ ।

आफैं जाँच्छन् बिरामी
नेपालमा आफैं बिरामी जाँच्ने जनप्रतिनिधि कमै होलान् । तर थापा भने धेरैसो बिरामीको जाँच आफैं गर्छन् । ‘अहिलेसम्म तीन सय बढी बिरामीको जाँच गरे हुँला,’ उनी भन्छन्,‘अहिले पनि दिनहुँ त्यस्ता बिरामी जाँच्नुपर्छ ।’


गाउँपालिका अध्यक्ष हुनुअघि थापा बन्दीपुर क्षेत्रका चर्चित स्वास्थ्य व्यवसायी थिए । उनको स्वामित्वमा रहेको मोति पोलिक्लिनिक अत्यधिक बिरामी जाँच्नेमा पर्छ । तर अहेबसम्मको अध्ययन पुरा गरेका उनले पोलिक्लिनिक मात्र नभएर गाउँपालिकाको कामका बेला पनि बिरामी जाँचिदिने गर्छन्, अझ तिनमा संक्रमित वा संक्रमणको आशंका भएका बढी पर्छन् । ‘बिहान निजी क्लिनिकमा त व्यवसाय नै भयो,’ उनी भन्छन्,‘गाउँपालिकाको काममा जाँदा पनि धेरैको जाँच गर्नुपर्छ ।’


स्वास्थ्य व्यवसायीको उनको पहिचान त छँदै थियो, गाउँपालिका अध्यक्ष पनि भएकाले बिरामीले पनि उनकै विश्वास गर्छन् । ‘शायद यो मैले आर्जन गरेको सम्पत्ति हो,’ थापा भन्छन्,‘डाक्टर लिएर जाँदा पनि मैतिर बिरामी अघि सरे पछि मैले नजाँचि धर पनि भएन ।’

????????????????????????????????????


थापाबाट नै आइसोलेसनमा उपचार लिइरहेका एक संक्रमित सहजताका हिसाबले पनि अध्यक्षबाट उपचार लिएको बताउँछन् । ‘डाक्टरहरु जाँच्न पनि डराउँछन्,’ उनले भने,‘तर अध्यक्षले धक नमानी जाँचिदिंदा हामीलाई धेरै बिरामी निको भएको जस्तो हुन्छ ।’


संक्रमित भेट्न जाँदा घरमै उपचार
अध्यक्ष थापाले होम आईसोलेसनको अवधारणा शुरु गरेयता घरमै गएर बिरामीको अवस्था बुझ्न थालेका हुन् । ‘सबै संक्रमितको घरमा पुगेर औषधी भए नभएको बुुझ्ने गरेको छु,’ उनी भन्छन्,‘अनि आफैंले पनि ज्वरो नाप्ने र औषधी हेर्ने गरेको छु ।’

चिकित्सक साथमै लिएर गए पनि नागरिकप्रतिको जिम्मेवारी र उनीहरुको विश्वासका कारण आफैं अघि सर्ने उनले बताए । थापाको अनुभवमा यसरी आफैंले जाँचिदिंदा र हालखबर सोधिदिंदा धेरैको आत्मविश्वास बढ्ने गरेको छ । ‘त्यही भएर पनि म सकेसम्म सबैकहाँ जाने गरेको छु,’ उनले भने,‘कतिपयकोमा त दोहो¥याएर पनि गएको छु ।’


घरमा नौजना संक्रमित, आफू भने अरुको उपचारमा
थापाको बिरामी मोह परिवारभन्दा बढ्ता छ । अहिले उनको घरका नौजना सदस्य अहिले संक्रमित भएर आइसोलेसनमा छन् । तर यस्तो बेला उनी अरु संक्रमितको हालखबर सोध्दै हिंड्न व्यस्त देखिन्छन् ।

‘घरका त धेरै स्वास्थ्यकर्मी हुुनुहुन्छ,’ उनले भने,‘तर स्वास्थ्यकर्मी पुग्न नसकेका अनि आत्तिएको घरमा पुगेर ढाढस दिन पाउँदा शान्ति मिल्छ ।’ त्यसैले पनि उनी हरेक दिन होम आईसोलेसन तथा बन्दीपुर अस्पतालको कोभिड वार्डमा रहेका बिरामीकहाँ फलफूल अनि औषधी लिएर पुगिरहन्छन् ।


पीसीआर भन्दा भ्याक्सिनमा जोड लगाउनुपर्छ
स्वास्थ्यकर्मी समेत रहेर कोभिड व्यवस्थापनमा खटेको अनुभवका आधारमा थापाले बन्दीपुर अस्पतालको क्षमता विस्तारमा लागेका छन् । १५ शैय्याबाट ५० पु¥याउन उनले सोच बनाएका छन् । कोभिड वार्ड अहिले ३० पुगेकामा त्यसलाई पनि बढाउने उनको सोच छ ।


आफ्नो अनुभवका आधारमा थापा सरकारलाई पीसीआर जाँच्ने भन्दा भ्याक्सिनको आपूर्ति बढाउन जोड दिन्छन् । ‘पोहोरभन्दा झनै संक्रमण फैलिरहेको छ,’ उनी भन्छन्,‘पीसीआर जाँच्ने कुरामा श्रम लगाउनुभन्दा नागरिकलाई भ्याक्सिन दिनमा सरकारको ध्यान जाने हो भने क्षति र धन दुबै जोगिन्छ ।’

तर आफूहरुको सीमित अधिकार भएकाले सोचेजस्तो गरी भ्याक्सिन दिन नसकिएकोमा उनी ग्लानी महसुस् गर्छन् ।

(अन्नपूर्ण पोष्ट दैनिकबाट)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी