व्यासभूमिलाई अन्तर्राष्ट्रिय धार्मिकस्थल बनाउन प्रष्ट नीति अभाव

  • ख-
  • ख+

आज गुरु पूर्णिमा । चार वेद, अठार पुराण र महाभारतका रचयिता महर्षि वेदव्यासको अवतरण दिवस एवं गुरु पूर्णिमा आज मनाइंदैछ । उनले लेखेका यी हिन्दू ग्रन्थ नै पूर्वीय दर्शनका मानक हुन् । तिनै व्यासको जन्मस्थल तनहुँ व्यास जन्मस्थल क्षेत्रको संरक्षण तथा धार्मिक पर्यावरणको चर्चा भैरहे पनि हुनुपर्ने जति प्रचारमा हामी चुकेका छौं ।


गण्डकी प्रदेशमा पर्ने तनहुँ जिल्लाको सदरमुकाम व्यास क्षेत्र सम्पूर्ण सनातन धर्म तथा संस्कृतिको अनुपम सम्पत्ति होे । चार वेद अठार पुराणका रचहिता वेदव्यासको जन्म स्थान मानिने यो क्षेत्र आफैंमा पवित्र र रमणीय छ । महर्षि वेदव्यासको जन्मस्थान रहेको यस रमणीय स्थानले छुट्टै पहिचान बोकेको छ । पौराणिक तथा धार्मिक किंवदन्ती नियाल्ने हो भने व्यासलाई भगवान् विष्णुको अवतारका रूपमा लिइन्छ ।


तिनै भगवान् विष्णुको अवतार महर्षि वेदव्यासका बारेमा अध्ययन, अध्यापन गर्ने संयन्त्र निर्माण गरिनुपर्दछ । अब यस क्षेत्रलाई चिनाउन स्थानीयस्तरको पाठ्यक्रमको निर्माण गर्दै शिक्षाको माध्यमवाट अन्तर्राष्ट्रिय सनातन धर्म जगत्मा यस क्षेत्रलाई चिनाउनु समग्र व्यासवासीको जिम्मेवारी र कर्तव्य हुन आउँछ ।

धार्मिक पुराणहरूका पारायणहरूले पनि यही स्थानलाई पर्यावरणीय हिसाबले व्यासको जन्मभूमिको रूपमा चिनाएको छ ।


तनहुँ जिल्लाको साविक सदरमुकाम दमौलीक्षेत्रलाई व्यास नगरपालीकामा व्यासको जन्म भएको त्थयगत आधारहरू भएको विश्वास गरिन्छ । दमौली मादी नदीको किनारमा पर्दछ । व्यास ऋषिको तपस्यास्थल यसै ठाउँमा रहेको विश्वास गर्नुपर्ने धेरै तथ्यगत आधारहरू पत्ता लागेका छन् । धार्मिक पुराणहरूका पारायणहरूले पनि यही स्थानलाई पर्यावरणीय हिसाबले व्यासको जन्मभूमिको रूपमा चिनाएको छ । धार्मिक तथा प्राकृतिक आलोकले निपुर्ण यस क्षेत्रका आआफ्नै विशेषता छन् ।

महर्षि वेद व्यासको जन्म वारे रोचक धार्मिक किंवदन्ती पनि छ । व्यास ऋषिको जन्मको प्रसङ्गमा, दमौलीदेखि ८ कि.मि. पूर्व छाब्दी बाराहको मन्दिरदेखि करिब ५० मिटर पश्चिम पट्टिको कुण्डमा ब्यासकी माता सत्यवतीको जन्म भएको थियो । त्यस पवित्र स्थललाई अहिले छाब्दीबाराही देवीको नामले पुज्ने गरिन्छ ।

यस रमणीय स्थान उनीहरूकै अलौकिक प्रेम कथामा मेल खाने सुन्दर मानुङ डाँडा मुनि बादलुले छोपिएको कुहिरो दृश्य अवलोकन गरि आनन्द मान्न सकिने व्यास क्षेत्रको छुट्टै र अनुपम महिमा छ ।

माछाको रूपबाट जन्म भएकी व्यासकी आमा मस्यगन्दाकै नामबाट त्यहाँ अवस्थित कुण्डको नाम मच्छे कुण्ड रहन आएको हो, भनिन्छ । सत्यवती ६,७ वर्षकी सानी बालिका छँदा घुम्दै, फिर्दै दमौलीमा माझीहरूले डुंगा चलेको ठाउँमा पुगिछन् र ती माझीहरूले यति सानी माया लाग्दी बालिकालाई देखेर घरमा लगि केही दिन पालेको किंवदन्ती पाइन्छ ।

