आजबाट विद्यालयको भौतिक कक्षा बन्द गर्ने निर्णय हुनु पछाडिका यी हुन् चार कारण र यस्तो छ विकल्प

  • ख-
  • ख+

दमौलीः तनहुँ प्रशासनले आजबाट विद्यालयको भौतिक कक्षा बन्द गर्ने निर्णय गरेको छ । लामो समय कोभिड संकटको मारमा परेका विद्यालयहरु बिस्तारै बौरन लागेका बेला अकस्मात भौतिक कक्षा सञ्चालन रोक्ने प्रशासनको निर्णयका पक्ष र विपक्ष दुवैमा छलफल र बहस भैरहेका छन् । आखिर यस्तो निर्णय गर्नुपर्ने अवस्थामा प्रशासन किन पुग्यो त? धेरैको जिज्ञासा छ ।

१) उक्लँदो कोरोना ग्राफ
आईतबारसम्मको तथ्यांकका आधारमा तनहुँमा सक्रिय संक्रमित चार सय नाघेका छन् । पछिल्लो समय तनहुँमा कोरोना संक्रमितको दर बढिरहेको छ । उक्लँदो यो ग्राफ केही दिनका आँकडालाई आधार मान्ने हो भने अझ उक्लने निश्चित छ ।

उच्च जोखिमयुक्त जिल्लाको सूचीमा रहेका कारण विद्यालयको भौतिक कक्षा चलिरहँदा यसले अझ जोखिम बढाउने आशंका प्रशासनको छ । यसैकारण बैठक डाकेर नै प्रशासनले सरोकारवालालाई यस्तो निर्देशन दिएको हो ।

प्रमुख जिल्ला अधिकारी सागर आचार्यको अध्यक्षतामा बसेको बैठकमा शिक्षा क्षेत्रका प्याब्सन, एनप्याब्सन, जिल्ला शिक्षा विकास तथा समन्वय एकाईलगायतका प्रतिनिधि सहभागी थिए । बैठकमा प्रशासनले अब ‘धान्न नसक्ने अवस्था आउन सक्ने’ भन्दै तत्काल भौतिक कक्षा रोक्न निर्देशन दिएको थियो ।

विद्यार्थी संख्या बढी, स्वास्थ्य मापदण्डमा कमी अनि बढिरहेको लापरवाहीले नै मुख्यगरी कक्षा बन्द गर्ने दबाब दिने अवस्थामा प्रशासन पुगेको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले दमौली न्युजलाई बताए ।

२) बढ्दो लापरवाही
विद्यालयहरुमा भौतिक कक्षा सञ्चालन गर्नुअघि स्वास्थ्य मापदण्ड पालना गर्न प्रशासन र स्थानीय सरकारले दिएको निर्देशनको पालनाको अवस्था निकै कमजोर छ । विद्यार्थी संख्या बढी, स्वास्थ्य मापदण्डमा कमी अनि बढिरहेको लापरवाहीले नै मुख्यगरी कक्षा बन्द गर्ने दबाब दिने अवस्थामा प्रशासन पुगेको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले दमौली न्युजलाई बताए ।

यसले विद्यालयले भावी दिनमा नयाँ मोडालिटीका आधारमा कडाइका साथ मापदण्ड पालना गरेमा पठनपाठन नियमित गर्न मिल्ने बाटो पनि दिएको छ । बैठकका क्रममा एनप्याब्सन नेता सन्त तामाङ, विश्वेश्वर खनाल, बिना कैनीलगायतले मापदण्डको कडाई गरेर आलोपालो प्रणालीका आधारमा सानो संख्यामा विद्यार्थी राखेर कक्षा चलाउन सकिने तर्क दिएका थिए ।

प्रतिनिधि तस्बिर

३) आईसोलेसनको कमी
कृषि विकास बैंकको भवनमा व्यास नगरपालिकाले सञ्चालन गरेको आईसोलेसन होम आईसोलेसनमा बस्ने बढेको भन्दै हाल रोकिएको छ । तनहुँका अधिकांश तहमा अवस्था उस्तै छ । यस्तोमा सक्रिय संक्रमित बढाउन विद्यालयको भौतिक कक्षाले पनि भूमिका खेल्न सक्ने त्रास प्रशासनमा रहेको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बराल बताउँछन् ।

४) अस्पतालमा बढ्दो संख्या
तनहुँका सीमित अस्पतालले मात्र अहिले संक्रमित बिरामी भर्ना गरिरहेका छन् । अस्पतालमा भर्ना हुन आउनेको संख्या बढिरहँदा विद्यालयको कक्षा निरन्तर चल्ने अवस्थामा विद्यालय, यातायात हुँदै घरसम्म संक्रमण फैलने अवस्था आएमा अस्पतालले धान्न नसक्ने त्रास अधिकारीलाई छ । ‘अस्पतालले धान्न नसक्ने अवस्था नआओस् भनेर समयमै सजगता अपनाउनु आवश्यक देखियो,’ सहायक प्रजिअ बरालले भने ।

अबका विकल्प
प्रशासनले तत्काल कक्षा सञ्चालन रोके पनि अवस्था हेरि विद्यालयका माग समेत सम्बोधन हुने गरी मार्ग खोज्ने प्रयास गरिरहेको छ । यसले स्वास्थ्य मापदण्डको पूर्ण पालना हुने अवस्था र संक्रमण दर घटेमा स्थानीयस्तरमा कक्षा सञ्चालन गराउन सहज हुनसक्ने प्रशासनको अनुमान छ ।

विद्यालय सञ्चालकहरुलाई पनि केही समय तयारीका लागि समय दिने र अवस्था सहज भएमा बीचको बाटो खोज्ने सोच प्रशासनको छ । तर त्यसलाई संक्रमणको बढ्दो ग्राफले भने अवरोध गर्नेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी