दमौली: तनहुँको व्यास नगरपालिका १ भादगाउँ, दमौली स्थित निर्मल माध्यमिक विद्यालयको प्रधानाध्यापक पदमा शिक्षक बिमल सिग्देल नियुक्त भएका छन्। विद्यालय व्यवस्थापन समितिको बैठकले प्रधानाध्यापकको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो।
लामो समयदेखि सोही विद्यालयमा माध्यमिक तहको विज्ञान विषय शिक्षकका रूपमा कार्यरत सिग्देललाई उनको शैक्षिक योग्यता, कार्यदक्षता र लामो प्रशासनिक अनुभवका आधारमा व्यवस्थापन समितिले सर्वसम्मत रूपमा उनलाई प्रधानाध्यापक जस्तो पदमा नियुक्त गरेको जनाइएको थियो ।
नवनियुक्त प्रधानाध्यापक सिग्देलले विद्यालयको शैक्षिक वातावरणलाई अझ सुदृढ बनाउने र भौतिक तथा प्रशासनिक सुधारका कार्यहरूलाई प्राथमिकताका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। स्थानीय समुदाय, शिक्षक, विद्यार्थी तथा शिक्षा क्षेत्रसँग आबद्ध व्यक्तिहरूले उनको सबल नेतृत्वमा विद्यालयको शैक्षिक गुणस्तर थप उचाइमा पुग्ने विश्वास व्यक्त गरेकाे बताए।





