भोटेकोशी नदीले बेपत्ता परेकाको खोजीका लागि तालिम प्राप्त कुकुर सहित प्रहरी टोली त्रिशूली किनारमा परिचालन

दमौली न्युज
  • ख-
  • ख+

दमौली: भोटेकोशी नदीमा आएको विनाशकारी बाढी पछि हराइरहेकाको खोजीमा तनहुँ प्रहरीले आफ्नो खोज तथा उद्धार अभियानलाई थप तीव्र बनाएको छ। सम्भावित जोखिमयुक्त क्षेत्रमा बेपत्ताको अवस्था पत्ता लगाउन तालिम प्राप्त कुकुर सहितको प्रहरी टोली त्रिशूली नदी किनारमा परिचालन गरिएको छ।आइतबार गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराबाट तालिम प्राप्त कुकुर सहितको विशेष टोली तनहुँ पुगे पछि जिल्ला प्रहरी कार्यालय सहित विभिन्न प्रहरी इकाईको संयुक्त टोली खोज तथा उद्धारमा खटिएको हो।

प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय तनहुँ, इलाका प्रहरी कार्यालय आँबुखैरेनी, बन्दीपुर, देवघाट, साराङघाट तथा अस्थायी प्रहरी पोस्ट मुग्लिङ पुलजिपका प्रहरी कर्मचारीलाई एकीकृत गरी खोजी अभियान सञ्चालन गरिएको छ। प्रनाउ द्वारिका प्रसाद घिमिरेको कमाण्डमा परिचालित टोलीले आँबुखैरेनी गाउँपालिका–४ र ५ तथा देवघाट गाउँपालिका–४ र ५ अन्तर्गत मुग्लिङ पुलदेखि देवघाटसम्मको त्रिशूली नदी किनारलाई प्राथमिकतामा राखेर खोजी गरिरहेको छ।

बाढीका कारण नदीको बहावसँगै बगेर मानिस तथा अन्य सामग्री नदी किनारका विभिन्न स्थानमा पुग्न सक्ने भएकाले सम्भावित स्थान पहिचान गरी प्रहरी टोलीले व्यवस्थित रूपमा खोजी गरिरहेको जनाइएको छ। तालिमप्राप्त कुकुरको समेत प्रयोग गरिएपछि यसअघि सामान्य रूपमा खोजी गर्न कठिन हुने सम्भावित स्थानमा समेत खोजीलाई प्रभावकारी बनाउने प्रयास गरिएको प्रहरीको भनाइ छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी