‘आहा !’ मानुङकोटलाई ‘छ्या’ बन्न नदिन ६ सुझाव

  • ख-
  • ख+

शैलेन्द्र मिश्र
दैनिक हेर्दै हुर्किएका हामीलाई मानुङकोट डाँडा खासै नौलो ठाउँ थिएन । दमौलीबासीहरुको एक खालको परम्परा जस्तै बनेको थियो, असारको १५ मा टाकुरोमा गएर दहि चिउरा खाने । त्यो कहिले देखी सुरु भो कसैलाई थाहा छैन । तर पुरानो समयमा यस दिनबाहेक मानुङकोटले खासै चर्चा पाएन । विद्यालय पढ्दाताका २०६२ साल तिर निर्मल स्कुलका केही साथीसँग हिंडेर पहिलो पटक म डाँडा उक्लिएको थिएँ । त्यो बाहेक मोटरसाईकलमा २÷३ पटक म मानुङकोट उक्लिएको थिएँ, दिउँसोको समयमा ।

कार्तिक १५ गते पारिवारिक सल्लाह भयो भोली बिहानै मानुङ्गकोट डाँडा जाने र त्यहाँबाट सुर्योदय अवलोकन गर्ने । प्रायः मैले तनहुँका पत्रकार मित्रहरुले खिचेर फेसबुकमा हालेकोे मानुङ्गकोट डाँडाको तस्विर ट्विटरमा पोष्ट गर्ने गर्थें । साथीहरुले उत्साहका साथ सोध्नु हुन्थो । पृथ्वीराजमार्गबाट नजिकै भएकाले एकपटक मानुङकोट डाँडा उक्लने प्रतिवद्धता समेत धेरैले व्यक्त गर्नु हुन्थ्यो ।

१५ गते दशैको पुर्णिमाको रात साँझको समयमा अहिले युवाहरु माझ लोकप्रिय बन्दै गएको टिकटक खोलेर हेर्ने क्रममा मैले हेरेका अधिकांश भिडियोहरुमा मानुङकोट डाँडाको सुर्योदय, सुर्यस्त र दिउँसो त्यहाँबाट देखिने दमौली बजार अनि आसपासका क्षेत्र समेटिएका भिडियोहरु एकाएक भाईरल भएको देखें ।

नजिकको तीर्थ हेलां भनेझैं अन्त घुम्न प्रशस्तै हिंडे पनि मानुङ नगएको निकै समय भएको थियो । तर भाईरल बन्न थालेको डाँडोमा उक्लने तयारीले थप उत्साह थपियो । र, भोली विहान सुर्योदय हेर्न अभिलासाका साथ विहानको प्रतिक्षामा सुतियो । १६ गते विहान सोचेकै समयमा नपाएपनि केही ढिलो गरी उत्साहका साथ मानुङकोट डाँडा यात्रा गर्न उक्लँदा पृथ्वीराजमार्गलाई चापाघाटमा छाडेर उकालो लाग्ने क्रममा मैले झण्डै ५० वटा मोटरसाईकलहरु माथि मानुङकोटबाट तल झर्दै गरेको देखें ।

तर शनिबार सैयौं मोटरसाईकल र कैयौं निजी सवारी साधन डाँडामा उक्लिएको दृश्यले मानुङकोट झनै देश तथा विदेशमा पुग्ने अवस्थामा आएको छ ।
कोरोना संक्रमण यस्तो अवस्थामा मानिहरुको ठुलो संख्यामा मानिस घुम्न आएको अड्कल काट्दै अगाडी बढ्दै गर्दा मोटरसाईकलमा झरिरहेका ती व्यक्तिका साथमा साना साना टेन्टहरु पनि थिए ।


मानुङकोटलाई सदाबहार पर्यटकीय स्थलको रुपमा विकास गर्ने तत्कालै आधारभुत सेवाहरु पर्यटकहरुले पाउने गरी स्थानीय तहले काम थाल्नु पर्ने देखिएको छ । नत्र अहिले आहा ! मानुङ्गकोट भन्नेहरु केही समय पछि छ्या मानुङ्गकोट भन्ने अवस्था नआओस् ।

