तनहुँसुर पुगेर राष्ट्रपतिले सम्झिएका कठिन दिन

दमौली न्युज
  • ख-
  • ख+

तनहुँसुर : राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक यात्राका कठिन दिनमा तनहुँसुर र आसपासका क्षेत्रबाट प्राप्त सहयोग स्मरण गरेका छन् ।


विश्व सम्पदा दिवसका अवसरमा तनहुँसुरमा जीर्णोद्धार गरिएको तनहुँसुर दरबारको उदघाटनमा गृहजिल्ला पुगेका उनले सहिदहरुको थलोले देशको लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदान पनि स्मरण गरे ।


आफ्नो राजनीतिक जीवनको अन्यन्त कठिन संघर्षका दिनहरूमा यस क्षेत्रबाट प्राप्त गरेको सद्भाव र २०४६ को परिवर्तनपश्चात सम्पन्न आम निर्वाचनहरूमा प्राप्त जनविश्वासवाट यसै क्षेत्रको प्रतिनिधिको हैसियतले संसदमा प्रतिनिधित्व गर्ने शुभअवसर मिलेको तथा शान्ति प्रक्रियादेखि संविधान निर्माणमासमेत योगदान दिने अवसर प्राप्त भएको राष्ट्रपतिले स्मरण गरे । “यसका निमित्त म यस जिल्लाका जनताप्रति सदैव कृतकृत छु र अहिले मुलुकको संविधानको संरक्षकका हैसियतले तपाईहरू बीच यस कार्यक्रममा आउने अवसर पाउँदा मलाई गर्वको अनुभूति भएको छ,’ उनले भने ।


जनक्रान्ति र शहिदको थलो तनहुँसुर’
नेपालको इतिहासको विविध कालखण्डमा आफ्नै किसिमको महत्व राखेको तनहँुसुरको ऐतिहासिक कालमा मात्र नभई मुलुकमा राजनीतिक परिवर्तनको सन्दर्भमासमेत गौरवपूर्ण भूमिका रहेको भन्दै राष्ट्रपतिले मुलुकका राजनीतिक परिवर्तनका लागि सात सालको जनक्रान्तिको प्रारम्भसमेत यस जिल्लामा यसै ठाउँबाट गरिएको स्मरण गरे ।

राणाशासनविरुद्ध भएको संघर्षमा फौजको गोली लागि धर्मध्वज गुरुङ, धर्मराज श्रेष्ठ, उत्तरकुमार श्रेष्ठ, सन्तबहादुर राना मगर, चन्द्रवहादुर सार्की (नेपाली) र खड्ग वहादुर गोदारले सहादत प्राप्त गरेका थिए । वि.सं २०१८ सालमा पनि धेरै शहिद भए जसमध्ये वुद्धसिंह राना मगर यसै क्षेत्रका थिए । राष्ट्रपतिले शहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारप्रति राज्यले गर्नुपर्ने दायित्य अझै पूरा हुन बाँकी रहेको स्मरण गरे ।

‘असुविधा हट्दैछ, डाँडाका दिन फर्कदैछन्’
तनहुँसुर इतिहासै इतिहास बोकेको ठाउँ भएको तथा सेनवंशी राजा त्रिविक्रम सेनदेखि नै शाहकाल, राणाकाल र पञ्चायतकालासम्म उपेक्षित रहँदै आएको तनहुँसुर डाँडाको इतिहासमा यहाँ धेरै प्रकारका ऐतिहासिक सम्पदाहरु र स्मारकहरु लुकेर रहेको उनले चर्चा गरे । उनले भने ‘यिनको खोजी गर्नु, संरक्षण गर्नु र प्रकाशमा ल्याउनु हाम्रो प्रमुख दायित्व हो ।’


अहिले तनहुँसुरलाई यता चुँदीतिरबाट र उता दमौली तिरबाट पक्की बाटोले जोड्ने काम पनि भैरहेको छ, दक्षिणतिर भगवती रंगपथसमेत गरी तीनै तिरबाट पक्की बाटो तनहुँसुर ताकेर बन्दैछ, हिजोको असुविधा र विकटता हट्दै छन्, डाँडका दिन फर्कदै छन्,’, उनले भने ।

सेन राज्यकालीन तनहुँसुर तत्कालीन राज्य सञ्चालनको केन्द मात्र नभई संस्कृत, मैथिली, भोजपुरी र फारसी भाषाका विद्धानहरूको वौद्विक केन्द«समेत रहेको पाइन्छ । खासगरी चुँदी उपत्यकामा संस्कृत विद्वानहरूको ख्याति काशीनगरी (भारत) सम्म फैलिएको इतिहासमा उल्लेख छ । त्यही शैक्षिक एंव विद्वत् परम्परामा आदिकवि भानुभक्त आचार्यको जन्म भएको र नेपालीभाषी जगतमा प्रसिद्धि फैलिएको थियो ।


तनहुँमा पर्यंटकीय विकासले गति लियो’
यसैलाई उजागर गर्दै चुँदी–रम्घामा भानु साहित्य उद्यानको वृहत योजना प्रारभ गरिएको तथा दमौलीमा वेदव्यासको १०८ फिट अग्लो विशिष्ट शैलीको मूर्ति निर्माण भैरहेको, पर्यटकीय नगरी बन्दीपुर र तनहँुसुरमा शहीद पार्कको निर्माण आदिबाट तनहुँमा पर्यटनका विविध गन्तव्यहरूको विकास हुन लागि रहेको स्पष्ट झलक मिलेको उनले बताए ।

“पछिल्लो समयमा बन्दिपुर, दमौली, मानुङलगायतका धार्मिक, ऐतिहासिक, र सांस्कृतिक क्षेत्रहरूसँगै ऐतिहासिक तनहुँसुर पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको छ, पृथ्वीराजमाार्ग हुँदै प्रसिद्ध पर्यटकीय नगरी पोखरा पुग्ने स्वदेशी विदेशी पर्यटकहरूलाई तनहुँसुरलगायतका जिल्लाका विभिन्न क्षेत्रको भ्रमण गर्न आकर्षित गर्नुपर्ने आवश्यकता छ”, राष्ट्रपति पौडेलले भने ।

उनले यस क्षेत्रमा नेपाल सरकार वन मन्त्रालयले “भानुप्राणी उद्यान” योजना समेत अगाडि सार्नु प्रशंसनीय रहेको तर कार्यान्वयन पक्ष ढिलो भएको हुँदा यसप्रति सम्बन्धित निकायको ध्यान जाने र यो योजनाले साकार रुप लिने विश्वास व्यक्त गरे ।

देशकै गौरवका योजनामध्ये एक तनहुँ जलविद्युत योजना हाम्रो धेरै प्रयास पश्चात आएको हो र अहिले कार्यान्वयनको चरणमा छ भन्दै उहाँले अर्को योजना तल्लो सेती जलविद्युत परियोजना समेत प्रारम्भ हुने चरणमा पुगेको उल्लेख गरे ।


कार्यक्रममा तनहुँसुर भानु शान्ति पार्कका अध्यक्ष संविधान सभासद रामचन्द्र पोखरेलले तनहुँसुरको पर्यटकीय विकासमा उल्लेख्य काम भएको स्मरण गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्