नेपाल पवित्र योगभूमि र ऋषि तपस्यीहरूको साधनाकेन्द्र पनि हो । त्यस समयमा यस स्थान पराशर ऋषिको आश्रमस्थल पनि यही दमौली नजीकै रहेछ । घुम्दै फिर्दै एकदिन पराशर ऋषि र सत्यवतीको भेट भएछ । भेटमा पराशर ऋषिले उनी अत्यन्तै रुपवती रहेको थाहा पाएपछि भेटको सिलसिलामा तत्काल ऋतुदान(बिर्यदान) लिउ भनी सत्यवतीसँग अनुरोध गरे पछि महर्षि वेदव्यासको जन्म भएको मानिन्छ।

अनि कुहिरोको जन्म भयो…….
यसपश्चात समागम गर्नका लागि ऋतुदान(बिर्यदान)का लागि पराशरले अनुरोध गरेपछि नारीत्व स्वाभावकी सत्यवतीले यस्तो खुला आकाशमुनि सुर्य र वायुको अगाडि यो सम्भव नहुने बताएपछी ऋषि पराशरले ‘हामीलाई छोप्नको लागि कुहिरो उत्पन्न गरिदिन्छु’ भन्नुभएको धार्मिक किंवदन्ती छ ।

अद्वितीय स्रष्टा महर्षि वेद व्यासको पवित्र भूमिलाई चिनाएर धार्मिक पर्यटक भित्र्याउन सके व्यासक्षेत्रलाई ठुलो फाइदा पुग्ने देखिन्छ ।


तत्कालै कुहिरो उत्पति गराई ऋषि पराशर र सत्यवतीको समागम भई उनै सत्यवतीको कोखबाट व्यासलाई जन्म दिएकी हुन् । यस रमणीय स्थान उनीहरूकै अलौकिक प्रेम कथामा मेल खाने सुन्दर मानुङ डाँडा मुनि बादलुले छोपिएको कुहिरो दृश्य अवलोकन गरि आनन्द मान्न सकिने व्यास क्षेत्रको छुट्टै र अनुपम महिमा छ ।

जब व्यास कृतित्व र व्यक्तित्वले बोधगम्य र अनुकरणीय व्यक्तित्व बने । उनले आफ्नी आमाको श्रद्धाका लागि आमाको पूजाको लागि व्यास ऋषिले दमौलीबाट पूर्व दिशा छाब्दी बराहीमा माछाको पूजाआजा गर्ने चलन चलाएको मानिन्छ । जुन आजसम्म पनि निरन्तर पुजाआजा चलिरहेको छ ।

डेम्बुलेमा व्यासको जन्म
व्यासको जन्म तनहुँको डेम्बुले (दमौली)मा नै भएको भन्ने बलियो प्रमाणको रूपमा रहेको छ । व्यासको साधना तथा तपस्यास्थल व्यास गुफा यहि सेती र मादी नदीको दोभानमा छ । जहाँ बसेर व्यासले वेद लगायत महाभारतको रचना गरेको किंवदन्ती छ ।

व्यास र पर्यटनको साइनो
ऋषि वेदव्यास हिन्दु सनातन धर्म तथा महाभारत ग्रन्थका रचयिता हुन् । उनी महाभारतका रचयिता मात्र होइनन्, क्रमानुसार घटित भएका महाभारतकालीन घटनाहरूका साक्षी पनि हुन् । आफ्ना जिन्दगीका समस्त गतिविधिहरूको सूचना उनी पूर्वानुमान घोषित गर्थे । यस्ता अद्वितीय स्रष्टा महर्षि वेद व्यासको पवित्र भूमिलाई चिनाएर धार्मिक पर्यटक भित्र्याउन सके व्यासक्षेत्रलाई ठुलो फाइदा पुग्ने देखिन्छ ।


आफ्ना छोरा शुकदेवसहित सम्पूर्ण ऋषिलाई वेदवेदाङ्ग पढाएकाले व्यासलाई सर्वश्रेष्ठ गुरु मानिन्छ र त्यसै दिन आफूलाई शिक्षा दिने गुरुलाई सम्मान गर्नाका साथै व्यासलाई सम्झना गर्ने गरिन्छ । यस दिनमा सम्पूर्ण धार्मिक अनुयायी हरूलाई यस पवित्र भूमिमा आएर स्नान तथा दर्शन गर्ने प्रवन्ध मिलाउनु आवश्यक देखिन्छ ।

जीवनप्रेरक व्यास
महाभारतका रचयिता वेदव्यासलाई जीवनप्रेरक व्यक्तित्वको रूपमा लिन सकिन्छ । कृष्णद्वैपायन, बादरायणि, पाराशर्य अनेकौं नामले चिनिने महर्षी वेदव्यास पिता ऋषि पराशर र माता सत्यवती (मत्स्यगंधा)का छोरा हुन् ।


उनको पत्नीको नाम पिंजलासंतान हो । उनका शुकदेव, विधुर नाम गरेका २ छोरा थिए ।
बाल्यकालमानै बुद्धिमान महर्षि वेदव्यास हर विषयमा कुशल थिए । उनले आफ्ना पितावाट प्रारम्भिक ज्ञान प्राप्त गरेका थिए ।सानैदेखि जिज्ञासु र इमान्दार महर्षि वेदव्यास रचनात्मक थिए ।

