दमौली : तिहारको अवसरमा देउसी भैलो खेलेर संकलन गरिएको रकमबाट तनहुँको व्यास नगरपालिका–१२, भेडिखोलास्थित श्री मक्षकन्या आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ।
दमौलीका युवा सामाजिक अभियन्ता सुदीप गफ्फार र उनको समूहले देउसी भैलोबाट संकलन गरेको रकम सदुपयोग गर्दै विद्यालयमा अध्ययनरत २५ जना विद्यार्थीलाई स्विटर वितरण गरेका हुन्।
जाडो मौसम सुरु भएसँगै विद्यार्थीलाई चिसोबाट जोगाउने उद्देश्यले न्यानो कपडा वितरण गरिएको अभियन्ता गफ्फारले बताए। तिहारमा देउसी भैलो खेलेर संकलन भएको रकमलाई सामाजिक सेवामा खर्च गर्दै विद्यार्थीलाई सहयोग गरिएको उनले जानकारी दिए।
विद्यालयकी प्रधानाध्यापक शकुन्तला ढवाडीले जाडो मौसममा विद्यार्थीलाई चिसोबाट जोगाउन स्विटरले सहज हुने बताउँदै यस सहयोगले विद्यार्थीको पठनपाठनमा समेत सकारात्मक सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।
देउसी भैलोबाट संकलित रकमलाई मनोरञ्जनमा मात्र सीमित नराखी सामाजिक सेवामा खर्च गरिएको यस अभियानले समुदायमा सहयोग, सद्भाव र सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि गर्न प्रेरणा दिएको छ।










