कोरोनाकालको दशैंमा गाउँको सम्झना

मिलन बगाले
कोरोना कहरको यो वर्ष जो जहाँ छौं, त्यही अलक्क दशैं मनाउनुपर्ने अवस्था छ । यसपाली शहरबाट दशैंमा घर जानेको संख्या बेस्सरी पातलियो । ट्राफिक प्रहरीको तथ्यांकले त्यही भन्छ । दशैंको मुखमा शहरबाट गाउँ जानेको संख्या पातलिनुलाई सुखद् मान्नुपर्ने भएको छ । चाडबाडमा कोरोना फैलियो भने त्यसले अकल्पनीय कष्ट जन्माउँछ ।

जेष्ठ नागरिक र अन्य रोग भएका व्यक्तिलाई कोरोनाले बढी पिरेको हामीले देखिरहेकै छौं । अभिभावक र मान्यजन भेट्न जाँदा कोरोना फिंजिन पुग्यो भने त्योजस्तो दुर्भाग्य केही हुँदैन । घर जानेहरुले केही दिनका लागि आफूलाई घरमै सीमित गर्नुभएको होला भन्ने आश गरौं । आफूले आफैंलाई घरभित्र परिक्षण एकान्तवासमा राख्न सकियो भने कोरोना आदानप्रदान हुनेछैन । आर्शिवाद, माया, स्नेह र हार्दिकता आदानप्रदान गर्ने चाडमा कहर आदानप्रदान गर्नै हुँदैन । अलक्क बसाईको महत्व घर जानेहरुले बुझ्नुभएकै होला भन्ने आश गरौं ।


यसपाली दशैंमा काठमाडौं सुनसान बनेको छैन । मानिसको चहलपहललाई कोरोनाले छेक्न सकेको छैन । मास्क च्यूँडोतिर अडिएको छ । लाइन लागेर भौतिक दूरीको राम्ररी पालना गरेर किनमेल गर्ने रहर गरेको पनि खासै देखिंदैन । सामान अलक्क लिनेदिने, केही सामान छोएपिच्छे स्यानिटाइजर प्रयोग गर्ने बानी पनि राम्ररी बसेको देखिंदैन । किनमेलको शैली उस्तै छ ।

कोरोना कहरमा जो सचेत र सजग छ, उसलाई ‘डराएको’ भन्ने चलन पो बस्लाजस्तो भएको छ । दैनिक ४—५ हजार संक्रमितको संख्या सुन्दै आफ्नै शैलीमा ‘निडर’ जिन्दगी चलाउनु नेपालीको जीवनचर्या भएको छ । शुरुवाती लकडाउनमा नेपालीको मन धेरै हल्लियो । हल्लिएको मनलाई संगालेर सचेत र सावधानीको चरण आउनुपर्ने थियो । त्यो आएन ।

गुर्जो, बेसारपानी र रोग प्रतिरोधी क्षमताको गफमा हामी रमायौं । लागेपनि निको भैहाल्छ, हामी बलिया छौं भन्ने भ्रमले घर गरेको छ । परिणाम कोरोना दिनदिनै डरलाग्दोसंग फिजिदैछ ।

भूकम्पकालको दशैंः डरलाग्दो शहर
काठमाडौं पसेको १४ वर्षपछि मैले २०७२ सालमा पहिलोपटक काठमाडौंको दशैं देखें । भुइँचालो र नाकाबन्दीले थिलोथिलो भएको वर्ष थियो त्यो । भुइँचालोले भत्किएको मनलाई नाकाबन्दीले पिरेको थियो । त्यसकारण त्यो बर्षको दशैं उल्लासमय बन्न सकेको थिएन । नागरिकहरु एकपछि अर्को कष्ट झेल्न बाध्य थिए । भुइँचालोको कारण करिब ९००० व्यक्तिले ज्यान गुमाएका थिए भने ७ लाखजति घर भत्केको तथ्यांक आएको थियो । ठूलो जनधनको क्षति र कठोर नाकाबन्दीले चाड खल्लो बनाईदियो । त्यो बर्ष म घर (तनहुँको बर्लाची गाउँ) गईन ।

अघिल्लो वर्ष २७ लाख जना व्यक्तिले काठमाडौं छोडेकोमा त्यो वर्ष घर जानेको संख्या १० लाख ननाघेको ट्राफिक प्रहरीको तथ्यांक थियो । १० लाख सानो संख्याचाहि होइन रहेछ । १० लाख मान्छेले एकैचोटी छोडेको शहर कस्तो हुँदो रहेछ भनेर शहर नियाल्न निस्किएको थिएँ म । काठमाडौंदेखि भक्तपुरसम्मका बस्ती र प्रमुख सडक निहालेको थिएँ। ओहो । मान्छेलाई जंगल पस्दामात्रै डर लाग्ने हैन रैछ ।

साँच्चै एकैचोटी १० लाख मान्छेले ‘अब फर्किन्न’ भन्दै छोडेर हिडे भने भोली कस्तो बन्ला काठमाडौं शहर भन्ने तर्कना खुबै आयो मनमा । भाडा लगाउन बनाईएका अग्लाअग्ला घर, ठूल्ठूला ब्यापारिक मल, सिनेमा हल, मान्छे खाँदेर हिड्ने माईक्रोबस, टोलैपिच्छेका स्कूल, घरपिच्छै सटरमा थापिएका दोकानको हालत के हुने होला ?

शहरका सडक त मान्छे र सवारी साधनका अभावमा कति डरलाग्दा देखिएका । पूरै रित्तो । दिउँसै हिंड्दा पनि अत्यास लाग्ने ।सुनसान आकाशे पूलमा हिंड्दा लुटिने भयले सताउँदो रैछ । जुनेली रातमा निर्जन बनमा एक्लै हिडेजस्तो । छनलाई उज्यालो छ । तर, त्यो उज्यालोमा जीवन छैन । दन्त्यकथामा पढिने भूतले मान्छे खाएर उजाड भएको राजकुमार दिक्पालको शहरको तर्कना आयो ।

साँच्चै एकैचोटी १० लाख मान्छेले ‘अब फर्किन्न’ भन्दै छोडेर हिडे भने भोली कस्तो बन्ला काठमाडौं शहर भन्ने तर्कना खुबै आयो मनमा । आर्थिक, सामाजिक, सांस्कृतिक गतिविधि कसरी अघि बढ्ला, भाडा लगाउन बनाईएका अग्लाअग्ला घर, ठूल्ठूला ब्यापारिक मल, सिनेमा हल, मान्छे खाँदेर हिड्ने माईक्रोबस, टोलैपिच्छेका स्कूल, घरपिच्छै सटरमा थापिएका दोकानको हालत के हुने होला भन्ने सोचें ।


यसपाली कोरोना कहरले पनि शहरलाई महिनौंसम्म रित्तो बनायो । आकाश निकै सफा देखियो । श्वास फेर्न सजिलो महसुस भयो । मानिसलाई बिसन्चो हुँदा प्रकृतिले निकै सन्चो मान्यो । कोरोनाले मानिसलाई महिनौंसम्म घरघरमा थुन्यो । व्यापार, उद्यम सबै तहसनहस बनायो । धेरैले रोजीरोटी गुमाए । थुनिएर बसेर कहिलेसम्म गुजारा चलाउन सकिन्छ ? गाडीको अभावमा ससानो कुम्लोकुटुरो बोकेर परिवार अघि लगाएर ३००—४०० किलोमिटरसम्म पैदलयात्रा गरेर गाउँ गए । पैदलयात्राका क्रममा उनीहरुले भोगेका कष्टले डिजिटल पत्रिका भरिए । विद्यालय, क्याम्पस, कलकारखाना र गरिखाने अनेक बाटा उहिल्यैदेखि बन्द भएकाले धेरैजनाले शहर छोडिसकेका छन् । त्यसकारण दशैंमा शहर छोडेर गाउँ जानेको संख्या उल्लेख्य मात्रामा नदेखिएको होला ।

