काठमाडौं : गृहमन्त्री सुधन गुरूङले गणेश नेपालीले आत्मदाह गरेको घटनामा उनको मोटरसाइकलमा ह्विल लक लगाउने ट्राफिक प्रहरी नभएको बताएका छन्।
प्रतिनिधिसभामा शुक्रबार सांसदहरुले राखेको प्रश्नमा जबाफ दिँदै गृहमन्त्री गुरूङले मोटरसाइकलमा ह्विल लक लगाइदिने व्यक्ति ट्राफिक प्रहरी नभई महानगर प्रहरी रहेको बताएका हुन्।
‘जुन ठाउँमा घटना भयो, त्यो ठाउँमा ट्राफिकले ह्विल लक लगाएको होइन। कुनै भिडिओमा छ ट्राफिकले लगाएको? नगर प्रहरीले लगाएको छ। स्थानीय सरकार कसको छ अहिले? रास्वपाको छ? प्रदेश सरकार कसको छ? दुई तहको सरकार त तपाईंहरूसँग छ। यो नियम कानुन हामीले बनाएको हो?’ उनले भने।
उनले गणेशले आत्मदाह गरेको घटनामा छानबिन गर्न समिति गठन गरेको पनि सदनलाई जानकारी दिएका छन्।
उनका अनुसार काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डिआइजी गोविन्द थपलियाको संयोजकत्वमा ५ सदस्यीय समिति बनाइएको छ।
साथै, घटनाको अनुसन्धान गर्न तीन जना नगर प्रहरीलाई नियन्त्रणमा लिइएको पनि उनले बताए। नियन्त्रणमा लिइएका दुई जना महिला नगर प्रहरी र एक जना पुरूष नगर प्रहरी हुन्। साभारः सेतोपाटी





