
दमौलीः नेपाली कांग्रेस तनहुँमा १४ हजार क्रियाशिल सदस्य रहने भएका छन् । पार्टीले जिल्लाका वडाहरुमार्फत आएका नाम केन्द्रमा पठाउने निर्णय गरेको हो ।
कार्यवाहक सभापति जीतप्रकाश आलेको सभापतित्वमा बसेको कार्य समिति बैठकले १४ हजार नयाँ क्रियाशिल सदस्य थप्ने निर्णय गरेको हो ।
बैठकले केही वडामा विवाद देखिएको भन्दै ती वडाको विषय पार्टी केन्द्रमा पठाउने निर्णय समेत गरेको कोषाध्यक्ष रेशम गुरुङले जानकारी दिए । उनका अनुसार शुक्लागण्डकी ८ मा ४५ जना र शुक्ला ११ मा एक जनाले सदस्यता नपाएको उजुरी दिए पछि दुवै उजुरी केन्द्रमा पठाउने निर्णय भएको छ ।
ती दुवै वडाको विवाद कार्यवाहक सभापति र दुई सचिव रहेको समितिले समाधान गर्न नसकेपछि केन्द्रमा पठाउने निर्णय भएको कोषाध्यक्ष गुरुङले बताए । तर पार्टी शुक्लागण्डकी ८ कार्य समितिले भने आफूहरुले लिन चाहने सबैलाई वितरण गरेको तर सदस्यता नै लिन नआएकाले उजुरी गरेको दाबी गरेको छ ।
यसैगरी, शुक्लागण्डकी १० मा समेत सदस्यता एक पक्षीय भएको भन्दै जिल्ला कार्य समितिमा उजुरी परेको छ । उजुरी जिल्ला समिति हुँदै केन्द्रीय कार्य समितिमा पठाइएको वडा उप सभापति प्रेम अर्यालले जानकारी दिए ।