कोरोनाकालको दशैंः गाउँ जानै डर
पोहोर काम विशेषले सपरिवार काठमाडौंमै दशैं मनाईयो । यसपाली त कोरोना कहरका कारण गाउँ जाने रहर नै गरिएन । सपरिवार यतै भएकोले पनि गाउँ जानेबारे सोचिएन । यसपाली आमाले पोहोरको भन्दा ठ्याक्कै आधा कम जमरा राख्नुभयो । अलक्क दशैं मनाउन नसके जमरा होइन, कोरोना हलक्क बढ्छ भन्नेकुरा हामीले बुझ्नु जरुरी छ ।

त्यही भएर जमघट नहुने अनुमानका साथ शहरको घरमा जमरा आधा घटेको छ । बाल्यकालमा जमरा राख्ने काम खुबै मनपथ्र्यो । अहिलेपनि उस्तै मनपर्छ । बारीको कुनामा गएर सबैभन्दा मलिलो ठानिएको खोजेर, खनेर त्यो माटो सिलौटे बाटामा बोकेर ल्याईन्थयो । मसिना ढुंगा, झार सबै हटाएर डल्ला फुटाएर रहरलाग्दो बनाईन्थ्यो अनि पहिल्यै भिजाएर राखेको मकै त्यसमा रोपिन्थ्यो । हरेक दिन कसका घरमा जमरा कत्रा भए हेर्न हिडिन्थ्यो ।

गाउँको सिरानदेखि अन्तिमको सबै घरमा जमरा हेर्न बारम्बार गईन्थ्यो । हाम्रोतिर गहुँ र जौ होइन, मकैंको जमरा राख्ने चलन छ । गहुँ र जौंको जमरा त मैले काठमाडौं आएपछि मात्र देखेंको हुँ ।

उबेलाको रमाईलो दशैं
घरको कोठाको अध्यारो कुनामा भुइँमै माटो थुपारेर जमरा राख्थ्यौं हामी । टपरामा जमरा राखेको मलाई पटक्कै मन पर्दैनथ्यो । कस्तो बुच्चो लाग्थ्यो । झपक्क महसुस हुँदैनथ्यो । सिधैं भुइँमै माटो जमाए खनेर फाल्न अप्ठेरो हुने भएकोले कतिपयका घरमा टपरामा जमरा राखिन्थ्यो । मचाहि कुनै कोठाको अध्यारो कुनामा भुइँमै जमरा राख्न रहर गर्थें । त्यसै गरिन्थ्यो ।

हरिया जमरा मनपर्ने कुरै आएन । असाध्यै पहेलो बनाउन दशैंभरी कोठाका झ्यालढोका डम्म थुनेर जमरा राखेको ठाउँलाई समेत डोकोले छोपेर त्यसमाथी बोरा वा थर्कटीसमेत राख्ने गर्थें म । जमरा हलक्क बढाउन कुनै कसर बाँकी राखिन्नथ्यो । हरेक दिन कसरी जमराले जरा हाले, सुईरा कसरी निस्किए, पात कसरी पलाए, सुक्ष्म निरिक्षण गर्थें । राम्रो स्याहार पाएकाले हलक्क बढेका जमरा दशैंका दिनसम्म ढल्ने गरि बढिसकेका हुन्थे ।

हँसियाले बाटो फाँड्दै पानीको मुहान भएको ठाउँमा पुगिन्थ्यो । यसरी बाटो फाँडेपछि र पानी बनाएपछि गाउँमा दशैं भित्रिन्थ्यो । घरघरमा सस्याना डोरे पिङ हालिएपनि लिंगे पिङ र रोगटे पिङ त थोरैमात्र हालिन्थ्यो । लम्साल गाउँको रोगटे पिङ सबैको आर्कषणको केन्द्र थियो ।

जमरा राख्ने कामबाहेक ‘बाटो फाँड्ने’ र ‘पानी बनाउने’ काममा हामी असाध्यै रमाउँथ्यौं । मलाई दशैंमा सबैभन्दा बढी मनपर्ने नै यो काम थियो । फूलपातीको दिन गाउँका भएभरका गल्ली, डहरमा उम्रेका झाडी फाडेर गौंडा र सिंढीका ढुंगा मिलाएर, भत्केको सिंढी पनि मर्मत गरेर सिनित्त पारिन्थ्यो । हरेक घरबाट एक जनाको दरले बाटो फाँड्ने काममा भाग लिईन्थ्यो । बिहान चिया खाएपछि ७ बजेतिर घर नजिकको गल्लीमा जम्मा भएर हँसिया, कोदालो, गल, गैची बोकेर बाटो फाँड्न गईन्थ्यो । बाटो फाँड्न अधिकांश घरबाट अग्रज सदस्य जानुहुन्थ्यो ।

