तनहुँ हाईड्रोको जलाशययुक्त बाँधको निर्माण नेपाली कम्पनीले थाल्ने (भिडियोसहित)

  • ख-
  • ख+

पवन पौडेल

दमौली: छानिएको विदेशी ठेकेदारसँगको सम्झौता रद्द भएको करिब डेढ वर्ष पछि तनहुँ जलविद्युत आयोजनाको बाँधस्थल तथा जलाशय निर्माणका लागि नेपाली कम्पनीले काम थाल्ने प्रक्रिया अघि बढेको छ ।


मेलम्ची खानेपानी आयोजना निर्माण गरिरहेको ईटालीको सीएमसी कम्पनीले काम छाडेपछि देशकै दोश्रो ठूलो जलाशययुक्त एक सय ४० मेगावाट क्षमताको आयोजनाको निर्माण नेपाली कालिका र भियतनामी सोम्दा कर्पोरेशन कम्पनीको संयुक्त उपक्रमले काम थाल्न लागेको हो ।


‘कालिका सोम्दाको प्रस्ताव सस्तो र उत्कृष्ट’
यस अघि प्रस्तुत गरेको प्राविधिक प्रस्ताव छनोट भए पछि आर्थिक प्रस्ताव पेश गरेका भारतको एलएन्ड टी इण्डिया र नेपाली तथा भियतनामी सहकार्यको कालिका सोम्दा जेभीको प्रस्ताव मध्ये कम्पनीले कालिका सोम्दासँग सहकार्य गर्न स्विकृती दिएको छ ।


दातृ निकाय एसियाली विकास बैंकको स्विकृती पाए पछि तनहुँ हाइड्रोपावर कम्पनीले कालिका सोम्दालाई गत लेटर अफ एसेप्टेन्स (स्विकृतिको पत्र) दिएको छ । ‘हामीले लेटर अफ एसेप्टेन्स दिएका छौं,’ कम्पनीका प्रवन्ध सञ्चालक प्रदीपकुमार थिकेले भने,‘अब उसले कार्यसम्पादन जमानत लिएर आए पछि सम्झौता हुनेछ ।’


जलाशयसहितको संरचनाका लागि आयोजनाले इस्टिमेट १९ अर्ब ४० करोड लागत स्टिमेट गरेकामा कालिका सोम्दाको आर्थिक प्रस्ताव कम मूल्य र प्रभावकारी देखिएकाले उसैसँग सम्झौताका लागि आयोजनाले काम अघि बढाएको थिकेले बताए ।

कालिका सोम्दाले १६ अर्ब ६२ करोड रुपैयाँमा काम सक्ने प्रस्ताव गरेको छ । आयोजनाले उसलाई सम्झौताका लागि बोलाएको छ ।


२८ दिनभित्र सम्झौताको तयारी
‘अब २८ दिनभित्र कम्पनीबाट कार्यसम्पादन जमानत लिएर आए पछि सम्झौता हुनेछ,’ उनले भने । आयोजनाले मार्च सम्ममा काम थाल्ने लक्ष्य राखेको थिकेले बताए ।
यस अघि बाँधस्थल तथा जलाशय निर्माणका लागि कालिका सोम्दासँगै भारतको एलएण्डटी ईण्डिया र चिनियाँ लगानीको गेजुवाले प्रस्ताव गरेका थिए ।

गेजुवाको प्राविधिक प्रस्ताव नै अस्विकृत भएको थियो । प्राविधिक प्रस्ताव स्विकृत भए पछि आयोजनाले छनौटमा परेका कालिका सोम्दा र एलएण्डटी ईण्डियाको प्रस्तावको मूल्यांकन गरेको थियो । आयोजनाका अनुसार एलएण्डटी ईण्डियाले १८ अर्ब २६ करोड रुपैयाँको आर्थिक प्रस्ताव गरेको थियो ।


यस अघि आयोजनाको जलाशय निर्माणका लागि सम्झौता गरेर पनि सम्पर्कमा नआएको भन्दै सिएमसीसँगको ठेक्का सम्झौता रद्द गरिएको थियो ।

त्यसयता डेढ वर्षदेखि आयोजनाको विद्युतगृहको चिनियाँ सिनो हाइड्रो कम्पनीमार्फत काम सुस्त गतिमा अघि बढे पनि दुवै भागसँग सम्बन्ध राख्ने निर्माणका काम रोकिंदै आएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी