भिमाद : तनहुँको भिमाद नगरपालिकामा इलाका प्रशासन कार्यालय स्थापना तथा सञ्चालनका लागि आवश्यक प्रक्रिया तत्काल अघि बढाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भिमाद नगर कार्यसमितिले गृह मन्त्रालयसँग माग गरेको छ।रास्वपा भिमाद नगर कार्यसमितिले गृह मन्त्रालयलाई पत्राचार गर्दै भिमादलाई केन्द्रबिन्दु बनाएर इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गरेको हो।
कार्यसमितिका अनुसार तनहुँको सदरमुकाम दमौलीमा जिल्ला प्रशासन कार्यालय रहे पनि निर्वाचन क्षेत्र नं. २ अन्तर्गतका आँबुखैरेनी, घिरिङ, ऋषिङ, भिमाद तथा म्याग्दे गाउँपालिकाका वडा नं. ५ लगायतका क्षेत्रका नागरिकलाई प्रशासनिक सेवा लिन कठिनाइ हुँदै आएको छ। भौगोलिक विकटता र लामो दूरीका कारण सामान्य प्रशासनिक कामका लागि समेत दमौली पुग्नुपर्ने बाध्यता रहेको पत्रमा उल्लेख गरिएको छ।
नागरिकलाई सहज, सरल र सुलभ रूपमा सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले भिमादमा इलाका प्रशासन कार्यालय स्थापना गर्न पटक–पटक पहल तथा ज्ञापनपत्र बुझाउँदा पनि ठोस प्रगति हुन नसकेको रास्वपाले जनाएको छ।
भौगोलिक सुगमता, नागरिकको समय र खर्चको बचत तथा प्रशासनिक सेवामा सहज पहुँच सुनिश्चित गर्न भिमाद नगरपालिकालाई केन्द्रबिन्दु बनाएर इलाका प्रशासन कार्यालय स्थापना तथा सञ्चालनको प्रक्रिया तत्काल अघि बढाउन रास्वपा भिमाद नगर कार्यसमितिले गृह मन्त्रालयसँग आग्रह गरेको छ।