बर्खायाममा गाउँका गल्ली, डहर, गल्ली, सिढीमा झाडी भसक्कै उम्रेको हुन्थ्यो । ढाँडमा पाती भसक्कै उम्रेर बाटोसमेत ढाकेको हुन्थ्यो । हिंडिसाध्य हुँदैनथ्यो । गाईबस्तु हिंड्दा सिंढिका ढुंगा भत्केका हुन्थे । दशैंमा टिका लगाउन गाउँघर डुल्दा, इष्टमित्र आउँदा हिंड्न सहज होस् भनेर यसरी बाटो फाँडिन्थ्यो । बाटो फाँड्दा गाउँको सुन्दरता पनि बढाउँथ्यो । बिहान खानेपानी मर्मत गर्न गईयो भनेचाहि बाटो फाँड्ने काम दिउँसो हुन्थ्यो । दिउँसो बाटो फाँड्दाचाहिं भोगटे साँधेर खाने काम पनि हुन्थ्यो ।


कसैले झाडी फाँड्ने, कसैले ओसारेर पाखामा फाल्ने, गौंडा र खोल्सामा बाटो फराक बनाउने, भत्केका सिढि मर्मत गर्ने काममा सबैको मन रमाउँथ्यो । हामी फाँडिसकेका बाटाबाटा डुल्थ्यौं र रमाउथ्यौं । अष्टमीको दिन खसीपाठा काट्ने हुनाले पखालपुखुल गर्नलाई प्रशस्त पानी चाहिन्थ्यो । त्यसकारण खोलामा गएर टंयाकी सफा गर्ने, मुहान सफा गर्ने, पानी चुहिने पाईपका सकेटहरु फेर्ने आदि काम गरिन्थ्यो । यो कामलाई चाहि‘पानी बनाउने’ भनिन्थ्यो । पानी बनाउन जाँदापनि सबैको हातमा हँसिया हुन्थ्यो ।

हँसियाले बाटो फाँड्दै पानीको मुहान भएको ठाउँमा पुगिन्थ्यो । यसरी बाटो फाँडेपछि र पानी बनाएपछि गाउँमा दशैं भित्रिन्थ्यो । घरघरमा सस्याना डोरे पिङ हालिएपनि लिंगे पिङ र रोगटे पिङ त थोरैमात्र हालिन्थ्यो । लम्साल गाउँको रोगटे पिङ सबैको आर्कषणको केन्द्र थियो । पिङ मच्चाएको र खेल्नेहरु रमाएको आवाज दशैंभर गुन्जथ्यो । लम्साल गाउँको रोगटे पिङले हाम्रो गाउँ सेरोफेरोमा बेग्लै रौनक भित्र्याउँथ्यो ।

दशैंमा ज्ञानगुनको पढाई
पिङ, खेल्नु, नयाँ लुगा लगाउनु, बाटो फाड्नु र पानी बनाउनुबाहेक दशैंको अर्को रमाईलो पाटो थियो । दशैंमा छापिने म्यागेजिनका डबल अंकहरु । हिमाल, नेपाल, नवयुवा र मूल्यांकनका दशैं अकंहरुले बेग्लै रौनक भित्र्याउथे । सानोमा मुना र सुनक्रेसा, ६—७ कक्षामा पढ्दा नवयुवा र त्यसपछि क्रमशः हिमाल, नेपाल, मूल्यांकन र गाउँमा भएका २ वटा पुस्तकालयले बेग्लै संसारमा लैजान थाले । किताबै किताबको संसार । फराकिलो संसार ।

ज्ञान, गुन, विवेक, विज्ञान र विचारको संसार । दशैंमा चाहि अरु किताब पढ्नुभन्दा पनि हिमाल र नेपालको डबल अंकको आकर्षण बेग्लै थियो । बाले भेटेसम्म ल्याइदिनुहुन्थ्यो । काठमाडौंबाट आउने दाइ र अंकलहरुको झोलामा पनि ती पत्रिका छुट्दैनथे । यो वर्ष त पत्रपत्रिका अध्ययन अनलाईनमै सीमित भयो । दशैंमा किताब पढ्ने कि घरपरिवारसंग रमाउने भन्ने प्रश्न जहिल्यै उठ्छ । मचाहिं दशैंमा अर्थोक किनमेलबाहेक केही रकम किताब किन्नका लागि छुट्याउँछु । दशैंभरी किताब पढेर बसौं भन्ने होइन ।

अडेस लाग्दा लुगामा कमेरो वा रातोमाटो लाग्ला भनेर पिंढीको खाटमा काम्लोमाथी एक—दुईवटा सिरानी पनि राख्ने चलन गाउँघरमा छँदैछ । केराको घरी सर्लक्क काटेर हाता छुट्याएर भकारीमा लगेर पुर्ने र पाके कि पाकेन भनेर दिनदिनै हेर्ने गरेको सम्झनापनि मनभरी ताजा छ ।

खानेकुराको जोहोजस्तै, नयाँ लुगाको जोहोजस्तै दशैंमा केही रकम किताबमा छुट्याउन मन लाग्छ । केही महिनालाई पढ्न पुग्ने किताबको जोहो गर्छु । दशैंभर पढेर त बसिंदैन तर लेखपढलाई पनि धेरैथोर समय त छुट्याईन्छ ।
पानी बनाउने र बाटो फाड्ने बाहेकगाउँसंग जोडिएका दशैंका सम्झना अनेक छन् । रातोमाटो र कमेरोको आर्कषण अझैंपनि उस्तै छ । सर्लक्क लिपिएका पिंढि, कमेरो छ्यापिएका र रातोमाटो पोतिएका भित्ताको सुन्दरता र सुगन्ध मनभरि छँदैछ । टिका लगाउन गाउँगाउँ डुल्दा अग्रजहरुले ‘भित्तामा अडेस नलाग्नु है, लुगामा रातोमाटो र कमेरोको डाम बस्ला’ भन्नुभएको कुरा कानमा गुन्जिएकै छ ।

अडेस लाग्दा लुगामा कमेरो वा रातोमाटो लाग्ला भनेर पिंढीको खाटमा काम्लोमाथी एक—दुईवटा सिरानी पनि राख्ने चलन गाउँघरमा छँदैछ । केराको घरी सर्लक्क काटेर हाता छुट्याएर भकारीमा लगेर पुर्ने र पाके कि पाकेन भनेर दिनदिनै हेर्ने गरेको सम्झनापनि मनभरी ताजा छ । मासु खाने रहर त उहिल्यै बिसाईयो । शाकाहारी भएको करिब १२ वर्ष भयो ।

रातोमाटो, कमेरो, भोगटे, केरा, हलक्क बढेका पहेंला जमरा, फूलेका पातीका झुप्पा, झाडी सर्लक्क फाडेर फराक र सफा बाटा, लेउ फालेर सिनित्त भएका धारामा जोडले आएको कन्चन पानीले शहरमा अल्झिएको मनलाई बेलाबेलामा झक्झक्याउछन् । कोरोना कहरको यो समय धेरै चहलपहल नगरि सामान्य हिसाबले मनाऔं । शहरबाट गाउँ जानेले पनि आफ्ना परिवार र इष्टमित्रलाई जोगाउने गरि अलक्क बसेर मनाऔं । दशैंमा कोरोना हलक्क बढ्न नपाओस् । सबैलाई दशैंको शुभकामना । सबैको जय होस् ।

(तनहुँको क्यामिन,बर्लाची घर भएका लेखक बगाले आर्किटेक्ट तथा ग्रामीण विकास विज्ञ हुन् । उनी हाल संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमद्वारा सञ्चालित ‘नेपाल आवास पुनर्निर्माण परियोजना’ मा परामर्शदाताको रुपमा कार्यरत छन् । )

अन्तिम पटक अध्यावधिक गरिएको 1119 Viewed

प्रतिक्रिया दिनुहोस्