वेदव्यासले आफ्ना पितालाई नै गुरू मान्थे । वेदव्यास पुराणका ज्ञानमा निपुण थिए । उनमा अतुलनीय ज्ञानको भण्डार थियो भन्ने कुरा अध्ययन अनुसन्धान पछि स्पष्ट हुन्छ ।

पाठ्यक्रममा व्यास
महाभारतका रचियता तथा निपुर्ण विचारका धनी वेदव्यासले भनेका छन्,‘मानव जीवनमा तिमीले पाउने सफलता भनेको तिमीले गर्ने कर्म हो,त्यसैले कर्म गर ।’ यस क्षेत्रको धार्मिक महत्त्व तथा पर्यावरणीय दृश्यावलोकनलाई पहिचानल सहितको गन्तव्य बनाउन यहाँका हरेक शिक्षण संस्थाले यस महर्षि वेदव्यासको जन्म ,जीवनी तथा कर्मलाई शैक्षिक पाठ्यक्रममा समावेश गर्नुपर्दछ ।

वास्तविक पर्यावरणलाई पहिचान दिने हजारौं गतिविधिहरू सञ्चालन गर्न सकिन्छ । यसको अर्थपूर्ण चिनारी दिन सक्ने स्रोत र साधनहरूको खोज तथा अनुसन्धान हुनुपर्दछ ।

धार्मिक, साहित्यीक कार्यक्रममा व्यास
हाम्रा बालबालिकाहरूलाई यस क्षेत्रसँग भएको अद्वितीय सम्पत्ति तथा ४ वेद १८ पुराणका स्रष्टा महर्षि वेद व्यासको भूमि व्यासभूमिलाई पहिचान दिने खालका रचनात्मक र सिर्जनात्मक गतिविधि गर्ने पुस्तक, धार्मिक तथा साहित्यिक कार्यक्रमहरू गर्न ,यस स्थानलाई धार्मिक पर्यटक हबका रूपमा विकास गरि अन्तर्राष्ट्रिय स्तरका चिनाउदैं धार्मिक पर्यटक भित्र्याउन सम्पूर्ण सरोकारवाला निकाय लाग्नुपर्ने देखिन्छ ।


यसको संरक्षण ,प्रवर्द्धन र धार्मिक हव वनाउन स्थानीय सरकार साथसाथै प्रदेश सरकार र केन्द्रीय सरकारकै नीति तथा कार्यक्रममा समावेश गर्दै यस क्षेत्रलाई विश्व माझ चिनाउदैं यस दिनमा विश्व भरका हिन्दु सम्प्रदाय यस स्थानमा आएर पवित्र स्थलमा पाइला टेक्दै मादी र सेतीको वेनीघाटमा स्नान गर्दै पूण्य प्राप्त गर्ने स्थलको रूपमा चिनाउनु पर्ने देखिन्छ ।


सम्पूर्ण नेपालीहरूको योगस्थल, पवित्र धामको रूपमा विकास गर्दै व्यासको जन्मभूमिको महिमा विश्व सामु पुर्याउन छुट्टै नीति तथा कार्यक्रम सञ्चालन गर्दै राष्ट्रले यस विशेष स्थानलाई महत्वका साथ विकास योजना तथा धार्मिक पर्यटक हबका रूपमा विकास गर्दै लानु पर्ने देखिन्छ । यस स्थानले तथा व्यासको अनुकरणीय कृतित्व र व्यक्तित्वले सम्पूर्ण पछिल्ला पुस्ताको लागि धार्मिक तथा नैतिक मार्गको मार्गदर्शन तथा दिशानिर्देश गरेको छ।

अन्त्यमा,
यस क्षेत्रलाई धार्मिक तथा पर्यटकीय हव निर्माण गर्दै महर्षि वेदव्यास जन्मस्थल व्यासक्षेत्रको वास्तविक रूपाकृतिलाई राष्ट्र तथा विश्वमाझ चिनाउन सम्पूर्ण नागरिक समाज,स्थानीय वासिन्दा, राजनीतिक नेतृत्व, जिम्मेवार पदीय व्यक्तित्वहरू, समाजसेवीहरू, प्राज्ञिक व्यक्तित्व ,लेखक, पत्रकार तथा सरोकारवाला पक्ष सम्पूर्ण लाग्नु पर्ने देखिन्छ ।

केन्द्रीय सरकारले नै यसलाई नीति तथा कार्यक्रममा नै समावेश गरि छुट्टै लगानी गर्नुपर्ने देखिन्छ । यस क्षेत्रलाई राष्ट्रिय सम्पत्तिको रूपमा स्थापित गर्न स्थानीय सरकार तल्लीन भएर लाग्नुपर्ने देखिन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्