माथि उक्लिन साथ त्यहाँका स्थानिय बासिन्दाहरुसंग कुराकानी गर्ने क्रममा १५ गते राती मात्रै दुई दर्जन बढी समुहहरु क्याम्पफायर गरेर रात बिताएर फर्केको थाहा पाएँ ।
क्याम्पफायर गरेर बस्ने अधिकांस समुह पोखराबाट आएको थाहा पाइयो । स्थानीयसंगको कुराकानी र घुम्न आउनेहरुको धारणालाई लिएर मैले निम्न कुराहरु तत्कालै गर्न पर्ने देखें ।

१) सुरक्षा चुनौती
दमौली बजारबाट झण्डै ८÷९ किलोमिटरको दुरीमा रहेको डाँडामा आन्तरिक पर्यटकहरुको संख्या बढ्दै जाँदा सुरक्षाको चुनौतीहरु थपिदै गएको पाईएको छ । रात बिताउन आउने समुहहरुबीच हुने झैगडा मात्रै नभएर आपराधिक कृयाकलापका लागि पनि उक्त स्थान उपयुक्त स्थान बन्न सक्ने देखिएको छ । विशेष गरेर लागुऔषध दुव्र्यसनीमा फसेका युवाहरु र अनियन्त्रित मदिरापानका कारण जुन सुकै अवस्थामा त्यहाँबाट नराम्रो खबर आउन सक्ने संभावना देखिएको छ । त्यो संगै महिला हिंसाको डर पनि उत्तिकै रहेको छ । सुरक्षा अवस्थालाई ध्यान दिंदै तत्कालै एउटा अस्थायी भएपनि प्रहरी चौकी आवश्यक रहेको स्थानियहरुको भनाई छ ।

२) कसले गर्ने सफाई ?
मानुङ्गकोट डाँडाको अहिलको प्रमुख समस्या भनेको सरसफाई बनेको छ । दैनिक सैयौंको संख्यमा आउने आन्तरिक पर्यटकहरुले ल्याएका चाउचाउ, बिस्कुट, लेज, कुरकुरे लगायतका ड्राई फुडका खोल, बियर तथा पानीका बोत्तलहरु यत्रतत्र सजिलै देख्न सकिन्छ । फोहर व्यवस्थापनका लागि कहीं कतै डस्बिनको व्यवस्था भए पनि त्यो पर्याप्त मात्रामा छैन । र, डस्विन भरिएको खण्डमा त्यो फोहर कसरी कहाँ लगेर राख्ने भन्ने कुनै योजना छैन् । फोहरमैलाका कारण विस्तारै सुन्दर मानुङ्ग डाँडा कुरुप बन्दै गएको प्रति सम्बन्धित निकायको ध्यान जान जरुरी देखिन्छ ।

मानुङ्गकोटबाट देखिएको सूर्योदयको दृश्य । तस्बिरः श्रीकृष्ण आचार्य

३) शौचालय तथा पानीको अभाव
खानेपानी अभावका कारण कुनै समय सयौं घर धुरीको संख्यामा रहेको मानुङ्गमा अहिलो बस्ती अति नै पातलो हँुदै गएको छ । दैनिक सैयौंको संख्यामा पर्यटकहरु त्यहाँ पुग्दै गर्दा त्यहाँ व्यवस्थित शौचालयको व्यवस्था नहँुदा पर्यटकहरुलाई असुविधा पुगेको छ । पर्याप्त मात्रामा पानीको व्यवस्थापन गर्नु पर्न र सहज सार्वजनिक सौचालयको व्यवस्थापन गर्नु पर्ने त्यहाँ आउने पर्यटकहरुको भनाई रहेको थियो ।

