दमौली: तनहुँकाे व्यास नगरपालिकाको कार्य प्रगतिको बारेमा आगामी असार ३१ गते बुधबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिने भएको छ। कार्यक्रम वडा नं. १, २, ३, ४, १२, १३ र १४ का नागरिक तथा सेवाग्राहीलाई लक्षित गरी सार्वजनिक सुनुवाइ कार्यक्रम हुन लागेकाे हाे ।
सार्वजनिक सुनुवाइ कार्यक्रमको सहजीकरण तथा व्यवस्थापन नेपाल पत्रकार महासंघ तनहुँ शाखले गर्ने छ। कार्यक्रममा आर्थिक वर्ष २०८२/०८३ को तेस्रो चौमासिक अवधिमा नगरपालिकाबाट सम्पादन भएका विकास निर्माण, सेवा प्रवाह तथा विभिन्न कार्यक्रमहरूको प्रगति विवरण प्रस्तुत गरिने जनाइएको छ। कार्यक्रममा नगर प्रमुख वैकुण्ठ न्यौपाने प्रमुख जवाफकर्ताको रूपमा उपस्थित भई नगरवासीका जिज्ञासा, सुझाव तथा गुनासाहरूको प्रत्यक्ष जवाफ दिनुहुनेछ। साथै, सेवाग्राहीहरूको राय, सुझाव र प्रतिक्रिया समेत संकलन गरिने व्यवस्था गरिएको छ।
ब्यास नपाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार सार्वजनिक सुनुवाइले स्थानीय सरकारको कामकारबाहीलाई थप पारदर्शी, जवाफदेही र नागरिकमैत्री बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ। उक्त कार्यक्रम व्यास नगरपालिका १ स्थित भादगाउँ दरै भवनमा आयोजना हुने भएकाले सम्बन्धित वडाका सम्पूर्ण नगरवासी, सरोकारवाला निकाय तथा सेवाग्राहीहरूलाई उपस्थित भई आफ्ना सुझाव, जिज्ञासा र प्रतिक्रियाहरू राख्न ब्यास नगरपालिकाले अनुरोध गरेकाे छ ।





