काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाउन इतर पक्षसँग संवाद अघि बढाएका छन् ।
पार्टीभित्र एकताको वातावरण नबने विभाजनको चेतावनी दिएका देउवा पक्षसँग सभापति थापाले संवाद अघि बढाएका हुन् ।
यसक्रममा उनले आइतबार कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग परामर्श गरेका छन् । सभापति थापा नेता खड्कालाई भेटका लागि उनकै निवास पुगेका थिए ।
पार्टीमा देखिएको बेमेल अन्त्य गर्दै एकता कायम लागि आफूले संवाद सुरु गरेको उनले बताएका छन् । ”पार्टीको बृहत्तर एकताका लागि वरिष्ठ नेताहरूसँग संवाद अघि बढाएको छु,” थापाले भनेका छन् ।
सर्वोच्च अदालतले गत शुक्रबार कांग्रेसको आधिकारिकता विवादमा संक्षिप्त आदेश दिँदै थापा नेतृत्वको पार्टीलाई वैधानिकता दिएको थियो ।
त्यसपछि देउवा पक्षले सर्वोच्चको आदेश असहमतिका बीच स्वीकार गर्ने बताएको थियो । एकताको वातावरण बनाउने सम्पूर्ण जिम्मेवारी सभापति थापाको काँधमा रहेको उनीहरूको निष्कर्ष छ ।
थापाले महाधिवेशन मिति समायोजन गर्दै नयाँ मिति घोषणा गर्नुपर्ने माग देउवा पक्षले अघि सारेका छन् । आइतबार बसेको उनीहरूको बैठकले यस्तो निर्णय गरेको नेता मीन विश्वकर्माले बताए ।
”सभापति शेरबहादुर देउवाको कार्यसमितिले वैशाख अन्तिममा १५ औँ महाधिवेशन घोषणा गरेको थियो । अहिले विशेष महाधिवेशनबाट आएको नेतृत्वले असोजको मिति ल्याएको छ ।दुवै मितिको समायोजनमार्फत नयाँ मित तय नभए दुई महाधिवेशन हुन्छ । यसले पार्टीमा विभाजन निम्त्याउँछ,” देउवा पक्षको निष्कर्षबारे नेता विश्वकर्माले भने ।
यो परिस्थिति निम्तिन नदिन सभापति थापाले मिति समायोजन गर्नैपर्ने अडान देउवा पक्षले लिएका हुन् । देउवा पक्षको उक्त निर्णय सार्वजनिक भएपछि सभापति थापा संवादका लागि खड्का निवास पुगेका हुन् ।











