के व्यासले खुलाउला पठनपाठन ?

  • ख-
  • ख+


दमौलीः व्यास नगरपालिकाले असोज पहिलो साताबाट विद्यालय शिक्षाको अड्को फुकाउने तयारी गरेको छ । विभिन्न चरणमा भएका शिक्षा समिति र प्रधानाध्यापकहरुको बैठकपछि नगरपालिकाले असोजबाट पठनपाठनको नयाँ मोडालिटी तय गर्ने तयारी गरेको छ । व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले समितिमा आउने प्रस्तावका आधारमा अघि बढिने बताए । ‘के कस्तो सुझाव आउँछ त्यसै आधारमा अघि बढ्ने हो,’ उनले भने ।


शिक्षा शाखाका अधिकारीहरु र उसँगको छलफलमा सहभागीले अब असोजबाट पठनपाठन सञ्चालन गर्ने वातावरण बनाउन लागिएको बताएका छन् । ‘अब असोज १ गतेबाट पठनपाठन चलाउने गरी तयारी गरेका छौं,’ व्यास नगरपालिकाका शिक्षा शाखा प्रमुख नगेन्द्र रेग्मीले भने,‘अब संघ सरकारले पनि केही निर्णय गर्ला । हामीले पनि केही निर्णय गछौं ।’

अवस्था अहिलेभन्दा नबिग्रने भएमा पठनपाठनमा जान सकिने नगरपालिकाको भनाइ छ । उसो भए असोजबाट हुने पढाई पहिलेको जस्तै होला ? अधिकारीहरुका अनुसार नगरपालिकाले तीन तरिकाले पठनपाठन अघि बढाउने गरी तयारी गरिरहेको छ ।

१) दुई सिफ्टमा हुने पठनपाठनः
नगरपालिकासँगको शिक्षा क्षेत्रका सरोकारवालाको बैठकमा विद्यालयमा कम भार पर्ने र सामाजिक दुरी पनि कायम हुने हिसाबले दुई सिफ्टमा पठनपाठन गर्ने विषयमा पनि चर्चा चलेको छ । ‘एक समूह एक दिन र अर्को समूह एक दिन आउने गरी पढाउन सकिन्छ कि भनेर पनि छलफल भएको छ,’ एनप्याब्सन तनहुँका अध्यक्ष रामकृष्ण विकले भने,‘यसो भएमा एकैचोटी विद्यालयमा चाप नपर्ने हुन सक्छ ।’ यसका लागि कक्षागत आधारमा समूह विभाजन गरिनेछ । यसमा कक्षाको समय भने पहिलेभन्दा कम गर्ने प्रस्ताव आएको छ ।

२) प्रभाव कम देखिएका ग्रामीण क्षेत्रमा विद्यालयमा पढाईः
कम विद्यार्थी भएका र ग्रामीण क्षेत्रका विद्यालयमा सामान्य हिसाबले पढाउन सकिने तर्क पनि भएको छ । विकले भने,‘गाउँ गाउँका स–साना विद्यालयमा विद्यार्थी कम हुने भएकाले पढाउन सकिन्छ कि भन्ने भएको छ ।’

३) अनलाईन र टिभी रेडियोमा पढाईः
नगरपालिकाका केही सामुदायिक विद्यालयले यस अघि नै अनलाईन माध्यमबाट पठनपाठन गरिरहेका छन् । तर सबै यसको पहुँचमा छैनन् । ‘यदि बजार क्षेत्रमा संक्रमणको जोखिम रहि रहने अवस्थामा अनलाईन तथा अनलाईनको पहुँचमा नभएकाका लागि टेलिभिजन र रेडियो माध्यमबाट पढाउन सकिन्छ कि भनेर पनि तयारी भैरहेको छ’ शिक्षा शाखा प्रमुख रेग्मीले भने ।

४) विद्यालयबाट शिक्षकको अनुगमनः
अर्को विधिमा विद्यालयमा रहेका शिक्षकले विद्यार्थीसँग फोन वा स सानो समूहमा गएर पठनपाठनको सुझाव र पाठ अघि बढाउन सकिने विकल्प पनि नगरपालिका सामु आएको छ । यसका लागि असोजबाट शिक्षक नियमित रुपमा विद्यालयमा जानुपर्ने शर्त अघि सारिएको छ ।
नगरपालिकासामु विभिन्न विकल्प आएका छन् । नगरपालिकाले यी सबै वा केही विकल्प कार्यान्वयन गर्ने सम्भावना छ । तर त्यसअघि नगरपालिकाको बोर्ड बैठकको निर्णय पनि कुरिएको छ । ‘बैठकमा उठेका प्रस्तावमा बोर्ड बैठकमा के कुरा उठ्छ र छिमेकी तहबाट के कस्तो परामर्श आउँछ त्यसपछि अघि बढ्ने कुरा भएको छ,’ एनप्याब्सन अध्यक्ष विकले भने ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी