गिद्धः जसले महामारीबाट जोगाउँछ

  • ख-
  • ख+

सन्तोष ढकाल
सेप्टेम्बर ५ (भाद्र २०) को दिन बाह्रौं अन्तराष्ट्रिय गिद्ध सचेतना दिवस नेपालका साथै संसारभर मनाईन्छ । प्रत्येक वर्ष सेप्टेम्बर पहिलो हप्तादेखि (भाद्र २१) साताभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस गिद्धको महत्व, लोप हुनुको कारण र संरक्षण सहभागिताबारे जनचेतना जगाउनका निम्ति विश्वभर मनाईन्छ ।

दक्षिण अफ्रिकामा सन् २००५ देखि नै मनाईंदै आएको राष्ट्रिय गिद्ध सचेतना दिवसबाट विकसित भई सन् २००९ बाट अन्तर्राष्ट्रियस्तरमा यसलाई मनाउन थालिएको हो । गिद्ध प्रकृतिले दिएको एउटा अनुपम उपहार हो ।

विश्वमा २३ प्रजाति र नेपाल लगायत दक्षिण एसियामा ९ प्रजातिका गिद्धहरु पाइन्छन् । गिद्धलाई हिंसक, फोहोरी र घिनलाग्दो चराका रूपमा हेर्ने गरिन्छ । तर सिनोमा गिद्ध लुछाचुँडी गरिरहेको गिद्धको चर्तिकला, आकासमा कावा खाँदै उडिरहेका बथान र पर्यावरणीय महत्वलाई हेर्यौ भने त्यस्तो कदापि लाग्दैन ।

दमौलीको भतेरीमा भेटिएका गिद्ध ।
तस्बिरः लेखक


एउटै सिनो र बासस्थानलाई विभिन्न प्रजातिहरु सामुहिक उपयोग गर्ने गिद्धहरु अग्ला बलिया रुख र चट्टानी पहराहरुमा गुँड बनाई मानववस्ती वरपर बस्न रुचाउँछन् । मानिस भन्दा आठगुणा टाढासम्म देख्ने उनीहरु सिनोको खोजीमा तीनसय किमी टाढासम्म उड्छन् ।

सिकारी भएपनि गिद्धहरु आफैंले सिकार नगरी केवल मरेका जनावरका मासु अर्थात सिनो मात्र खान्छन् । यिनीहरु अहिंसाका पुजारी हुन् । सिनो खाई हाम्रो वातावरण प्रदुषित, दुर्गन्धित र रोगमुक्त बनाउन मद्दत गर्ने गिद्धलाई ‘प्रकृतिको कुचिकार’ पनि भनिन्छ ।

गिद्ध पर्यावरणीय चक्र, खाद्यश्रृंखलाको सन्तुलन र गतिशीलताको संवाहक पनि हो । सिनोको कुशलतापुर्वक छोटो समयमै दोहन गर्ने गिद्धको अभावमा सिनोमा भुस्याहा कुकुर, स्याल, मुसाको संख्यामा वृद्धि हुन्छ । फलस्वरुप मानिसमा हैजा, आउँ, झाडापखाला र पशुचौपायाहरूमा एन्थ्रेक्स, ब्रुसेलोसिस् र क्षयरोग जस्ता रोगहरूको संक्रमणले महामारीको रूप लिनसक्छ ।

एक अध्ययन अनुसार एउटा गिद्धले करीब ११ हजार अमेरिकी डलर बराबरको सिनो सफाइमा योगदान पुर्याउँछ ।धार्मिक र सांस्कृतिक आस्थासँग पनि जोडिने गिद्धलाई शनि देवताको बाहनको रूपमा पुजिन्छ ।

रामायणमा रावणले सीतालाई हरण गरी लङ्का लैजाँदा सीतालाई जोगाउन गिद्ध अन्तिम श्वास रहुन्जेल लडेको उल्लेख छ । नेपालमा माथिल्लो हिमाली क्षेत्रमा बस्ने तिब्बती मूलका लामा समुदाय मृत आफन्तको शव गिद्धलाई समर्पण गर्छन् । र, गिद्धलाई मृतकको आत्मालाई स्वर्ग पुर्याउने दूतका रूपमा पुज्ने गर्छन् ।


नेपाल पन्छी संघ, प्राकृतिक संरक्षण कोष, चिनारीको प्राविधिक पक्ष र दातृ निकायको सहयोगमा सन्चालित गिद्ध प्रजनन केन्द्र चितवनको कसरामा स्थापित छ । दुर्लभ भएको गिद्ध रक्षाका लागि वि.स. २०६५ सालमा गिद्ध प्रजनन केन्द्रको स्थापना गरिएको हो । सन् २००८ मा १४ वटा डंगर गिद्ध कास्कीको हेम्जाबाट ल्याइएको थियो ।

दोस्रो चरणमा रूपन्देही, कपिलवस्तु र दाङबाट ३०, अनि तेस्रो चरणमा २० वटा गिद्धको बच्चा पालिएको छ । हाल यो प्रजनन केन्द्रमा ५७ वटा गिद्ध छन् । समुदायस्तरबाटै संचालन र व्यवस्थापन गरिएका गिद्ध रेष्टुरेन्टलाई गिद्धको बासस्थान र उच्च घनत्व भएका पश्चिम नेपालका रुपन्देहीको गैँडहवा ताल, दाङको लालमटिया र बिजौरी, कैलालीको खुटीया, कास्कीको घाँचोक र पूर्वको सुनसरी कोशीटप्पुमा पनि विस्तार गरिएको छ ।

(लेखकः गिद्धका बारेमा रुचि राख्ने लेखक प्राणीशास्त्रका विद्यार्थी हुन् )

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी