गोवद्र्धन शर्मा पोखरेल परिवारको त्यो दशैं

  • ख-
  • ख+


सुरेश पोखरेल


आफ्नो विगत सबैका लागि प्रिय हुन्छ । जब जब महान चाड दशैं नजिक आउछ, चलचित्र जस्तै गरेर २०३९ सालको पोखरेल फाँटको दशैँ मेरो अगाडी आउछ । मेरा लागि यो भन्दा सम्झन लायक अरु दशैँ छैनन् । धेरै पटक दुवै आँखा चिम्लेर ति क्षण सम्झना गरेको छु !

२०३९ सालको दशैँले मलाई सधै रोमान्चित गराउछ । पोखरेल फाँटमा दशैंका बेला घटस्थापना अघि देखि नै चहलपहल हुन्थ्यो । गाउँ फर्कने क्रम सुरुहुन्थ्यो । लाहुरेहरु, बिधार्थीहरु र कर्मचारीहरु। त्यति खेर १५ दिन दशैँ बिदामा धेरै काम गरिन्थ्यो । घर रंगरोगनमा सहयोग गर्ने, घर वरीपरी र सार्बजनिक बाटो सफा गर्ने, घरमा पिर्के पिङ्ग जोडने, भाई बहिनीलाई सानो पिङ्ग हाल्ने, बगैंचामा बनाउने ठुलो पिङ्गका लागि बाब्बियो चन्दा उठाउने, राती पिङ्ग बाटन जाने, पाए पिङ्ग बाट्दा “बुढी” बन्ने ।

त्यो बाहेक, फूलपाती र दशैंमा काटिने २ खसी बोकालाई ब्यबस्थापनमा सहयोग गर्ने ।हाम्रा लागि २०३९ सालको दशैं साँच्चै नै सबै भन्दा महत्वपूर्ण थियो । त्यो दशैंमा फुपूदिदि भिनाजुहरु बाहेक सबैको उपस्थित थियों ! त्यसपछि यतिको जमघट कहिले पनि भएन । हजुरबुवाको खुसीको सीमा नै थिएन ! केहि समय पहिला हजुरबुवाको लागि भनेर बुवाले काठमाडौँबाट एउटा बेतको आरामदायक कुर्ची ल्याउनु भएको थियो ।

त्यसैका लागि पराने माहिला दाई दमौली सम्म लिन पुगेका थिए । हजुरबुवा आँगनमा सुन्तलाका रुख मुनि त्यहि कुर्चीमा समय बिताउनु हुन्थ्यो । बुवा, जसको पृष्ठभुमि पत्रकारिता हो, एक टेप रेकर्डर लिएर हिंडी रहनु भएको थियो ! सानाठूला घटनाक्रम रेकर्ड गरि रहनु भएको थियो । अन्य साल जस्तै, काका कृष्णचन्द्र नेपालीले दशैंका लागि १२ धार्नीको खसी र फूलपातीका लागि एक सानो बोका दमौलीबाट ल्याउनु भएको थियो ।

म तेस्रो पुस्ताको जेठो । यस पटक जगदीश अङ्कलले सुरेशलाई “प्रोफेसनल” कपडा चाहिन्छ भनेर टीकाका लागि नया शर्ट-प्यान्ट किनी दिनु भएको थियो । मेरो जांगे र टि-शर्टबाट प्रमोशन भएको थियो । साना सिँगाने बहिनिहरुका लागि नयाँ म्याक्सी थियो, दशैंका लागि ।

म तेस्रो पुस्ताको जेठो । यस पटक जगदीश अङ्कलले सुरेशलाई “प्रोफेसनल” कपडा चाहिन्छ भनेर टीकाका लागि नया शर्ट-प्यान्ट किनी दिनु भएको थियो । मेरो जांगे र टि-शर्टबाट प्रमोशन भएको थियो । साना सिँगाने बहिनिहरुका लागि नयाँ म्याक्सी थियो, दशैंका लागि । बहिनीहरु लाई सिंगान पुच्छनका लागि हाते रुमाल पनि थियो । बहिनीहरु सम्झेको बेला रुमालले सिंगान पुछथे, बिर्से हातैले । यो फोटो टिका कार्यक्रम सक्ना साथको हो ।

यो फोटो सुबास काकाले खिच्नु भएकोले उहाँ यो फोटोमा हुनु हुन्न ।घरको टिका पछि हजुरबुवा र हजुरआमा बाहेक हामी गाउँमा मान्यबरको हातबाट टिका थाप्न हिंड्यौं । बुवा/ काकाहरु, आमा / काकीहरु र हामी भुराहरुको बेग्लै टोलि थियो । पोखरेल फाँटमा हाम्रो घर सबभन्दा पश्चिममा थियो । पहिला सबभन्दा उत्तरमा रहनु हुने “सिरान घरे हजुरबा”,जो हाम्रो हाँगाको जीवित जेष्ठ, कहाँ गइयो । २० मिनेटको ठाडो उकालो उक्लिन पर्थ्यो ।

टिका लगाइयो, आशिर्बाद लिइयो, केरा सुन्तला र दही सहितको प्रसाद खाएर सबै भन्दा पूर्वमा हुनुभएको हरि जीबाको घर पुगियो । क्रमश, नरनाथ जिबा, दिवाकर जिबाको घर हुँदै सबै भन्दा दक्षिणमा लक्ष्मीनाथ जीबा को घरमा गइयो । ज्यांबोईले सारै मिठो सेलरोटी र करेलाको अचार खुवाउनु भयो । अन्तिममा सम्पूर्ण पोखरेल परिवारका जेष्ठ साइला जीवाको घरमा पुगियो । जीबाले त्यस बर्ष पनि “तँ शाखा अधिकृत भएस” भनेर आशिर्वाद दिनुभयो ।टिका सक्दा दिउसोको १ बजेको थियो । हामी प्राय एक साल टीकाका लागि मामा घर गुणादी गइन्थ्यो र अर्को साल बुढो मावली नरंगा गइनथ्यो । यो साल गुणादी जाने पालो थियो ।

नागबेली आकारको कलेस्ती खोलालाई ६ पटक पार गर्दै, मादिको किनार किनार हुँदै दमौली, चापाघाट, कनटार, बरचौर हुँदै बास बस्ने बेला “सागपात” हुँदै ३ घन्टाको पैदल पछि गुंडादि पुगीयो ! त्यहाँको टिका ७ बजे सम्पन्न भयो ।हाल, मजबुरी र मजदुरीका कारण धर्तिको पल्लो पट्टि बसेर दशैं मान्न परेको छ । कोरोनाको डर छ । र मिले सांझपख यहाँको ‘जेष्ठ” काकाको आशिर्वाद लिन जाने योजना छ ।समयले साँच्चै नै नेटो काटेको छ ।

हजुरबुवा परमधाम हुनुभएको ३१ बर्ष भैसक्यो ! हजुरआमा ९९ बर्ष हुनुभयो र काठमाडौँ बस्नुहुन्छ । फोटोमा म जत्रो थिए, अहिले मेरी कान्छी छोरी त्यो भन्दा ठुली छ । पोखरेल फाँटको हाम्रो घर अझै सखेल्ला छ तर बस्ने एक जना पनि मान्छे छैनन् । पुरै पोखरेल फाँटको उही हाल छ । त्यतिखेरका ९ घर पोखरेलहरु मध्ये जम्मा २ घर प्रयोगमा छन । बाँकिमा ताल्चा लगाइएको छ वा भग्नावशेष भईसके । बगैचामा पिङ्ग नबनेको २५ बर्ष भन्दा बढी भएको होला ।

पोखरेल फाँटको हाम्रो घर अझै सखेल्ला छ तर बस्ने एक जना पनि मान्छे छैनन् । पुरै पोखरेल फाँटको उही हाल छ । त्यतिखेरका ९ घर पोखरेलहरु मध्ये जम्मा २ घर प्रयोगमा छन । बाँकिमा ताल्चा लगाइएको छ वा भग्नावशेष भईसके ।

हाल मोटर जाने बाटो बनेको छ । तर पुराना चौतारा, बगैंचा, पोखरी, बिरको थान, भंगेरको थान, नागको थान पछाडी परेका छन्, झाडीमा डुबेका छन् । पोखरेल बन्धुहरु काठमाडौँ, दमौली, देवघाट, चितवन, बर्दिया र अमेरिकामा छरीएका छन् । पारी बुढो मावली वाग्लेहरुको बस्ति नरंगाको पनि यहि हालत छ ।बुवा र आमासंग भर्खर फोनमा कुरा भएको थियो !

उहाँहरुको स्वरमा खासै उत्साह थिएन । घरमा खसी काट्नुको साटो, दिनको एक-दुइ किलो मासु किन्न थालेको बर्षौं भयो । खसी बोका काट्ने जमाना गएछ । धेरै परिवार सदस्य विदेशमा भएकाले टिकाको कार्यक्रम ४ -५ घन्टाको सट्टा अचेल टिका १ घन्टामा नै सिधिन्छ रे ! त्यस माथि कोरोनाको त्रास त छंदै छ । आमा, जो शारिरिक हिसाबले अस्वस्थ हुनुहुन्छ, भन्दै हुनु हुन्थ्यो “दशैं त अस्वस्थ र नसक्नेका लागि दशा हो।”फेरी, सबैलाई बिजया दशमीको हार्दिक शुभकामना !

(तनहुँका प्रजातन्त्र सेनानी गोवद्र्धन शर्मा पोख्रेलका नाति तथा संविधान सभासद रामचन्द्र पोखरेलका पुत्र पोखरेल हाल अमेरिकामा छन् । )

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी