दबाब र प्रभावमुक्त भई नेतृत्व चयन गरौँ

  • ख-
  • ख+

हुतमणि अधिकारी
यतिबेला नेकपाको झगडा उत्कर्षमा रहेकोले राजनीतिका धेरै विषय ओझेलमा छन् । काङ्ग्रेस कलह र महाधिवेशनको चर्चाले समेत सन्चारमाध्यम र सामाजिक सञ्जालमा प्राथमिकता पाइरहेको छैन । सबैका आँखा र ध्यान नेकपाको दुई गुटबीच चलेको एकले अर्कोलाई सिध्याउने ‘दरबार युद्ध’तर्फ केन्द्रीत हुन पुगेको छ ।


नेपाली काङ्ग्रेसको आसन्न चौधौं महाधिवेशनमा केन्द्रीय सभापति मात्र होइन प्रदेश , जिल्ला , नगर , गाउँ ,वडा तथा टोल समितिमा समेत कस्ता व्यक्तिलाई सभापति बनाउन उपयुक्त हुन्छ भन्ने बारेमा छलफल गर्नु,छलफल चलाउने जरुरी बेला हो यो । वडा, गाउँ, नगर, प्रदेशसभा, क्षेत्र, प्रदेश हुँदै सबैभन्दा पछि सम्पन्न हुने केन्द्रीय अधिवेशन र केन्द्रीय सभापतिको उम्मेदवारबारे मात्र चासो चर्चा गरेको, समाचार विचार प्रवाह भएको देखिन्छ ।


अन्य तहका अधिवेशन , नेतृत्व बारे स्थानीय र जिल्ला तहमा पनि खासै चासो र चर्चा छैन , सबै केन्द्र तिर नै मुख ताकेर बसेका छन् । माथिका नेताले कसकसलाइ के के मन्त्रणा गर्ने हुन् , कसकसलाइ कहाँ कहाँ उपयुक्त ठह¥याउने हुन्, के के आदेश निर्देश हुने हो त्यसकै आधारमा धेरै कुरा तय हुने भएकाले जिल्ला र स्थानीय तहका नेता कार्यकर्ता ठूला र गुटका नेताको सिग्नल कुरेर बसेको प्रतीत हुन्छ ।

विधान र सिद्धान्तमा क्रियाशील सदस्य र पार्टी कार्यकर्ताले प्रतिनिधि र नेता छनोट गर्ने प्रावधान भए पनि व्यवहार र अभ्यासमा नेताले कार्यकर्ता र कार्यकर्ताले क्रियाशील सदस्य छनौट गर्ने परिपाटी बसेको छ। कतिपय ठाउँमा क्रियाशील सदस्यता लिन चाहनेले नपाउने र वास्तै नगर्ने नचाहनेले लिइ दिनुपर्ने,  भिरिदिनुपर्ने साथै  सदस्यतावापतको रकम समेत अर्कैले तिरिदिने  सम्मको अवस्था अझैसम्म रहेको छ । यो सिन्डिकेट अराजनीतिक सामन्ती चिन्तनको पराकाष्ठा र चरम गुटबन्दीको परिणाम हो । 

यस्तोमा कार्यकर्ताको योग्यता , क्षमता , योगदान केही काम आउँदैन आउँछ त केवल गुट वा नेताप्रतिको बफादारी, चाकरी, अन्धभक्ति र आज्ञाकारिता । राजनीतिक दलका नेताको व्यवहार र शैलीबाट जनता आजित भएका छन् । जनता वा मतदाता विकल्पको खोजीमा जुरमुराउन थालिसकेका छन् । निराशा र आक्रोस चुलिन थालेको छ। दलका नेता कार्यकर्ता परिवर्तन हुनु जरुरी छ ।


कतिपय ठाउँमा क्रियाशील सदस्यता लिन चाहनेले नपाउने र वास्तै नगर्ने नचाहनेले लिइ दिनुपर्ने, भिरिदिनुपर्ने साथै सदस्यतावापतको रकम समेत अर्कैले तिरिदिने सम्मको अवस्था अझैसम्म रहेको छ ।


अब संगठन निर्माण र सुदृढीकरणका लागि परम्परागत सोच शैली र व्यवहार बदलिनै पर्छ ।
पार्टीको अधिवेशनमा तेरो मेरो नभनी योग्यता, क्षमता, योगदान, लोकप्रियता र क्रियाशिलताका आधारमा कसलाई कुन तहमा कस्तो जिम्मेवारी प्रदान गर्न उपयुक्त हुन्छ भन्ने तर्फ गम्भीरतापूर्वक विचार गर्नुपर्ने बेला भइसकेको छ । स्थानीयस्तरमा पनि नेता कार्यकर्ताहरुबीच नेता, नीति र कार्यक्रमबारे चर्चा चल्न चलाउन आवश्यक छ ।


आफुसंग स्पष्ट विचार, दृष्टिकोण र क्षमता नभएका निश्चित गुट र नेताका रबर छापहरुलाइ नै नेता बनाउनुपर्ने वा नेता मानिदिनुपर्ने अवस्थालाई चिरेर हरेक कार्यकर्ताले विवेक प्रयोग गर्नुपर्ने बेला भइसकेको छ ।


अब नेतृत्व गर्न खोज्नेले नेतृत्वको आकांक्षा राख्नेसँग सुधार र परिवर्तनका के के योजना र दृष्टिकोण छ ? अब पहिले भन्दा के के परिवर्तन हुन्छ ? कहाँ कस्तो कसरी परिवर्तन हुन्छ स्पष्ट पार्न जरुरी हुन्छ । नेतामुखी कार्यकर्ता होइन, जनतामुखी कार्यकर्ता, कार्यकर्तामुखी नेता अहिलेको आवश्यकता हो । केन्द्र मात्र होइन सबै तह वा क्षेत्रको आवश्यकता हो ।

यतिखेर केन्द्रीय सभापति को बन्ला ? कसले यो चुनौतीपूर्ण अबस्थाबाट पार्टीलाई पार लगाउला ? भन्ने चासो र चर्चाले मात्र महत्त्व पाएको र धेरै जना नेतको उम्मेदवारी घोषणा वा इच्छा व्यक्त पनि केन्द्रीय सभापति पदमा मात्रै भएको, अरु पदको र तहको चर्चा ओझेल परेको पाइन्छ । बास्तबमा पार्टीको संगठनलाई नयाँ उर्जा, नयाँ दिशा, नयाँ गति दिन सक्ने नेतृत्वको आबस्यकता सबै तहमा अपरिहार्य देखिन्छ ।

विभिन्न खालका दबाब, प्रभाव, लबी र गुटबन्दीका आधारमा होइन व्यक्ति वा नेता कार्यकर्ताको योग्यता, क्षमता र संगठनको आवश्यकताका आधारमा नेतृत्व चयन गर्ने परिपाटी बसाल्नु नेपाली कांग्रेसको अपरिहार्य आवश्यकता हो ।

(लेखक नेपाली कांग्रेसको संघीय मामिला तथा प्रदेश समन्वय विभागका सदस्य हुन् ।)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी