पर्यटकीय नगरी बन्दीपुरको प्रचार-प्रसारका लागि छैटौं बन्दीपुर महोत्सव सुरु

दमौली न्युज
  • ख-
  • ख+

बन्दिपुर: “पहाडकी रानी” भनेर चिनिने तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा छैटौं बन्दीपुर महोत्सव सुरु भएको छ। पर्यटन, व्यापार, उद्योग र स्थानीय संस्कृतिलाई एकै स्थलमा प्रवर्द्धन गर्ने उद्देश्य सहित महोत्सवको आयोजना गरिएको हो।

तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुर ईकाईको आयोजनामा तथा बन्दीपुर गाउँपालिकाको प्रवर्धनमा ‘छैटौँ बन्दीपुर महोत्सव यस वर्ष टुंडिखेल क्षेत्रको मुख्य आकर्षण बनेको छ । जहाँ विविध परिकार, कला–संस्कृति, व्यापार, कृषि तथा साहसिक गतिविधिहरू प्रस्तुत गरिने छ ।

उद्योग वाणिज्य सङ्घ बन्दीपुर इकाइका सभापति घनश्याम उपाध्यायका अनुसार महोत्सवमा करिब दुई लाख पर्यटक अवलोकनका लागि आउने अनुमान छ भने पाँच करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको छ ।

पर्यटकका लागि खड्गदेवी, पहाडपानी महादेव, विन्दवासिनी, थानीमाई, महालक्ष्मी, चामुण्डामाई, भुत्याहा बराहा, सन्तानेश्वर महादेव देखि ऐतिहासिक मणिमुकुन्द सेन दरबार र रानीवन सम्मको भ्रमण प्याकेज उपलब्ध गराइने जानकारी दिइएको छ । साथै चट्टान आरोहण, प्याराग्लाइडिङ, सेती जलयात्रा, साइक्लिङ जस्ता साहसिक पर्यटन खेलहरू महोत्सवको प्रमुख आकर्षण बन्दै छन् ।

महोत्सव स्थलमा घरेलु तथा हस्तकला, कृषि उपज, सेवामूलक संस्था, होटल–रेष्टुराँ, सूचना केन्द्र र सवारीसाधनका प्रदर्शनी कक्ष राखिएका छन् । कृषिसम्बन्धी स्टलहरूलाई निःशुल्क उपलब्ध गराइएकाले स्थानीय उत्पादक उत्साहित बनेका छन्। महोत्सव यही मंसिर १० गतेदेखि २१ गतेसम्म सञ्चालन हुने भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्