४) गाडी पार्किङ्ग स्थलको अभाव
मानुङकोट डाँडा यात्रा गर्न सयौको संख्यमा मोटरसाईकल तथा साना गाडीहरुको आउने भएपछि उक्त सवारी साधनको पाकिङ्ग स्थलको अभाव देखिएको छ । शनिबारको अवस्थाले झनै समस्या देखियो । कैयौं बाटो नै नपाएर फर्किए । गएकाले पनि बाटोमा नै पाकिङ्ग गरेर राख्नु पर्ने भएपछि सवारी साधन आवतजावतमा समस्या देखिन थालको छ । सार्वजनिक जग्गाको अभाव हो भने उक्त स्थानमा निश्चत मुल्य तोकेर स्थानयीहरुले पाकिङ्गका लागि उपयुक्त ठाउँ बनाई हाल्नु पर्ने अवस्था आएको छ ।

५) सडकमार्गको स्तरोन्नति
मानुङ्गकोट जान पृथ्वी राजमार्गबाट करिव ८ किलोमिटर सडक खण्ड पार गर्नु पर्ने हुन्छ त्यो मध्ये कालोपत्रे गरिएको जम्मा ३ किलोमिटिर बाटो बाहेक अन्य बाटो कच्ची हिड्नु पर्ने भएकाले धुलो र हिलो बाटोमा सवारी साधन गुडाउनु पर्दा पर्यटकहरुलाई गाह्रो भएको बुभिएको छ । साँघुरो धुलो र हिलो बाटोमा मोटरसाईकल गुडाउनु पर्दा जोखिम पनि हुने भएकाले सडक स्तरोन्नतीलाई तत्कालै थाल्नु पर्ने देखिएको छ ।

६) व्यवस्थित पार्कको निर्माण
मानुङ्गकोट डाँडामा उक्लीएपछि पर्यटकहरुलाई लामो समय सम्म राख्नको लागि पर्यटकहरुलाई आर्कषित गर्ने अन्य स्थानहरुको पनि पहिचान गरी त्यसको समेत जोडन् रुट निर्माण गर्नु पर्ने देखिएको छ । डाँडामा रहेको मन्दिरलाई व्यवस्थित गरी त्यसको स्तरोन्नति गर्दै ४ वेद १८ पुराणका रचयिता व्यास भगवानको प्रचारलाई विस्तार गर्ने अवसरका रुपमा लिन केही अन्य पुर्वाधार थप गरेर पार्कको रुपमा नै विकास गर्नु पर्ने आवश्यक देखिएको छ ।

६) साहसिक पर्यटनको विकास
नेपालमा मात्रै नभएर साहसिक पर्यटनको विकास विश्वभरी नै बढ्दो क्रममा रहेको अवस्थामा मानुङ्गकोटमा पनि प्याराग्लाईडिङ्ग, बन्जी जम्प तथा साईक्लीङ्गको रुट निर्माण गरी यस क्षेत्रको प्रचार प्रसार गर्नेका निम्ति प्रतियोगिता नै राखेर अन्तराष्ट्रिय स्तरमा यसको प्रचार गर्न सकिने विषयमा संभाव्यता अध्ययन गर्नेका लािग स्थानीय तहले चासो दिनु जरुरी रहेको छ ।

यसका साथै व्यवस्थित र सुरक्षित बासोबास अनि पर्यटकहरुलाई स्थानीय परिकारको स्वाद चखाउनका लागि स्तरिय होटल तथा लजको व्यवस्थापन गर्ने ढिला भई सकेको देखिएको छ । नेपालीहरुको पछिल्ला केही वर्षहरुमा घुम्नकै लागि भनेर खर्च गर्ने चलन बढ्दै गएको अहिलेको अवस्थामा मानुङकोटलाई सदाबहार पर्यटकीय स्थलको रुपमा विकास गर्ने तत्कालै आधारभुत सेवाहरु पर्यटकहरुले पाउने गरी स्थानीय तहले काम थाल्नु पर्ने देखिएको छ । नत्र अहिले आहा ! मानुङ्गकोट भन्नेहरु केही समय पछि छ्या मानुङ्गकोट भन्ने अवस्था नआओस् ।

Twitter: @mishrakancho1

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी