भिमाद एफएमका स्टेशन म्यानेजर अमृत परियार सम्मानित

दमौली न्युज
  • ख-
  • ख+

शालिकराम गहतराज

भिमाद : भिमाद एफएमका स्टेशन म्यानेजर अमृत परियार सम्मानित भएका छन् । म्याग्दे गाउँपालिका–५ स्थित पर्यटकीय गन्तव्य कान्छी बाराही झरनाको प्रचारप्रसार तथा पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै परियारलाई सम्मानित गरिएको हो।

कान्छी बाराही झरनाको सम्भावना र सुन्दरताबारे विभिन्न माध्यमबाट प्रचारप्रसार गर्दै पर्यटकीय गन्तव्यका रूपमा यसको पहिचान स्थापित गर्न सहयोग गरेको भन्दै वडाले परियारको योगदानको प्रशंसा गरेको जनाएको छ।

सम्मान ग्रहणपछि परियारले आफूले गरेको प्रयासलाई वडाले सम्झिएर सम्मान गरेकोमा खुसी व्यक्त गरे। उनले आफूले कहिल्यै सम्मानको अपेक्षा गरेर काम नगरेको उल्लेख गर्दै वडाको टोलीबाट प्राप्त सम्मान, माया, सद्भाव र हौसलाले भने आफूलाई भावुक बनाएको बताए।

‘मैले आफ्नो ठाउँबाट गर्न सक्ने सानो प्रयास मात्र गरेको हुँ। त्यसलाई वडाले सम्झिएर सम्मान गर्नुहुन्छ भन्ने अपेक्षा नै गरेको थिइनँ,’ परियारले भने, ‘यो सम्मानभन्दा पनि यहाँको माया, सद्भाव र हौसला मेरा लागि अझ विशेष छ। यसले आगामी दिनमा स्थानीय पर्यटनको प्रचारप्रसारमा थप सक्रिय भएर काम गर्ने ऊर्जा दिएको छ।’

उनले कान्छी बाराही झरना म्याग्देको मात्र नभई तनहुँकै महत्वपूर्ण पर्यटकीय सम्भावना बोकेको क्षेत्र भएकाले यसको प्रचार प्रसार र संरक्षणमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताए।

स्थानीय तहले विकास गरेका तथा सम्भावना बोकेका पर्यटकीय क्षेत्रलाई राष्ट्रियस्तरसम्म चिनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने भएकाले आगामी दिनमा पनि पर्यटकिय क्षेत्रको प्रचारप्रसारलाई प्राथमिकतामा राख्ने भन्दै ,सम्मानका लागि म्याग्दे गाउँपालिका–५ को सम्पूर्ण टिमप्रति आभार व्यक्त गरेका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्