७३ वर्षमा बल्ल ‘नागरिक’

  • ख-
  • ख+

देवघाटः ७३ वर्षको भैसके पनि देवघाट ३ नाल्बुङ निवासी माया गुरुङ राज्यका नजरमा नागरिक थिइनन् । गाउँमै हुर्केर अस्ताउन लागेकी घाम भैसके पनि उनलाई राज्यले चिनेको थिएन ।

बिहे पनि नगरेकी र परिवारका कोही पनि सदस्य नभएकी उनी मामाघरको खाली झुप्रोमा बस्दै आएकी थिइन् । तर २०७२ सालको भूकम्पले उनको त्यो आश्रय पनि भत्काइदियो ।


प्राविधिकहरुले उनको घर पूर्ण क्षतिग्रस्त भनेर लाभग्राहीको सूचीमा त पारिदिए तर नागरिकता नै नभएकाले उनी त्यो सुविधाबाट बञ्चित भइन् । मंसीर मसान्तसम्म सम्झौता नभएमा सूचीमा परेकाले घर बनाउने पैसा नपाउने सरकारले भनेको छ । तर मायाको नागरिकता नै थिएन ।

माया बस्दै आएको टिनले बारेको झुप्रो

तस्बिरः अनिल पाण्डे

झुप्रोमा एक्लो बास
आफन्तको घर भत्केपछि टिनले ढाकेको झुप्रोमा एक्लो जीवन बिताउँदै आएकी उनको अवस्थबारे स्थानीय युवाले खबर दिए पछि प्रशासनले घरमै गएर नागरिकता प्रदान गरेको छ । प्रमुख जिल्ला अधिकारी सागर आचार्यले आफूले साता अघि वृद्धाको अवस्था थाहा पाए पछि घरमै गएर नागरिकता दिएको बताए । ‘नागरिकता नभएकैले भत्ता र घर बनाउने पैसा पनि पाउन नसकेको सुने पछि घरमै गएर नागरिकता दियौं,’ उनले भने ।


भत्ता पाउने बाटो खुल्यो
अब उनले सामाजिक सुरक्षा भत्ता पाउने बाटो पनि खुलेको छ । स्थानीय युवा गंगासिं विकले वृद्धाको अवस्थाबारे जानकारी गराए पछि नागरिकता दिलाउन पहल थालेको तनहुँ क्षेत्र नम्बर १ का सांसद कृष्णकुमार श्रेष्ठका सचिवालय संयोजक अनिल पाण्डेले बताए । ‘कोही पनि आफ्ना नभएको, कतै जान पनि नसक्ने र नागरिकता नै नभएकाले घर बनाउन पनि नपाएको सुने पछि त्यहीं नागरिकता र घर बनाउनका लागि सम्झौता गराउन पहल गरेका थियौं,’ उनले भने ।

बन्ने भयो घर
प्रजिअ आचार्यले वृद्धा आउन नसक्ने भए पछि आवश्यक सबै प्रक्रिया उनकै घरमा पुरा गरेर नागरिकता दिएको बताए । नेपाली भाषा पनि राम्रोसँग नबोल्ने मायाले नागरिकता लिए पछि केही नबोले पनि अनुहारमा खुशी भने व्यक्त गरेकी थिइन् । ‘उहाँको अनुहारमा खुशी देख्न पाउँदा मलाई सन्तुष्टि मिल्यो,’ प्रजिअ आचार्यले भने ।


आफन्त कोही नभएको र उनी एक्लैले नसक्ने भएकाले वृद्धाको संरक्षण र क्षतिग्रस्त भवन बनाउनका लागि युवा विककै नेतृत्वमा संरक्षण समिति गठन गरिएको छ ।

मायाको नागरिकता


समितिमार्फत नै पुननिर्माण प्राधिकरणले दिने तीन लाख रुपैयाँबाट अब उनको घर निर्माण र सामाजिक सुरक्षा भत्ता रकममार्फत उनका आवश्यकता पुरा गराउन पहल गरिने पाण्डेले बताए ।
गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापाले वृद्धाका बारेमा आफूहरुले समेत थाहा नपाएको भन्दै प्रशासनप्रति आभार प्रकट गरे । उनले आवश्यक थप सहयोगका लागि गाउँपालिका तयार रहेको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी