ऋषिङ्गले २५ महिलाहरुलाई दियो जनही २६ हजार अनुदान र ७ दिने बाख्रा पालन तालिम

दमौली न्युज
  • ख-
  • ख+


संजय श्रेष्ठ
ऋषिङ्ग: राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत ऋषिङ्ग गाउँपालिका वडा नं ५ र ६ का २५ जना महिलाहरुलाई ७ दिने बाख्रापालन तालिम प्रदान गरिएको छ । आईतबारबाट सुरु भएको सो तालीममा गाउँपालिकाले कोभिड -१९ बाट प्रभावित, एकल महिला, हिंसा पीडित तथा नितान्त कृषि क्षेत्रमा संलग्न र आर्थिक अवस्था कमजोर भएकाहरुलाई प्राथमिकतामा राखेर तालिम सञ्चालन गरेको छ । कार्यक्रमका प्रमुख अथिति गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले ऋषिङ्गका गृहणीहरुलाई यस कार्यक्रमले विशेष टेवा मिल्ने बताए ।


गत वर्ष ऋषिङ्ग ३ र ४ का २५ जना महिलाहरुलाई तालिम र अनुदान प्रदान गरी सकेको र यस वर्ष ५ र ६ मा आयोजना गरिएको यस कार्यक्रमले महिला दिदि बहिनीहरुको आर्थिक अवस्थामा सुधार आउनेमा आफू विश्वस्त रहेको बताए । तलिममा सहभागी प्रत्येकलाई व्यासायिक सुरुवातका लागि जनही २६ हजारका दरले अनुदान रकम प्रदान गरिने समेत जानकारी दिए । तालिम पश्चात व्यावसायिक रूपमा लागेका दिदीबहिनीहरुलाई अनुगमनका आधारमा थप प्रोत्साहनका लागि विभिन्न कार्यक्रम समेत ल्याउने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चीन बहादुर रानाभाटले परापूर्व कालदेखि जीविकोपार्जनका लागि पालिँदै आइएको बाख्रालाई अब व्यावसायिक रूपमा अगाडि बढाउन जरुरी रहेको बताए । निर्वाहमुखी बाख्रापालनलाई व्यवसायिक रूपमा अगाडि बढाउन सकेको खण्डमा ऋषिङ्गका दिदी बहिनीहरुको आर्थिक अवस्थामा उल्लेख्य सुधार आउने रानाभाटले बताए । वडा नं ६ को ढुङ्गा गाडेमा आईतबारबाट सुरु भएको सो तालीम एक हप्ता सम्म चल्ने छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी